कृष्णसिंह धामी/काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त काण्डमा दुई प्रहरी अधिकारी सेवाबाट हटाईए । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज जगदीश भट्टले निर्ममला काण्डको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै कारवाहीमा परे । "/>

निर्मला काण्डमा एसपी र इन्सपेक्टरमाथिको कारवाहीले उब्जाएको प्रश्न ?

निर्मला काण्डमा एसपी र इन्सपेक्टरमाथिको कारवाहीले उब्जाएको प्रश्न ?

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी/काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त काण्डमा दुई प्रहरी अधिकारी सेवाबाट हटाईए । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज जगदीश भट्टले निर्ममला काण्डको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै कारवाहीमा परे ।

सरकारले गठन गरेको उच्चस्तरिय छानविन समिति र डिआईजी धिरु बस्न्यात नेतृत्वमा गठन गरिएको समितिले उनीहरुलाई तत्काल बर्खास्त गर्न सरकारलाई सुझाएको थियो । तर सरकारले बर्खास्त नगरि सेवाबाट मात्रै हटाएको हो ।

निर्मला काण्डमा प्रमाण नष्ट गर्ने काम गरेको, अनुसन्धानमा लापरवाही गरेको, घटनालाई गम्भीर रुपमा नलिएको जस्ता आरोप उनीहरुमाथि छ । यो प्रकरणमा ८ प्रहरी निलम्बनमा परेपनि दुई जनाको जागिर गएको हो ।

किन भए दुई प्रहरी अधिकारीमात्रै कारवाहीका भागेदार ?
गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला साउन ११ गते बिहान उखुबारीमा मृत फेला परेकी थिईन् । साउन १० गते नै हराएकी निर्मलाको खोजी कार्य सुरु गर्नेबेला सम्म उनी लाश बनिसकेकी थिईन् । छोरी हराएको भन्दै मध्यरातमा प्रहरी चौकी पुग्दा ‘अहिले धेरै रात भयो । भोली खोजौंला’ भन्ने जवाफ आयो ।

अस्थायी प्रहरी विट सालघारीका प्रहरी इन्चार्ज रामसिंह धामी मध्यरातमा निर्मलाको खोजतलासी गर्न तयार भईसकेका थिए । तर अन्ततः उनी ब्याक भए । कारण थियो, ‘अहिले नजानु’ भन्ने माथिको आदेश । जुन आदेश एसपी विष्टले दिएका थिए । यसकारण पनि एसपी विष्ट कारवाहीको दायरामा आए । घटना भएको ठाउँ आफ्नो कार्यक्षेत्र रहेका वडा प्रहरी कार्यालय खोज तलासी गर्नमा गमभीर लापरवाही गरेको भन्दै इन्सपेक्टर भट्टमाथि कारवाही गरियो ।

एसपी र इन्सपेक्टरमाथिको कारवाहीले उब्जाएको प्रश्न ?
सेवाबाट हटाईएका एसपी विष्ट भन्छन्, ‘मेरो कुनै गल्ती थिएन् । मलाई फसाईयो । जो फिल्डमा खटिएका थिए, उनीहरुलाई केही पनि भएन । जो जिल्लामा बसेर निर्देशनमात्र दिईरहेको थियो । त्यसैलाई अन्तमा फसाईयो । म माथि ठूलो षड्यन्त्र गरियो ।’

यदि उनको भनाईलाई आधार मान्ने हो भने जिल्ला प्रमुखको नाताले उनलाई हटाईएको हो ? या त उनले प्रमाण नष्ट गराउन अरुलाई निर्देशित गरेका हुन ? यो विषयको अनुसन्धान नै गरिएन् । प्रहरी संगठनको आफ्नै चेन अफ कमाण्ड हुन्छ । त्यसमा हरेक कमाण्डले आफुभन्दा माथिल्लोलाई बेला बेला जानकारी गराईराख्नुपर्छ । एसपी विष्टले यो घटनाको बारेमा बेला बेला प्रहरी हेडक्वाटरलाई जानकारी गराईरहेका थिए ।

