काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई सँगै राखेर चेतावनीयुक्त भाषा प्रयोग गरे । "/>

प्रदेश २ मा दाहालको चेतावनीको असर

प्रदेश २ मा दाहालको चेतावनीको असर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई सँगै राखेर चेतावनीयुक्त भाषा प्रयोग गरे । संघीय प्रहरी ऐन थन्किरहेकाबेला प्रदेश २ ले प्रहरी ऐन पारित गरेकोमा असन्तुष्ट दाहाहालले संघीय सरकारलाई ‘ओभरटेक’ गरेर अघि नबढ्न प्रदेशलाई सचेत गराउँदै दुर्घटना हुन सक्ने चेतावनी दिए ।

‘संघीय ऐन बनाउन ढिलाई भएकै हो । तर, त्यो भन्दैमा उछिनेर अगाडि बढ्नु भएन,’ जनकपुरमा पार्टीको प्रादेशिक कार्यालय उदघाटन गर्दै मंगलबार दाहालले भनेका थिए, ‘संघीय सरकारलाई ओभरटेक गर्नु गल्ती हुनेछ । ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ ।’

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संघीय सरकारले असहयोग गरे प्रदेश सरकारले ऐन–कानुन बनाएर अगाडि बढ्ने बताएपछि दाहालले कडा चेतावनी दिएका हुन् ।

दाहालको चेतावनीको प्रभाव कस्तो हुने हो अहिल्यै भन्न सकिने अवस्था छैन । तर, प्रदेश २ सरकारले प्रहरी ऐनलगत्तै प्रशासन, लोकसेवा र निजामती कर्मचारीसँग सम्बन्धित ३ विधेयकको मस्यौदा संसदमा लैजाने तयारी गरेको छ । नियम निलम्बन गरेर नेकपाको विरोधकाबीच असोज २३ गते हतार हतार प्रहरी ऐन पारित गरेको प्रदेश सरकारले बाँकी कानुन संसदमा लैजान भने रणनीति परिवर्तन गर्ने आशंका गरिएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रशासन, लोकसेवा र निजामती कर्मचारीसँग सम्बन्धित ३ विधेयकको मस्यौदा तयार भइसकेको र मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक सहमति लिइने तयारी भएको बताएका छन् ।

संघीय सरकारले कर्मचारी नपठाएर असहयोग गरेको बताउँदै आएको प्रदेश २ सरकारले निजामती पूर्वसचिव विद्याधर मल्लिकलाई आवश्यक कर्मचारी संख्याबारे अध्ययन गर्न लगाएको थियो ।

मुख्यमन्त्री राउतले आफैं कर्मचारी भर्ना गर्ने र प्रहरी खटनपटन गर्ने जवाफ फर्काएपनि दाहालको चेतावनीले अन्यौलता देखिने भएको छ । मुख्यमन्त्री राउतले बाँकी कानुन के गर्ने भन्नेबारेमा पार्टी अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्ने भएका छन् । यादव विदेश भ्रमणमा गएकाले त्यतिन्जेल ‘होल्ड’ गर्ने मनस्थिति बनाएका छन् । तर, उनीमाथि सत्तासाझेदार राजपाको दबाब पनि उत्तिकै तीब्र छ ।

प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेश सरकार लचिलो हुन सक्ने संकेत गरेका छन् । ‘मिडियाले केन्द्रविरुद्ध प्रदेशजस्तो गरी प्रचार प्रसार गरे,’ उनको भनाइ छ, ‘आफूलाई चाहिने आवश्यक कानुन बनाएर भए पनि काम नराकौं भन्ने सन्देश हो ।’ उसो भए प्रदेश सरकारले प्रहरी भर्नालाई रोक्छ त भन्ने प्रश्नमा झाले तत्कालै प्रदेश प्रहरी भर्ना नलिइने स्पष्ट पारे ।

किन दाहालले बोले ?
संविधान जारी हुनुअघि देखि नै मधेस प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट छ । मधेसका विषयमा ओलीको धारणाले मधेसका नेताहरु चिढिएका छन् । प्रदेश २ सरकारका कामप्रति ओली पनि उत्तिकै असन्तुष्ट छन् । तर, उनले अभिव्यक्ति दिएका छैनन् । बल्लबल्ल थुम्थुमिएको मधेसलाई ओली बिच्काउन चाँहदैनन् ।

ओलीले बोल्नेवित्तिकै मधेसमा तरंग पैदा हुने र स्थिति भड्कन सक्ने आंकलन गर्दै दाहालले ओलीको बोली बोलेका छन् । दाहालको अभिव्यक्तिको राजनीतिक तहमा बहस भए पनि जनस्तरमा धेरै तरंग पुगेको छैन ।

प्रधानमन्त्री उपेन्द्रलाई रिजाउँदै
प्रधानमन्त्री केपी शर्मा ओली भने सत्तासाझेदार संघीय समाजवादी फोरमलाई रिझाउन लागेका छन् । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ‘ठीक’ ठाउँमा ल्याउन यादवबाहेक कुनै औषधि नहुने निष्कर्षमा पुगेका ओलीले नयाँ रणनीति बनाएका छन् । बालुवाटार स्रोतले उपेन्द्रको इच्छाबमोजिम नै स्वास्थ्य र सहरी विकास मन्त्रालयमा सचिव फेरिदिएको दाबी गरेको छ ।

सचिव परिवर्तन मन्त्रिपरिषद् बैठकबाटै हुने भए पनि यादवको इच्छाअनुसार स्वास्थ्यसचिव पुष्पा चौधरी र सहरी विकास मन्त्री दीपेन्द्रनाथ शर्मालाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ । चौधरी कांग्रेस र शर्मा नेकपा निकट हुन् ।

Logo