पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आग्रह

पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आग्रह

केन्द्रबिन्दु
0
Shares

पूर्वी युरोपको देश पोल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानी वार्सास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका धरोहरको अवलोकन गरेकी छिन् । उनले रोयल क्यासल र संस्कृति तथा विज्ञान टावरको अवलोकन गरेकी हुन् ।

रोयल क्यासल सन् १६०० तिर राजा सिग्मण्ड तृतीयले निर्माण गरेको कलात्मक दरबार हो । विगतमा विभिन्न किसिमका आक्रमणमा परेको यो दरबारको अवलोकनका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउने गर्छ् ।

राष्ट्रपतिले अवलोकन गरेको संस्कृति तथा विज्ञान टावरसन् १९५५ मा निर्माण भएको हो । सो टावर रुसका तर्फबाट दिइएको उपहारका रुपमा चिनिएको छ ।

टावरको निर्माणका लागि रुस र पोल्याण्डका गरी करीब नौ हजार मानिस सहभागी रहेको जनाइएको छ । तीसभन्दा बढी तला रहेको सो टावरमा विभिन्न सांस्कृतिक तथा सार्वजनिक कार्यक्रम हुने गरेका छन् ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल शान्ति र समृद्धिको यात्रामा रहेकाले देशभित्र र बाहिर रहेका नेपालीले हरतरहले सहयोग गर्नुपर्ने बताएकी छिन् । पोल्याण्डको वार्सामा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मातृभूमिको विकासका लागि पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई आग्रह गरिन् ।

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुनुअघि आफ्नो स्वागत तथा सम्मानमा गैरआवासीय नेपाली सङ्घ पोल्याण्ड र नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्धलाई जनस्तरमा पु¥याउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले परिवर्तित सन्दर्भमा नेपाललाई मनन गरी सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

राजदूत रमेशप्रसाद खनालले नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्धलाई थप उचाइ दिनुपर्नेमा जोड दिए । गैरआवासीय नेपाली सङ्घ पोल्याण्डका अध्यक्ष डा बुद्धिराज सुवेदीले दुई देशबीचको सम्बन्ध विस्तार गरी आपसी सहयोग आदानप्रदान गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा पोल्याण्डमा पहिलो पुस्ताका नेपाली प्रतिनिधि दुर्गा मास्केलगायत सयौंँको सहभागिता थियो ।

मास्के ५७ वर्षअघि विद्युत् इञ्जिनीयरिङ पढ्न छात्रवृत्तिमा वार्सा आएकी थिइन् । कार्यक्रममा नेपाली साँस्कृतिक झलक प्रस्तुत गरिएको थियो ।

पोल्याण्डमा विभिन्न पेशा–व्यवसाय गरी करीब नौ हजार नेपाली रहेको गैरआवासीय सङ्घका प्रतिनिधिले जानकारी दिएका छन् । तीमध्ये धेरै कम्पनी, केही भान्सा र बाँकी विभिन्न काममा छन् । रासस

Logo