नेकपा एकता प्रक्रिया टुङ्गो

नेकपा एकता प्रक्रिया टुङ्गो

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकताको प्रक्रिया टुङ्गिएको छ । जिल्लास्तरीय कार्यदलले जिल्लाका स्थानीय तह र वडामा नेतृत्वको बाँडफाँट गरी पार्टी एकतालाई पूर्णता दिएको छ । 

जिल्लास्तरीय कार्यदलको बिहीबार सम्पन्न बैठकले एकतापछिको जिल्लाको भागबण्डा टुङ्ग्याएको हो । जिल्लामा रहेका सातवटा स्थानीय तहमध्ये अमरगढी नगरपालिकासहित चार स्थानीय तहमा तत्कालीन एमाले र पर्शुराम नगरपालिकासहित तीन वटा स्थानीय तहमा तत्कालीन माओवादी केन्द्रको नेतृत्व हुने भएको छ । 

तत्कालीन एमालेलाई अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा नेतृत्व पाउने भएको छ भने तत्कालीन माओवादी केन्द्रले पर्शुराम नगरपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकामा नेतृत्व पाउने सहमति भएको छ । जिल्लाका ५२ वडामा समेत नेतृत्वको बाँडफाँट गरिएको छ । जसअनुसार तत्कालीन एमालेलाई २८ वडा र तत्कालीन माओवादी केन्द्रले २४ वडामा नेतृत्व पाउने भएको छ । 

नेकपाको कार्यदलको बैठक सकिएपछि बाँडफाँट गरिएका पालिका तथा वडाको विवरण प्रदेश कमिटीमा पठाइने तत्कालीन एमालेका तर्फबाट कार्यदलका सदस्य वीरेन्द्र बस्नेतले जानकारी दिए । बैठकबाट सर्वसम्मतरुपमा भएको भागबण्डालाई प्रदेश कमिटीले अनुमोदन गरेपछि मात्रै गाउँ तथा वडा कमिटीले पूर्णता पाउने तत्कालीन माओवादी केन्द्रबाट कार्यदलका सदस्य मानसिंह मालले बताए । 

Logo