पार्टी सभापतिको कार्यशैलीले कांग्रेस गम्भीर संकटमा : नेता सिंह

पार्टी सभापतिको कार्यशैलीले कांग्रेस गम्भीर संकटमा : नेता सिंह

केन्द्रबिन्दु
0
Shares

धादिङ
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिको कार्यशैलीका कारण नेपाली कांग्रेस गम्भीर संकटमा फसेको बताएका छन् । धादिङको घाटवेसीमा सुरु भएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता सिंहले कुनै एकजनाको सनकको भरमा पार्टीलाई डुबाउन नहुने बताए ।

वर्तमान नेतृत्वमा असक्षमताले गर्दा नेपाली कांग्रेसले सबै ठाउँमा पराजय बेहोर्नुपरेको उनले बताए । ‘पार्टी अब सभापतिको कार्यशैलीले चल्दैन’, सिंहले भने, ‘देशमा कम्युनिष्टको रजगज बढेको बेलामा नेपाली कांग्रेसको उर्जा कम्युनिष्ट विरुद्ध खर्च गर्नुपर्ने थियो तर बिडम्वना आफ्नै पार्टी विरुद्ध उर्जा खर्च गर्नुपरेको छ ।’ पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर निकै समय टिप्पणी गरेका नेता सिंहले पार्टी नेतृत्वले समयमा आफूलाई नसच्याए कांग्रेसले झनै ठूलो क्षति बेहोर्नुपर्ने बताए ।

पार्टीलाई विधान अनुसार पनि चलाउन नसक्ने अनि विधान अनुसार काम गरेन भनेर आलोचना गर्दा पार्टी फुटाउन लागेको भन्ने आरोप लगाउनु दुःखद रहेको बताए । ‘नेतृत्वको समर्थन गर्दा विधान बमोजिम हुने, अनि नेतृत्वको आलोचना गर्दा विधान बाहिर हुने प्रवृत्ति कांग्रेसभित्र छ,’ सिंहले भने, ‘जसले कांग्रेसलाई थप कमजोर बनाएको छ ।’

देशभरका अधिकांश जिल्लाका कोषाध्यक्षहरू उपस्थित भएको भेलामा बोल्दै नेता सिंहले सबै जिल्लाका कोषाध्यक्षलाई अब नेतृत्वको विकल्प खोज्नको लागि तयारी रहन घुमाउरो पारामा आग्रह गरे । हरेक क्रान्ती र परिवर्तन नेपाली कांग्रेसकै पालामा भएकाले सामाजिक सुरक्षा ऐन पनि कांग्रेसकै पालामा बनेको नेता सिंहले बताए । अहिले आफूले काम गरेको जस लिनको लागि नै सरकारले सामाजिक सुरक्षा ऐनको तडक भडक बढी गरेको उनले आरोप लगाए ।
नागरिकबाट

Logo