नेताहरूको बहिस्कारपछि नेकपाले २९ गते स्थायी कमिटी बैठक बोलायो

नेताहरूको बहिस्कारपछि नेकपाले २९ गते स्थायी कमिटी बैठक बोलायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक मंसिर २९ गते दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने महासचिव विष्णु पौडेलले जानकारी दिए ।

चार जना नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिवारको सचिवालय बैठक बहिस्कार गरेका थिए । उनीहरुको बहिस्कारपछि बालुवाटारमा बैठक बसेको थियो । बैठकले स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको पौडेलले जानकारी दिए ।

नेकपाले शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक बोलाएको थियो । बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल समयमा उपस्थित नभएपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका थिए ।

आधा घन्टा कुरेपछि पनि बैठक हुने नहुने सूचना नपाएपछि अपमानित महसुस हुँदै फर्किएको नेताहरूले बताएका छन् । पार्टी अध्यक्षको समय व्यवस्थापनसँग शीर्ष नेताहरू रुष्ट थिए ।

कार्यक्रममा ढिला आउने, पट्यारलाग्दो भाषण गर्ने, समय खेर फाल्ने शैलीबारे नेता खनाल, नेपाल र श्रेष्ठले शुरूदेखि नै विमति राख्दै आएका थिए । नेताहरूको बहिस्कारका बीच बसेको बैठकमा पाँच सचिवालय सदस्य सहभागी थिए । नेकपाको सचिवालय नौ सदस्यीय छ ।

Logo