चार दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्ज भए । स्वास्थ्य सामान्य अवस्थामा आएको भन्दै प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार फर्किए पनि सिंहदरवार आएका छैनन् । "/>

प्रधानमन्त्री कहिलेदेखि जान्छन् सार्वजनिक कार्यक्रममा ?

प्रधानमन्त्री कहिलेदेखि जान्छन् सार्वजनिक कार्यक्रममा ?

केन्द्रबिन्दु
0
Shares

चार दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्ज भए । स्वास्थ्य सामान्य अवस्थामा आएको भन्दै प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार फर्किए पनि सिंहदरवार आएका छैनन् ।

चिकित्सकले केही साता घरमै आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री सिंहदरवार आउन सकेका छैनन् । स्वास्थ्य परीक्षणको नेतृत्व गरेका प्रा.डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीले अस्पतालमै छँदा ‘मलाई कहिलेदेखि सिंहदरवार जान दिने ?’ भन्ने जिज्ञासा राखेका थिए । सायमीसहितको चिकित्सक टोलीले कम्तिमा दुई साता सार्वजनिक कार्यक्रम र सिंहदरवारमा नियमित काममा नजान सल्लाह दिएका छन् । ‘बालुवाटारको भेटघाट पनि अत्यावश्यकबाहेक बढी नगर्नु भनेका छौं,’ सायमीले भने ।

निजी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री बिरामी भएपछि पहिलोपटक बुधबार लक्ष्मी जयन्तीका अवसरमा हुने कार्यक्रममा सहभागी हुने तयारी छ । ‘लक्ष्मी जयन्तीको कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीको इच्छा छ,’ निजी सचिवालयका एक सदस्य भन्छन्, ‘सायद जानुहुन्छ ।’

सिस्नुपानी नेपालले हरेक वर्ष कुकुर तिहारमा गर्ने ‘प्रज्ञा–सिस्नुपानी देउसी’मा भने सहभागी हुन नसक्ने जनाउ प्रधानमन्त्रीले दिएका छन् । निमन्त्रणा दिन बालुवाटार पुगेका सिस्नुपानी नेपालका एक पदाधिकारीका अनुसार चिकित्सकको हवाला दिंदै प्रधानमन्त्रीले सहभागी हुन नसक्ने बताएका छन् । ‘प्रधानमन्त्री ओली कलाकारलाई माया गर्ने सम्भवतः नेपालको पहिलो प्रधानमन्त्री हुनुहुन्छ । प्रतिकूल अवस्थामा पनि यसअघि आउने गर्नुभएको थियो,’ आशावादी हुँदै उनले भने, ‘अहिले पनि हाम्रो प्रयास प्रधानमन्त्रीलाई कार्यक्रममा ल्याउने नै छ ।’

प्रेस सल्लाहकार कुन्दन अर्यालले भने प्रधानमन्त्री अहिले बालुवाटारमै आराम गरिरहेको जानकारी दिए । उनले अत्यावश्यक कामहरु बालुवाटारबाटै हुने गरेको बताए । प्रधानमन्त्रीको नै हस्ताक्षर गर्नुपर्ने फाइल बालुवाटार नै मगाउने गरिएको छ ।

दिनभर बालुवाटारमा के गर्छन् ?

आफैंलाई चित्त नबुझ्ने कार्यक्रमबाहेक प्रधानमन्त्री ओली सकभर निमन्त्रणा गरिएका कार्यक्रममा जान रुचाउँथे । विराटनगरमा गोबर ग्यास प्लान्ट उदघाटनदेखि बिजुली बस उदघाटनसम्म पुगेकै थिए ।

गएको वर्ष भएको चुनावमा त एकैदिन ५–६ वटा आमसभामा भाषण गरेर दैनिक सयौं नेता कार्यकर्ता भेट्न पनि समय निकाल्थे । त्यतिमात्रै होइन, उम्मेदवार हुन चाहने र उम्मेदवार हुन रोक्नुपर्ने व्यक्तिलाईसमेत आफैँ भेटेर फकाउँथे ।

दिनभर व्यस्त रहन रुचाउने प्रधानमन्त्री विरामी भएपछि डेढ सातादेखि चुपचाप छन् । आखिर के गर्छन् त प्रधानमन्त्री ? ‘दिनैभर आराम गर्नुहुन्छ,’ स्रोत भन्छ, ‘गर्नैपर्ने भेटघाट, दिनैपर्ने निर्देशन, हस्ताक्षर गर्नैपर्ने फाइल अड्किएका छैनन् ।’

प्रधानमन्त्री ओली बिहान ४–५ बजे नै उठ्ने, पत्रिका पढ्ने, खाजा खाने गर्छन् । दैनिक दाह्री आफैँ काट्छन् । त्यसपछि बालुवाटारकै कौसीमा घाम ताप्ने, सोसल मिडिया हेर्ने गरेका छन् । दिउँसो खाना खाएपछि केहीबेर सुत्छन् भने पारिवारिक, निकटवर्ती नेता कार्यकर्ता, उच्च सरकारी कर्मचारीलाई भेट्ने गरेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेलले डिस्चार्ज भएर घर फर्किएपछि बालुवाटारमै गएर भेटेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण भने दैनिक नै हुने गरेको छ । दिव्यासिंह शाहले प्रधानमन्त्रीको चेकअप फलो गरिरहन्छिन् । प्रधानमन्त्री ओलीलाई छातीको संक्रमण, ज्वरो, खोकीका साथै मधुमेहको समस्या देखिएको थियो ।
११ कात्तिकमा प्रधानमन्त्री निवास बालुवाटारमै बसेको छोटो मन्त्रिपरिषद् बैठकमा सहभागी भएका प्रधानमन्त्री १२ कात्तिकको बिहान साढे ४ बजे त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

प्रधानमन्त्रीको उपचारमा डा. अरुण सायमीको संयोजकत्वमा प्रा.डा. दिव्यासिंह शाह र डा. सन्तकुमार दास सम्मिलित थिए । प्रधानमन्त्री ओलीलाई अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू)को विशेष कक्षमा राखेर उपचार गरिएको थियो । दसैंमा टीका लगाउने क्रममा धेरै जनासँग सम्पर्कमा आएका कारण प्रधानमन्त्री ओलीलाई रुघाखोकी सरेको चिकित्सकहरूले अनुमान गरेका थिए । प्रधानमन्त्री ओलीका दुवै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

रुघाखोकी र ज्वरोबाट संक्रमित भएकाले प्रधानमन्त्री ओली पार्टीद्वारा १० कात्तिकमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा समेत उपस्थिति भएका थिएनन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कतार बिदाइ र स्वागतमासमेत जान सकेका थिएनन् ।

Logo