काठमाडौं । वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य निर्वाचित गराउने प्रस्ताव लामो समयपछि आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पेस भयो । "/>

वामदेव प्रकरणः दाहाल र पौडेलसामू ओलीको हार

वामदेव प्रकरणः दाहाल र पौडेलसामू ओलीको हार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य निर्वाचित गराउने प्रस्ताव लामो समयपछि आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पेस भयो । एजेन्डाकोरुपमा नआएको प्रस्ताव नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरे ।

दाहालले गौतमलाई प्रतिनिधिसभामा लैजाने प्रस्तावमात्रै पेस गरेनन्, कुनै एक क्षेत्र खाली भएकोसमेत घोषणा गरे । सुरुमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मजाक गरे । ‘अरु कतै भएन भने मेरै क्षेत्र (झापा–५) नै छाड्छु नि त,’ ओलीले भनेका थिए ।

ओलीले आफूले क्षेत्र छाड्ने भन्दै मजाक गरेपछि दाहालले तत्कालै काठमाडौं– ७ बाट रामवीर मानन्धरले राजीनामा दिने जानकारी गराए । ‘रामवीरजीको राजीनामा मेरो खल्तीमा छ,’ उनले भित्रभित्रै पाकेको वामदेवको संसद सपनाको पोको खोले, ‘अब अरु क्षेत्र खोजिरहनुपर्दैन ।’

मानन्धरले काठमाडौं– ७ बाट छाड्ने सहमति दिएको विषयमा ओली अनविज्ञ थिए । ‘उसो भए ठीकै छ नि त,’ ओलीको मजाक रोकिएन, ‘मैले पनि धन्न छाड्नुपरेन ।’

बैठकमा धेरै नेताहरुले धारणा राखेनन् । तर, नेकपा सचिवालय सदस्यसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले असन्तुष्टि राखे । ‘यो त्यति राम्रो काम भएन,’ उनले यतिमात्रै भने, ‘बाहिर राम्रो म्यासेज जाँदैन ।’

वामदेवलाई प्रतिनिधिसभा सदस्य बनाउन एकोहोरोरुपमा दाहाल र पार्टी महासचिव विष्णु पौडेलले गरेको प्रयत्नले करिव–करिव अन्तिमरुप लिएको छ । मानन्धरले राजीनामा घोषणा गरे पनि राजीनामा पत्र बुझाइसकेका छैनन् । ‘पार्टीले स्वीकृति दिएपछि राजीनामा पत्र बुझाउँछु,’ मानन्धरले केन्द्रविन्दुसित भने, ‘पार्टीले छिट्टै स्वीकृतिपत्र देओस् भन्ने चाहेको छु ।’

अध्यक्ष ओलीले नचाहे पनि मानन्धरलाई राजीनामा हुनबाट रोक्न सक्दैनन् । ओलीले आइतबार नै मानन्धरसँग छलफल गरेका छन् । उनले दाहाल र बामदेव गौतमले धेरै कर गरेपछि आफू क्षेत्र खाली गर्ने मुडमा पुगेको बताएका थिए । मानन्धरले आफूले क्षेत्र खाली गरेपछि हुने उपनिर्वाचनमा पार्टीलाई जिताउन सम्भव रहेकोसमेत दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा बामदेवका लागि क्षेत्र खाली गरेकोमा असन्तुष्टि चुलिएको छ । पार्टीका अधिकांश नेता÷कार्यकर्ता नै क्षेत्र खालीको निर्णयमा आक्रोसित भइरहेकाबेला गौतमलाई किन चुनाव लडाउन लगियो भन्ने जवाफ दाहाल र पौडेलले दिएका छैनन् ।

दाहालले अबको दुई वर्षपछि गौतमलाई प्रधानमन्त्री बनाउने उद्देश्यका साथ प्रतिनधिसभा सदस्य बनाउने तयारी गरेका छन् । स्रोतका अनुसार, ओली र दाहालबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारी भएको छ । दाहाललाई भनिएको दोस्रो कार्यकाल गौतमलाई सरकारको नेतृत्व दिन सांसद बनाउने तयारी भएको हो ।

प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट थोरै मतले पराजित भएका बामदेव अबको चार वर्षभित्र सांसद हुने अरु बाटो बन्द भएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनबाट निर्वाचित हुनुबाहेक कुनै विकल्प खाली छैन । संविधानसभा ताका समानुपातिक सदस्यलाई राजीनामा गराएर सांसद हुने, मन्त्रिपरिषद्ले मनोनीत गर्ने विकल्प थिए । नयाँ संविधानले त्यस व्यवस्थालाई रोकेको छ । प्रतिनिधिसभामा पराजितलाई राष्ट्रियसभामासमेत उम्मेदवार हुन रोक लगाएपछि गौतम विकल्पहीन अवस्थामा थिए ।

गौतमलाई सांसद बनाउन सुरक्षित क्षेत्रका सांसदहरुले आनाकानी गरेपछि काठमाडौं– ७ खाली गर्ने निष्कर्षमा पुगिएको हो । डोल्पा, बाँके, रुकुम, दैलेखजस्ता नेकपाका सुरक्षित स्थानमा सांसदहरुले राजीनामा दिन अस्वीकार गरेका थिए । डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिने निर्णयमा पुगेर पनि अन्तिम समयमा ओलीको निर्देशनमा पछि हटेका थिए ।

अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलले सम्भावित सबै सांसदलाई बोलाउँदै क्षेत्र खाली गर्नेबारे छलफल गरेका थिए । तीन महिना लामो कसरतपछि गौतमले क्षेत्र पाएका छन् ।

अरु पार्टीबाट को–को ?
काठमाडौं– ७ मा उपनिर्वाचन भएको खण्डमा नेकपाबाट गौतम उम्मेदवार हुने पक्का छ । कांग्रेसबाट प्रकाशशरण महतदेखि धनराज गुरुङ र विश्वप्रकाश शर्माको नाम आएको छ । तर, गौतमलाई ‘टुरिस्ट’ भन्दै स्थानीय नेवार समूदायका उम्मेदवार हुने सम्भावना बलियो छ ।

साझा विवेकशील पार्टीले रविन्द्र मिश्रलाई उम्मेदवार बनाउने तयारी गरेको छ । कांग्रेसले जुनसुकै मूल्यमा नेकपालाई हराउन अन्तिम समयमा मिश्रलाई उम्मेदवार बनाउन सक्ने सम्भावनाबारे पनि चर्चा सुरु भएको छ ।

वामदेवको जीत–हार
गौतम २०४८ सालदेखि नै बर्दियाबाट उम्मेदवार भएका छन् । २०४८ र २०५१ मा बर्दियाबाट निर्वाचित गौतम २०५६ मा भने पराजित भए । तत्कालिन एमालेबाट फुटेर बनेको नेकपा मालेका महासचिव समेत रहेका गौतमलाई कांग्रेसले हराएको थियो ।

२०६४ मा भएको पहिलो संविधानसभामा पनि माओवादी उम्मेदवारसँग पराजित गौतम दोस्रो संविधानसभामा बर्दिया र प्युठानबाट चुनाव जिते । गएको चुनावमा बर्दियाबाट कांग्रेसका सञ्जयकुमार गौतमसँग उनी पराजित भएका थिए ।

 

 

Logo