(रामजी बलामी)

नेपाली काँग्रेसको महासमिति बैठक नजिकिए सँगै नेतृत्वविरुद्ध संघर्ष शुरु भएको छ । "/>

सभापति देउवाविरुद्ध दुई शक्तिको दरिलो संघर्ष

सभापति देउवाविरुद्ध दुई शक्तिको दरिलो संघर्ष

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी)

नेपाली काँग्रेसको महासमिति बैठक नजिकिए सँगै नेतृत्वविरुद्ध संघर्ष शुरु भएको छ । नेतृत्वविरुद्ध एकातिर गुटगत संघर्ष शुरु भएको छ भने अर्काेतिर शक्तिगत संघर्ष शुरु भएको छ । त्यसो त संघर्षरत पात्रहरु फरक भएता पनि उद्देश्य भने उस्तै छ । दुबैको उद्देश्य भनेको नेतृत्व हत्याउने नै हो । दुबै पक्षको प्रहार सभापति देउवाविरुद्ध नै हो ।

गुटगट संघर्ष

पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध लामो समयदेखि संघर्ष गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा ‘लञ्च मिटिङ’ गरेका थिए ।

उक्त मिटिङमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांका कोइराला तथा नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी लगायत सहभागी थिए भने नेता कृष्ण सिटौलाको पनि समर्थन रहेको थियो । बैठकमा सहभागि एक नेताका अनुसार उक्त बैठकमा आउँदो महासमिति बैठकका लागि रणनीति तय गर्न र गुटलाई ससक्त बनाउन बैठक केद्रित थियो ।

सभापति देउवाको कार्यशैलीबाट असन्तुष्ट नेताहरु विजयकुमार गच्छदारलाई उपसभापति बनाइएसँगै थप चिँढिएका छन् । अघिल्लो महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका नेता अर्जुन नरसिंह केसी समेत यसपटक देउवाविरुद्ध खुलेर सघर्ष गरिरहेका छन् ।

शक्तिगत संघर्ष

नेतृ सुजना कोईराला निवासमा गुटगत संघर्षको बैठक सकिएको केही दिन बित्न नपाउदै पार्टीका युवा नेताहरुले छुट्टै बैठक गरेका छन् । सभापति देउवाविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका युवा पुस्ताका चर्चित नेता गगन थापा लगायतका नेताहरु शक्तिगत संघर्षमा लागेका हुन् ।

गत बुधबार ६ जना युवा नेताहरु भेला भएर शक्तिगत संघर्षको थालनी गरेका छन् । पुरानो बानेश्वरस्थित सिद्धार्थ कटेजमा बसेको बैठकमा केन्द्रीय सदस्य चन्द्र भण्डारीसहित नेताहरु धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, गगन थापा, जीवन परियार सहभागि थिए । नेता गुरुराज घिमिरे यसअघि नेतृ सुजाताको निवासमा भएको पौडेल पक्षको बैठकमा पनि सहभागि थिए । युवा नेताहरुले बिशेषतः पार्टीमा ७० वर्षे हदबन्दीको लबिङ सुरु गरेका छन् ।

सभापति देउवाको कार्यशैलीले काँग्रेस कमजोर भएको र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न असक्षम देखिएको भन्दै युवा पुस्ताका नेताहरु छलफलमा जुटेका हुन् । दोस्रो बैठक आज (शुक्रवार) बस्दैछ । आज बस्ने बैठकमा प्रदीप पौडेल, रामकृष्ण यादव, कमला पन्त लगायतका नेताहरुलाई पनि बोलाइएको छ।

महासमिति बैठकमा नयाँ विचार र दृष्टिकोण प्रस्तुत गर्न भन्दै युवा नेताहरुको भेला डाक्ने तयारी भईरहेको छ । एक पक्षले पेल्दै जाने र अर्काे पक्ष सधै चेपुवामा पर्ने प्रवृतिविरुद्ध युवापुस्ताका नेताहरु एकजुट भएर आवाज उठाउने उनीहरुको तयारी छ । पार्टीमा मौलाएको धनवान र बलवान प्रवृत्तिलाई निष्किृय पार्दै अघि बढ्न युवा पुस्ताका नेताले भूमिका खेल्नुपर्ने भन्दै उनीहरु सबै युवा नेताहरुलाई एक ढिक्का हुन आग्रह समेत गरिरहेका छन् ।

युवा नेताहरुको नेतृत्व तहमा रहेका नेताहरुले उच्च तहका युवा नेताहरुलाई मात्रै नभएर देशभरका युवा नेताहरुलाई झकझकाउने तयारी समेत थालेका छन् । बुधबार सम्पन्न पहिलो चरणको छलफलमा नेविसंघको विवाद समाधान, महासमिति बैठक र महाधिवेशनका विषयमा कुराकानी भएको थियो । नयाँ पुस्ताले अग्रज नेताहरुको सम्मान गर्नुपर्ने र अग्रज पुस्ताले नयाँ पुस्तालाई स्वागत गर्नुपर्ने युवा नेताहरुको तर्क छ । यसका साथै युवा नेताहरुले गुट उपगुटको राजनीति भन्दा पनि पार्टीलाई शक्तिशाली बनाउन नयाँ पुस्तालाई शक्ति हस्तान्तरण गराउने अभियानमा भूमिका खेल्ने देखिन्छ ।

स्मरण होस् अघिल्लो बर्षको चैत र गत वैशाखमा बसेको केन्द्रीय कार्य समितिको बैठकमा युवा नेताहरुले छुट्टै प्रस्ताव पेस गरेका थिए। त्यस्तै गत असारमा हेटौंडामा बसेको जिल्ला सभापतिहरुको भेलामा पनि युवा नेताहरुको छुट्टै प्रस्ताव प्रस्तुत भएको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक (भोलि) शनिबार बस्दै छ ।

Logo