उनले सबै कुराको जानकारी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, उनको सचिवालयका सदस्यद्वय एसएसपी शैलेस थापा क्षेत्री र एसपी दानबहादुर कार्कीलाई गराएका थिए । ‘निर्मलाको शव दाहसंस्कार गर्दा मैले चिफ सरसँग कुरा गरेको थिएँ, उहाँले दिएको निर्देशनअनुसार नै काम गरेको हुँ’, विष्टले भने, ‘मलाई कञ्चनपुरबाट अन्त सरुवा गर्ने विषयमा समेत त्यही दिन बिहान चिफ सरसँग कुरा भएको थियो ।’

माथिल्लो तहमा रिपोर्टिङ गर्ने कोही नभएकाले आफूले आवश्यकताअनुसार प्रहरी महानिरीक्षक र सचिवालयका सदस्यहरुलाई जानकारी गराएको विष्टको दावी छ । ‘चेन अफ कमाण्डको समेत कमी रह्यो, बारम्बार चिफ सरलाई फोन गर्न अप्ठेरो थियो’, विष्टले भने, ‘तर फोन गरेपछि उहाँले केही निर्देशन दिनुहुन्थ्यो । सचिवालयका सरहरुसँग कुराकानी भइरहेकै थियो । उहाँहरुकै निर्देशनमा मैले काम गरेको हुँ ।’

एसपी विष्टको भनाई मान्ने हो भने सबै माथिको निर्देशन मै घटनाको अनुसन्धान भएको थियो । जसको निर्देशन अनुसार काम गर्ने हो त्यसलाई त सेवाबाट हटाईयो । तर यो–यो गर भन्दै निर्देशन दिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भने के हुन्छ ? पछिल्लो समय आम जनमानसमा उब्जिएको प्रश्न । यो घटनाको सम्पूर्ण जिम्मेवारी आईजीपी र गृहमन्त्रीले लिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छ ।

कांग्रेस नेता रमेश लेखकले यो घटनाको सम्पूर्ण जिम्मेवारी लिदैं आईजीपी खनाल र गृहमन्त्री रामबहादुर थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । घटनापछि अपराधी लुकाउन राज्य नै लागिपरेको भन्दै उनीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

अपराधी लुकाउन राज्य र प्रहरीका माथिल्ला तहका अधिकारी लागिपरेको दावी गर्दै पूर्वमन्त्री समेत रहेका लेखकले भने, ‘राज्य नै अपराधी पत्ता लगाउने भन्दा लुकाउने षड्यन्त्रणमा लागेको छ । अब गृहमन्त्री र आइजीपी दुवैले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’

उनले भने, ‘गृहमन्त्रीले मैले हत्यारा पत्ता लगाउन सकिन भन्नुपर्छ । नैतिक जिम्मेवारी लिनुपर्छ । प्रहरी अधिकृतहरुलाई बर्खास्त गरेरमात्रै मुल विषयवस्तुबाट पन्छिने प्रयत्न हो भने त्यो अर्को दुर्भाग्य हुन्छ । सरकारले कारबाही गर्नुपर्ने आदि इत्यादी कुरा गरोस, त्यसमा मेरो कुनै टिप्पणी छैन् । प्रहरी कर्मचारीलाई मात्रै दोषी ठहराएर बर्खास्त गर्ने कुरा, प्रहरी कर्मचारीको हाकिम त गृहमन्त्री हो नि । गृहमन्त्रीले नैतिक रुपमा बोल्नुपर्छ कि पर्दैन् मैले हत्यारा पत्ता लगाउन सकिन भनेर बोल्नुपर्छ कि पर्दैन् ? त्यसो भन्दै गर्दा सरकारमा बस्ने अधिकार हुन्छ कि हुँदैन् ? यो सरकारको माथि प्रश्न उठ्छन नि ।’

Logo