एसिया प्यासिफिक समिटबारे समिक्षा गर्नुपर्ने भन्दै नेकपामा विशेष बैठक माग

एसिया प्यासिफिक समिटबारे समिक्षा गर्नुपर्ने भन्दै नेकपामा विशेष बैठक माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा नेताहरुले विशेष बैठकको माग गरेका छन् । विवादास्पद ‘एसिया प्यासिफिक समिट’ मा प्रधानमन्त्री केपी ओलीको संलग्नताले पार्टीकै छवि धमलिएको भन्दै नेकपा नेताहरुले विशेष बैठकको माग गरेका हुन् । यसबारे गहन छलफल गर्नुपर्ने भन्दै स्थायी समिति र सचिवालय नेताहरूले बैठकमो माग गरेका हुन् ।

छलफलै नगरी सरकार र प्रधानमन्त्री एकलौटी ढंगले अघि बढ्दा विवादमा परेको उल्लेख गर्दै उनीहरूले पार्टीभित्र यो विषयमा विशेष समीक्षा हुनुपर्ने माग गरेका छन् । सम्मेलन गलत भएकाले आत्मआलोचना गरेर भए पनि पार्टी र सरकारमाथि लागेको दाग हटाउनुपर्ने उनीहरूको धारणा छ ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालले सम्मेलनमा प्रधानमन्त्रीको संलग्नता गलत भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता पार्टीको बैठकबाट गर्नुपर्ने बताए ।

समिटमा प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधव नेपाल विशेष अतिथिका रूपमा सहभागी भएका थिए । प्रधानमन्त्रीले सम्मेलनलाई सम्बोधन गर्दै एक लाख डलरको पुरस्कार पनि लिएका थिए ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि विशेष बैठक गरेर यसबारे समिक्षा गर्नुपर्ने बताए । ‘६ महिनाअघि नै प्रसंग आउँदा मैले हुँदैन भनेको थिएँ, पार्टीमा आपत्ति जनाएको थिएँ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यसलाई रोक्नुपर्छ भनेको थिएँ तर सम्मेलन गरियो, यसले राम्रो गरेन, यो विषय पार्टीभित्र गम्भीर छलफलको विषय बन्नुपर्छ ।’

यसको विरोध तथा समिक्षा गरेर आत्मआलोचना गर्नुपर्ने पक्षमा भीम रावल, घनश्याम भुसाल, अग्नि सापकोटा लगायतका नेताहरु रहेका छन् । उनीहरुले विगतका प्रधानमन्त्रीहरुले पनि उक्त सम्मान त लिएकै हो भन्ने जस्ता कुतर्क गर्दै हिड्नेहरुलाई गतिलो पाठ सिकाउनुपर्ने बताएका छन् ।

विगतमा अन्य कुन दलका नेता र प्रधानमन्त्रीहरू यस्ता सम्मेलनमा सहभागी थिए भन्ने फेहरिस्त पेस गरेर अहिले आफूले गरेको गल्तीबाट उन्मुक्ति नपाइने उनीहरुको तर्क छ ।

Logo