काठमाडौं । भदौ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठनिक गतिविधि भद्रगोल भएको छ । "/>

नेकपामा भद्रगोलः दर्जनौं गुटको स्वार्थले ओलीलाई पाइला सार्नै गाह्रो

नेकपामा भद्रगोलः दर्जनौं गुटको स्वार्थले ओलीलाई पाइला सार्नै गाह्रो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भदौ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठनिक गतिविधि भद्रगोल भएको छ । पार्टीको सबैभन्दा उपल्लो निकाय सचिवालयदेखि वडा कमिटीसम्म लगालिङ्ग भएको छ ।

तत्कालिन एमाले र तत्कालिन माओवादीभित्रका गुट–उपगुट एकाएक ब्युँतिन थालेपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पाइलो सार्नै सकस भएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल भने पार्टीको आन्तरिक गतिविधिमा चासो नदेखाए पनि प्रक्रियालाई केही लम्ब्याउन चाहिरहेका छन् ।

खासगरी प्रदेश नेतृत्व चयनमा वरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक असहमति राखेपछि तल्ला कमिटी एकीकरण प्रक्रिया पनि बिथोलिएको छ । नेपालले तल्ला कमिटीको नेतृत्वमा आफ्नो भाग खोजेका छन् । ‘नेपालले तल्ला निकायमा आफ्नो गुटलाई निरन्तरता दिन भन्नुभएको छ,’ महासचिव विष्णु पौडेल निकट स्रोत भन्छ, ‘यही अप्ठ्यारोले काम रोकिएको छ ।’

भदौ ३ गते नै सक्ने भनिएको तल्ला कमिटीको एकीकरण दुई महिनापछि सर्दा पनि टुंगिने संकेत छैन । पार्टी एकतापछि ओली निकट रहेका नेपालले एकाएक आफ्नो अलग्गै अस्तित्व कायम राख्न चाहेका छन् । एमालेमै रहँदा पनि आफ्नो समूहको रक्षा नगर्ने उनले नेकपामा भने भावी नेतृत्वलाई ध्यान दिँदै समूह जोगाउने संकेत गरेका छन् ।

नेकपाका शीर्ष नेताहरुले आफ्नो शक्ति देखाउन समूह निर्माणको कसरत सुरु गरेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो समूहलाई रक्षा गर्दै एक अर्को समूहलाई तान्ने प्रयत्न गरेका छन् । ओलीसँग अहिले परम्परागत समूह कायमै छ । उनले अहिलेसम्म आफ्ना नेताहरुलाई फरक कित्तामा जाने अवसर दिएका छैनन् ।

मुल गुट
केपी शर्मा ओलीः केपी ओली समूहमा वामदेव गौतम, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, शेरधन राई, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, शंकर पोखरेल, डोरमणि पौडेल, खगराज अधिकारी, केशव बडाल, डा. पुष्पक कँडेल, सोमनाथ अधिकारी ‘प्यासी’, सत्यनारायण मण्डल, रघुवीर महासेठ, रविन्द्र अधिकारी, पद्मा अर्याल, भानुभक्त ढकाल, गोकुल बास्कोटालगायतका नेता छन् ।

उपगुट– १
वामदेव गौतमः– अहिलेसम्म ओली समूहमा रहेका वामदेव गौतम समूहमा उपगुट पनि छन् । वामदेव गुटमा रविन्द्र अधिकारी, किरण गुरुङ, पद्मा अर्याल, दलबहादुर रानालगायतका नेताहरु छन् ।

उपगुट– २
ईश्वर पोखरेलः– अर्थमन्त्री नदिएर रक्षामन्त्रीमा थन्क्याएपछि ओलीसँग चिढिएका सचिवालय सदस्य पोखरेलसँग शेरधन राई, आनन्द पोखरेललगायतका नेताहरु छन् । पोखरेलले तत्कालिन माओवादीबाट आएका जनार्दन शर्मालगायतसँग गुट निर्माणको पहल गरेका छन् । शर्मा ओलीसँग नजिकिन चाहे पनि सचिवालय सदस्यमा ठाउँ नदिएपछि असन्तुष्ट छन् ।

मुल गुट
पुष्पकमल दाहालः– दाहाल गुटमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, अमिक शेरचन, जनार्दन शर्मा, वर्षमान पुन, देवप्रसाद गुरुङ, पम्फा भूसाल, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, अग्नि सापकोटा, ओनसरी घर्ती, लेखराज भट्ट, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल, लीलामणि पोखरेल, राम कार्कीलगायतका नेता छन् । दाहालले नेकपामा पूर्वएमालेबाट योगेश भट्टराई, रामकुमारी झाँक्रीलगायतका नेताहरुलाई तान्ने प्रयास गरेका छन् ।

उपगुट– १
नारायणकाजी श्रेष्ठः– पार्टी प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठले पनि अलग्गै समूह बनाउने प्रयास गरेका छन् । आफ्नो परम्परागत समूह जोगाउँदै श्रेष्ठ एमालेको माधव नेपाल समूहसँग नजिकिने प्रयास गरे पनि सफल भएन । श्रेष्ठ समूहमा गिरिराजमणि पोखरेल, विश्वनाथ साह, अञ्जना विशंखेलगायतका छन् ।

उपगुट– २
रामबहादुर थापाः– गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाले पनि वैद्य माओवादीबाट एकता प्रक्रियामा आएका नेताहरुसहितको समूह बनाउने प्रयास गरेका छन् । थापा समूहमा देव गुरुङ, पम्फा भूसाल, मातृका यादव, सावित्रीकुमार काफ्लेलगायतका नेताहरु छन् । थापाले पूर्वएमालेका पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङलगायतका नेताहरुलाई तान्ने प्रयास गरेका छन् ।

मुल गुट
माधव नेपालः– माधव नेपाल समूहमा झलनाथ खनाल, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट, लालबाबु पण्डित, शेरबहादुर तामाङ, जीवनराम श्रेष्ठ, कृष्णभक्त पोखरेल, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवारलगायतका नेता छन् ।

उपगुट
झलनाथ खनालः– खनाल समूहमा अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायतको समूह छ । नेपाल समूहमा नै रहेका भीम रावलले पनि अलग्गै समूह बनाउने प्रयास गरिरहेका छन् ।

नेकपा संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रदेश कमिटीले काम सुरु गरिसकेसँग एकताले टुंगो नलाग्दासम्म पार्टीमा द्विविधा आइरहने बताए । संसदीय दलका सचेतक देव गुरुङले पनि दुई फरक पृष्ठभूमिबाट आएका पार्टीबीचको एकता कठीन काम भएकाले समय लिनु स्वभाविक भएको बताए ।

Logo