काठमाडौं ।   कांग्रेसमा गुटगत विवाद तीब्र हुँदै जाँदा नेपाल विद्यार्थी संघको महाधिवेशनले पार्टीलाई नै तनाव सिर्जना गरेको छ । "/>

कांग्रेसको रोग बन्यो नेविसंघ महाधिवेशन

कांग्रेसको रोग बन्यो नेविसंघ महाधिवेशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  कांग्रेसमा गुटगत विवाद तीब्र हुँदै जाँदा नेपाल विद्यार्थी संघको महाधिवेशनले पार्टीलाई नै तनाव सिर्जना गरेको छ । नेविसंघको म्याद थप विवादले पुनः पार्टी दुई समूहमा विवाजित भएको छ ।

अध्यक्ष नैनसिंह महरसहितका नेविसंघका नेताहरुले दुई महिनामात्र म्याद थपिएकोमा असन्तुष्टि जनाएका छन् । आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघको म्याद दुई महिना थप्ने निर्णय गरेको थियो । महाधिवेशनको कार्यतालिका नहेरी म्याद थपिएकोमा अध्यक्ष महरले असन्तुष्टि जनाइसकेका छन् ।

नेविसंघको म्याद ६ महिना थप्न अध्यक्ष महरले सिफारिस गरेका थिए । महरले दुई महिनाभित्र महाधिवेशन गर्न कठीन भएको भन्दै पुनर्विचार गर्न पनि माग गरेका छन् ।
पार्टी केन्द्रीय समितिले दुई महिना मात्र म्याद थपिएकोमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला पक्षका नेविसंघ नेताहरु पनि असन्तुष्ट छन् । दुई महिनामा महाधिवेशन गर्न नसकिने भन्दै उनीहरुले सामुहिक राजीनामा दिने चेतावनीसमेत दिएका छन् ।

नेविसंघका नेताहरुले भने बिना योजना म्याद थपेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले महाधिवेशनको लागि थपिएको मिति सकिएको समयमा विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरुले समय थपेरै भएपनि महाधिवेशन गर्न नेतृत्वलाई आग्रह गरे । गोजीबाट छनोट गरिएको नेतृत्व आफूहरुले नस्विकार्ने चेतावनी दिए ।

विधिवत महाधिवेशन पक्षधर विद्यार्थी नेता एवम् नेविसंघ आर.आर क्याम्पसका इकाई सचिव ताराबहादुर थापाले महाधिवेशनको विकल्प महाधिवेशन भएको भन्दै पार्टीका नेताहरुको स्वार्थका कारण नेविसंघको भविष्य अन्धकार बनेको जिकिर गरे । उनले भने, ‘टिके प्रथा लोकतन्त्रविरोधी कार्य हो, हामी त्यसप्रकारको नेतृत्व स्वीकार गर्न सक्दैनौं, लोकतान्त्रिक माध्यमबाट नेतृत्व चयन गर्नुपर्छ, बास्तविक विद्यार्थी र वास्तविक नेविसंघका नेताहरुले नेविसंघको नेतृत्व लिनुपर्छ ।’

नेता सुरेश परियारले इतिहासकै गम्भीर अस्तित्वमा पुगेको कांग्रेसले यतिबेला पनि विचार पु¥याउन र जनताको अपेक्षाअनुसार काम गर्न नसके बाँकी समयमा अस्तित्व गुम्ने खतरा रहेको बताए । कम्युनिष्टले काम गर्न नसकेको अवसरमा पार्टीलाई गति दिन नेविसंघ जगाउनुपर्ने उनले बताए । उनले भने, ‘यस समयमा पनि कांग्रेसले सोच्न सकेन र नेविसंघका बारेमा चिन्ता र चासो गर्न सकेन भने योभन्दा अर्को लाजमर्दो कुरा के हुन्छ ?’

नेविसंघका नेताहरु शिवहरि तिमिल्सिना, जयराम डंगोल, शिशिर दवाडी, कमल तिमिल्सिना, श्रीकृष्ण भट्टराई, प्रेम जिसी, श्याम पाण्डे, प्रविणजंग कार्कीलगायतले महाधिवेशनका लागि लबिइङ तीब्र बनाएका छन् ।

महाधिवेशनको विकल्प महाधिवेशन भएको बताउँदै अध्यक्ष महरले पनि नेविसंघमाथि राजनीति गरेर पार्टीका नेताहरुले महाभुल गरिरहेको टिप्पणी गरे । ‘कांग्रेस आन्तरिक विवादमा फसिरह्यो भने लोकतन्त्र खतरामा पर्छ, त्यस समयमा हामीले जिब्रो टोक्नुबाहेक अर्को विकल्प हुँदैन,’ उनले भने, ‘नेविसंघको नेतृत्व गोजीबाट चयन गर्न खोजियो भने आन्तरिक लोकतन्त्रको हत्या हुन्छ, हामी चाहन्छौं, जुन मुर्खता पार्टीका नेताहरुले आफ्नो गुट र व्यक्तिगत लाभको लागि गर्नु हुने छै्न ।’

नेतृ लक्ष्मी सिलवालले नेपाल विद्यार्थी संघको नेतृत्व तदर्थ समितिबाट चयन गरिए कडा प्रतिवाद गरिने चेतावनी दिएकी छन् । ‘बरु समय थपेर भएपनि संघको निर्वाचनबाट नेतृत्व चयन हुनुपर्छ, गत भदौमा संघको कार्यकाल सकिएपछि उत्पन्न जटिलतालाई चिर्नुपर्ने स्थिति छ,’ उनको भनाइ छ, ‘यस समयमा मैले भनेको मात्रै हुनुपर्छ, मेरो मान्छे हुनुपर्छ, मेरो गुटको मान्छेले संघको नेतृत्व पाउनुपर्छ भन्ने खालमा अव्यवहारिक अडानहरुले गर्दा आजको स्थिति आएको छ, साझा दृष्टिकोणमार्फत संघको नेतृत्व चयन गर्नुपर्छ ।’

Logo