काठमाडौं ।

मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ
माझी छौ कि केही किनारा लगाइदेऊ

प्रतिनिधिसभा बैठकमा बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले शिशिर योगीको यही गीतबाट आफ्नो मन्तव्य सुरु गरेका थिए । "/>

‘देश डुब्न लाग्यो’ भन्ने नेताहरु विदेश कुदेको कुद्यै (भिडियोसहित)

‘देश डुब्न लाग्यो’ भन्ने नेताहरु विदेश कुदेको कुद्यै (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ
माझी छौ कि केही किनारा लगाइदेऊ

प्रतिनिधिसभा बैठकमा बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले शिशिर योगीको यही गीतबाट आफ्नो मन्तव्य सुरु गरेका थिए । सरकारलाई संसदकै मञ्च प्रयोग गरेर आलोचनामा उत्रिएका नेपाल राष्ट्रिय राजनीतिको चिन्ता गर्ने तर अधिकांश समय विदेशमा बिताउने नेतामा पर्छन् ।

‘देश डुब्न लाग्यो’ भन्दै भाषण गरे पनि नेपालको विदेशमोह भने अचम्म लाग्दो छ । पाना सकिएर छिटो–छिटो पासपोर्ट नविकरण गर्ने नेतामा नेपाल पर्दछन् । नेपालमात्रै होइन, उनको समूहका नेता कार्यकर्तालाई विदेश पानी पधेँरो भएको छ ।

गत जेठ १९ गतेदेखि १० दिनसम्म ब्राजिल बसेर आएका नेपाल असार २६ गतेदेखि ५ दिन चीन बसे । साउन दोस्रो साता कम्बोडिया गए भने भदौ दोस्रो साता अमेरिका पुगे । असोज पहिलो साता घाना गएर फर्केका नेपाल १४ गते नै चीन उडेका छन् ।

स्वकीय सचिव मोहन गौतमले पार्टीलाई जानकारी गराएर नै नेपालले विदेश भ्रमण गरिरहेको दाबी गरे । उनले सबै विदेश भ्रमण पार्टी कामकै लागि भएको जिकिर गरे । तत्कालिन एमालेको विदेश विभाग प्रमुख रहेका नेपाल पार्टी एकीकरणपछि औपचारिक जिम्मेवारीमा छैनन् । उनको माग फेरि पनि विदेश विभाग नै छ । दुई साताअघि प्रदेशको नेतृत्व टुंगो लगाउँदा उनी विदेशमै भएकाले निर्णयमा छुटेका हुन् ।

तत्कालिन एमालेमा विदेश विभागको नेतृत्व दोहोर्‍याइ–दोहार्‍याइ तीन शीर्ष नेताले मात्रै लिएका छन् । माधव नेपाल पार्टी प्रमुख हुँदा झलनाथ खनाल विदेश विभाग प्रमुख थिए । त्यसपछि केपी ओली भए । ओली पार्टी नेतृत्वमा पुगेपछि खनाल र नेपालबीच विदेश विभागका लागि ठूलो रस्साकस्सी भयो । दुवै नेताले विदेश विभाग नपाएसम्म जिम्मेवारी नै नलिनेसम्मको अडान लिए । बाजी चाँही फेरि पनि नेपालले नै मारे ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीबीच भाईचारा सम्बन्ध स्थापनाका लागि भन्दै विश्वभरबाट तत्कालिन एमालेको विदेश विभागलाई पत्राचार हुने गरेको थियो । त्यही लोभ शीर्ष नेतालाई हुने गरेको थियो । पछि विदेश विभागमा शीर्ष नेताहरु नै रहनेजस्तो प्रचलन भएपछि त्यसलाई टुक्र्याएर प्रवासको अलग्गै ईञ्चार्ज तोक्न थालिएको थियो ।

नेकपामा नेपालमात्रै होइन, वरिष्ठ नेता झलनाथ खनाल पनि धेरै विदेश जाने नेतामा पर्दछन् । छोटो विदेश यात्रामा शीर्ष नेताहरुले पार्टीलाईसम्म जानकारी दिँदैनन् । पार्टीसँग सल्लाह नगरी विदेश जाँदाको पीडा खनालले भोग्नुसम्म भोगेका छन् ।

गत जेठ ३ गते पार्टी एकता घोषणा समारोहमा खनाल छुटे । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी नगराई चीन भ्रमणमा गएका खनाल ऐतिहासिक घोषणासभामा त छुटे नै, त्योभन्दा पनि वरीयतामा दोस्रो नम्बरमा रहेको उनको पद गुम्यो । त्यही मौकामा माधवकुमार नेपालले वरीयता लिइछाडे । खनालको वरीयता गुमेको तातो रिस अहिलेसम्म मरेको छैन ।

नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल पनि विदेश भ्रमण रुचाउने नेता पर्दछन् । भारत भ्रमणबाट फर्केलगत्तै चीन गएका दाहाल अहिले सिंगापुरमा छन् । कहिले सिंगापुर, कहिले थाइल्याण्ड पुगिरहने दाहालको भ्रमण एजेन्डा भने श्रीमतीको उपचार हुने गरेको छ ।

पछिल्लो समय धेरै विदेश भ्रमण गर्नेमा नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि छन् । दुई साता लामो यूरोप भ्रमणबाट फर्केलगत्तै उनी अहिले अमेरिका पुगेका छन् । उनको अमेरिका बसाइ पनि महिना दिन लामो छ । त्यसअघि उनी खाडी राष्ट्रहरुको भ्रमणमा गएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भ्रमणलाई रुचिको विषय बनाउन थालेका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा भारत र चीनको साताव्यापी भ्रमण गरेकोमा आलोचित ओलीले गएको भारत भ्रमण छोट्याएका थिए । तर, चीन भने लामै बसे । यसपटकको अमेरिका बसाइ भने पट्यारलाग्दो लामो भएको छ । राष्ट्रसंघ महासभामा भाग लिन गएका प्रधानमन्त्री कोस्टारिकामा टहलिएर बसेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको विदेशमोहन उत्तिकै छ । उनी एक महिनामा विना काम यूरोप दुईपटक पुगिसके । भारत, चीन, अमेरिका त कामकै लागि भइगयो । नेकपामा नारायणकाजी श्रेष्ठ, पम्फा भूसालदेखि भीम रावल, ईश्वर पोखरेल, योगेश भट्टराई, रामकुमारी झाँक्री, रचना खड्कालगायतका नेताहरु बढी विदेश भ्रमण गर्ने गरेका छन् । कांग्रेसमा रामचन्द्र पौडेल, गगन थापा, प्रदीप पौडेललगायतका नेताहरुलाई विदेश भ्रमण पानी पधेँरो नै भएको छ ।

 

Logo