तीन राप्रपाबीच एकीकरणको तयारी : एक साताभित्रै टुंगो लाग्ने

तीन राप्रपाबीच एकीकरणको तयारी : एक साताभित्रै टुंगो लाग्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

पशुपतिशमशेर नेतृत्वको राप्रपा (प्रजातान्त्रिक), डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपाका अध्यक्ष कमल थापासँग असन्तुष्ट नेताहरूबीच पार्टी एकता हुने भएको छ । २७ कात्तिकबाट निरन्तर अनौपचारिक छलफलमा रहेका दुई पार्टी र एउटा असन्तुष्ट समूहका नेताहरूको शनिबारसम्म पार्टी एकता घोषणा गर्ने तयारी छ ।

उनीहरूबीच ०७४ मा भएको एकता महाधिवेशनले पारित गरेको लाइनलाई आत्मसात गरेर पार्टी एकता गर्ने तयारी छ । राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.लोहनीले एकताका लागि निरन्तर छलफल भइरहेको र यही हप्ता पार्टी एकता घोषणा हुने जानकारी दिए । ‘हामी र पशुपतिजीको पार्टीसँग एकताको विषयमा निरन्तर छलफल भइरहेको छ । कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट साथीहरू पनि हामीसँग निरन्तर छलफलमा हुनुहुन्छ,’ उनले भने, ‘अब एक साताभित्र एकता हुन्छ ।’

राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनील थापाले कमल थापाले एकताको बाटो बन्द गरेपछि राप्रपा (राष्ट्रवादी) र राप्रपाका असन्तुष्ट नेताहरूसँग आफूहरूले एकताका लागि छलफल अगाडि बढाएको स्वीकारे । ‘समान विचारधारा भएका तीन राप्रपाको एकीकरण गर्ने प्रयास हाम्रो थियो । तर राप्रपा अध्यक्ष कमल थापाले एकताको बाटो सहज छैन, आ–आफ्नो बाटो जाऔँ, पार्टी एकता नगरौँ भनेपछि हामीले उहाँलाई छाडेर बाँकी शक्तिबीच एकता गर्न छलफल अगाडि बढाएका छौँ,’ उनले भने, ‘वार्ता सकारात्मक भएको छ । केही दिनमै एकता घोषणा हुने वातावरण बन्दै छ ।’

नयाँ पत्रिकाबाट

Logo