काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक दैनिकजसो बसिरहेको छ । घण्टौं बसेका बैठकका निर्णयहरु भने स–साना कुरामा नै अल्झिएको छ । "/>

आन्तरिक द्वन्द्वले थलिए ठूला दल

आन्तरिक द्वन्द्वले थलिए ठूला दल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक दैनिकजसो बसिरहेको छ । घण्टौं बसेका बैठकका निर्णयहरु भने स–साना कुरामा नै अल्झिएको छ ।

काठमाडौं ७ बाट रामवीर मानन्धरलाई राजीनामा दिन स्वीकृति नदिने, प्रदेश नेतृत्वबारे भएको निर्णय अनुमोदन गर्नेजस्ता खुद्रा मसिना कुरामा नै निर्णयहरु रोकिएका छन् । एमाले र माओवादीबीच एकीकरण भएर नयाँ पार्टी बनेको ६ महिना पुग्नैलाग्दा पनि बल्लबल्ल प्रदेश कमिटीमात्रै बनेका छन् । प्रदेश कमिटीले पनि पूर्णता पाइसकेको छैन ।

पार्टीको तेस्रो शक्तिशाली निकाय पोलिटब्यूरो गठन भएको छैन भने जिल्ला, स्थानीय तह, भ्रातृ, व्यवसायिक संगठनको एकीकरण अन्यौलमा परेको छ । सचिवालय बैकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि महासचिव विष्णु पौडेल र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापालाई जिम्मा दिएको छ । दुई सदस्यीय कार्यदलले मापदण्ड बनाएर प्रदेश कमिटीमा सदस्यहरुको निक्र्यौल गर्नेछ ।

पार्टीको आन्तरिक शक्ति सन्तुलनअनुसार कार्यविभाजन गर्नेदेखि तल्ला तहसम्मको एकीकरण टुंग्याउने कामले गति नपाउँदा एकीकृत पार्टीको संरचना भने दुइटाको जस्तै छ । जस्तै– जिल्ला कमिटी, भ्रातृ संगठन, व्यवसायिक, शुभेच्छुक संगठनहरु अहिले पनि दुइटै छन् । निर्णयसमेत दुइखाले हुन थालेका छन् । अझ प्रदेश नम्बर २ मा संसदीय दलसमेत दुइटा हुँदा प्रदेशसभा सचिवालयले निर्णय प्रक्रियामा कसलाई सहभागी गराउने भन्दै प्रश्न उठाएको छ ।

नेकपा एकीकरणपूर्वका दुवै पार्टीका अलग अलग गुट पुनः सक्रिय हुन थालेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई अनुशासनमा राख्न सकेका छैन । ‘नेतृत्वको कमजोरी यहाँ प्रष्ट हुन्छ,’ स्थायी कमिटी सदस्य घनश्याम भूसाल भन्छन्, ‘जति ढिला ग¥यो उति समस्याहरु पैदा हुँदै जान्छन् ।’

एकीकृत पार्टीमा एकमत नहुँदा सरकारले गरेका कामको प्रचार गर्ने संगठन र संगठकहरु छैनन् । ‘जिम्मेवारीमा नै नभएपछि सरकारले गरेका कामको प्रचार गर्न नेता कार्यकर्ताहरु आवश्यक ठान्दैनन्,’ भूसालको भनाई छ ।

सरकारप्रति अपनत्व अभाव र प्रदेश कमिटीको नेतृत्व चयनमा एकलौटी गरेको भन्दै माधव नेपाल समूह निर्मम भएर उत्रिँदा पार्टीको आन्तरिक एकता अलग अलग भएको छ । दसैंपछिको सचिवालय बैठकले माधव नेपालका असन्तुष्टि तत्काललाई सम्बोधन गरे पनि दीर्घकालीनरुपमा हल भने गरिसकेको छैन ।

नेकपामा पूर्ववर्ती दुवै पार्टीका संगठनहरु त छँदैछन् तर दर्जनौं समूहहरु सक्रिय छन् । ओली समूह, नेपाल समूहसँगै झलनाथ खनाल, ईश्वर पोखरेल, वामदेव गौतमदेखि दाहाल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठदेखि टोपबहादुर रायमाझीसम्मका समूहरु सक्रिय छन् ।

कांग्रेसमा उस्तैः
आन्तरिक द्वन्द्वको असर कांग्रेसमा झन् नराम्ररी परेको छ । गएको तीनै तहको निर्वाचनमा कांग्रेस पराजित भएपछि सभापति शेरबहादुर देउवामाथि नेतृत्व क्षमता अभाव देखाइएको छ ।

रामचन्द्र पौडेल समूहले निरन्तर विशेष महाधिवेशनको माग गरिरहेका छन् । चुनावको समीक्षा गर्न पटक–पटक केन्द्रीय समिति बैठक बोलाउन माग गरे पनि देउवाले ढिला गर्दा पौडेल समूहले जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेला बोलाएर ध्रुवीकरण सुरुवात गरेको थियो ।

निर्वाचनको जिम्मेवारी, विशेष वा अग्रीम महाधिवेशन, महासमिति बैठक, केन्द्रीय कार्यसमिति विघटनलगायतका विषयमा भेलामा नै छलफल भएको थियो । त्यहीँबाट रोपिएको ध्रुवीकरणको बिउ नेविसंघको उमेर हदसम्म आइपुग्दा झन् झांगिन पुग्यो ।

नेतृत्वलाई काबुमा ल्याउन पौडेलले कृष्ण सिटौला समूहलाई समेत आफूसँग ल्याएका छन् । हाल भारतका धार्मिक यात्रामा निस्किएका पौडेलले देउवामाथि पार्टीलाई संस्थागत नेतृत्व दिन नसकेको, गुट बलियो बनाउन विधान विपरीतका काम गरेको, चुनावी सरकारको नेतृत्व गर्दा पनि पार्टीलाई उकास्न नसकेकोजस्ता आरोप लगाएका छन् ।

पौडेल समूहभित्र पनि सिटौला र कोइराला परिवारका उपगुटको लडाई तीब्र छ । महाधिवेशनलाई लक्षित गरेर देउवा, पौडेल, सिटौला र कोइराला (शशांक, सुजाता र शेखर) ले गुटगत अभियानलाई देशव्यापी बनाउँदै लगेका छन् । कांग्रेसभित्रको आन्तरिक द्वन्द्वले विपक्षी पार्टी सशक्त हुन सकेको छैन । सरकारका काममा प्रश्न उठाउने र विरोध गर्ने हैसियत पनि राख्न सकेको छैन ।

मधेसवादीको पनि हविगत
ठूलासँगै राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमभित्रको द्वन्द्व पनि रोचक छ । ६ वटा पार्टीबीच एकीकरण भएर बनेको राजपामा अहिले पनि पुरानै धङधङी छ । संसदीय दलको नेता छान्नसमेत ७ महिना लगाएको राजपाभित्र जातीय राजनीतिले प्रश्रय पाएको छ ।

ठाकुर र यादवहरुबीचको द्वन्द्व छ भने राजेन्द्र महतोले महाधिवेशनबाट नेतृत्व हत्याउने योजना सुरु गरेका छन् । फोरममा पनि अध्यक्ष उपेन्द्र यादव सवैसर्वा भएको भन्दै अशोक राईलगायतको जनजाति समूह असन्तुष्ट छ । संघीय समाजवादी पार्टीबाट एकीकरणमा आएका राई, रकम चेम्जोङ, वीरबहादुर लामालगायतका नेताहरुले फरक मत राखिरहेका छन् ।

साना दलहरुको पनि उस्तै चालाः
हुनत पार्टीभित्रको व्यवस्थापनका कारण नै केही पार्टीहरु साना दलमा सिमित बनेका छन् । उनीहरुले पार्टीलाई एकलौटी रुपमा एक व्यक्तिको पेवा जस्तै मान्दै आएका छन् । आफुलाई अबको पाँच वर्षमा शक्तिशाली पार्टी दावी गर्दै आईरहेको नयाँ शक्ति पार्टी डा. बाबुराम भट्टराई केन्द्रित छ । बाबुरामको टिमबाट धेरै जसो विज्ञ मानिएकाहरु बाहिरिसकेका छन् । उनीहरु या त अर्को पार्टीमा सरण लिन पुगेका छन् । या त पुरानै मूल घर फर्किएका छन् ।

त्यस्तै हालैको निर्वाचनबाट उदय भएको विवेकशील साझा पार्टीभित्र पनि विवाद चुलिदैं गएको छ । नेतृत्व तहमा खासै विवाद नरहेपनि तल्ला कमिटीहरुमा विवाद छ । तल्ला तहमा नेतृत्वले हस्तक्षेप गरेको भन्दै केही जिल्लाका नेता कार्यकर्ताहरुले विरोध जनाउँदै आएका छन् ।

नेकपा मसाल, नेकपा माले, राप्रपा, लगायत दलहरु प्नि आन्तरिक विवादमा चुलिएका छन् । उनीहरुभित्र वर्षौदेखि एउटै व्यक्ति पार्टी प्रमुख हुँदा कार्यकर्ताहरु रुष्ट छन् । जसले गर्दा पार्टीलाई सवल बनाउँन सकिरहेका छैनन् ।

Logo