गएको जेठ दोस्रो साता नवगठिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा हाँसोठट्टामै एउटा नौलो विषयले प्रवेश पायो । "/>

बामदेवलाई सांसद बनाउन प्रधानमन्त्री र प्रचण्डबीच किन मतभेद ?

बामदेवलाई सांसद बनाउन प्रधानमन्त्री र प्रचण्डबीच किन मतभेद ?

केन्द्रबिन्दु
0
Shares

गएको जेठ दोस्रो साता नवगठिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा हाँसोठट्टामै एउटा नौलो विषयले प्रवेश पायो । नयाँ पार्टीको तल्ला तहको एकीकरणलगायतका विषयमा बोलाइएको बैठकमा संसद बैठकमा जाने चर्चा भयो ।

नेकपाका सचिवालय सदस्य बामदेव गौतमले भनेका थिए, ‘मलाई चाँही हतार छैन है ।’ गएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमले सबै नेताहरु संसद जाँदा आफूलाई पनि रहर लागेको आशय प्रकट गरे । ‘साह्रै रहर लागे कि जाने त !’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठट्टा गरे ।

गौतमले पनि जीवनको उत्तरार्धमा संसद सदस्य बन्ने धोको पार्टीको आन्तरिक गुटबन्दीले तुहाइदिएको भन्दै दुखेसो गरेका थिए । त्यस बैठकमा भएको ठट्टा भित्रभित्रै पाक्दै गयो । गौतमको मनभित्र पलाएको अभिलाशालाई दाहालमार्फत नै बहस गरिएको नेकपाका सचिवालय सदस्यको दाबी छ ।

औपचारिक बैठकमा कुनै विषयले प्रवेश नपाए पनि बामदेवलाई सांसद बनाउने कुरा कतिपय नेताहरुले सञ्चारमाध्यममा आएपछि थाहा पाए । प्रधानमन्त्री निकट स्रोतका अनुसार ओलीले पनि मिडियामा आएपछि मात्रै बामदेवलाई सांसद बनाउन तयारी भएको थाहा पाएका थिए । असार दोस्रो सातामा बसेको सचिवालयको बैठकमा अध्यक्ष दाहालले बामदेवलाई सांसद बनाउन प्रस्ताव गरेको दाबी पार्टी स्रोतको छ । ‘प्रधानमन्त्रीले विरोध गर्नुभएन,’ नेकपाका ती सचिवालय सदस्यको भनाइ छ, ‘समर्थन पनि गर्नुभएन ।’ गौतमले प्रधानमन्त्रीले मौन समर्थन गरेको बुझेका थिए ।

गौतम निकट केही नेताहरुले उपनिर्वाचनका लागि ठाउँ खाली गर्न नेकपाले जितेका धेरै निर्वाचन क्षेत्रको अध्ययन गरेको थियो । उनीहरुले ५ नम्बर र कर्णाली प्रदेशका नेकपाले सहजै जित्न सक्ने निर्वाचन क्षेत्रको अध्ययन गरे । प्युठान, रुकुम, सल्यानलगायतका क्षेत्रमा विपक्षीसँग प्रतिस्पर्धासमेत हुन नसक्ने ठहर गरिएको थियो । तर, तीनै जिल्लामा प्रतिकूल अवस्था आउने देखेपछि डोल्पा जिल्लाबाट जित्न सकिने निष्कर्ष निकालिएको थियो ।

तत्कालिन एमालेका पुराना नेता अंगद बुढाको टिकट खोसेर राप्रपाका नवप्रवेशी धनबहादुर बुढालाई दिइएको थियो । तिनै बुढा २०७० सालमा ५० प्रतिशत मत पाएर विजयी भएका थिए भने २०७४ को चुनावमा एक्लै ७८ प्रतिशत मत पाएका थिए । बुढाले मानेको अवस्थामा राजीनामा गराउन सहज प्रधानमन्त्री ओली पछिल्लो समय सकारात्मक हुन सकेनन् । अध्यक्ष दाहाललाई गौतम संसदमा आउनैपर्नाको कारण सोधेका थिए । दाहालले पनि जीवनको उत्तरार्धमा सांसद बन्ने रहर गरेको भन्दै सम्भव भएसम्म सहयोग गरौं भन्ने आशयको कुरा गरेका थिए ।

प्रधानमन्त्री गौतमलाई सांसद बनाउन नकारात्मक बन्दै गएपछि बुढाले पनि राजीनामा नदिने अडान लिएका हुन् । ‘मैले छाड्दा के हुन्छ भन्दै म जिल्ला गएको थिएँ, मतदाताहरुले तपाईंले छाडे अर्कालाई भोट दिन्नौं भन्नुभयो,’ बुढाले काठमाडौं आएर नेताहरुलाई ब्रिफिङ गरेका थिए, ‘अर्को व्यक्ति चुनावमा जाँदा एउटा क्षेत्र भए पनि गुम्ने अवस्था छ ।’

नयाँ क्षेत्रको खोजी

प्रधानमन्त्रीकै निर्देशनमा बुढा राजीनाबाट पछि हटेको निष्कर्ष निकालेका गौतमले नयाँ क्षेत्रको खोजी सुरु गरेका छन् । नेकपा अध्यक्ष दाहालको निर्देशन मान्ने सांसदलाई राजीनामा गराएर गौतमका लागि बाटो खुलाउने तयारी भएको छ । गौतम पुनः प्युठान नै गएको अवस्थामा चुनाव जित्न सकिने निष्कर्ष निकाले पनि उक्त जिल्लाबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सांसद रहेकाले सहज छैन ।

तत्कालिन माओवादी केन्द्रको गढ रहेको पूर्वी रुकुम गौतमले आँखा गाडेको अर्को क्षेत्र हो । पूर्वी रुकुमबाट नेकपाकी कमला रोक्का सांसद निर्वाचित भएकी छन् । रोक्काले भने आफूले राजीनामा नदिने सार्वजनिकरुपमा बताइसकेका छन् । तर, दाहालले दबाब दिएको अवस्थामा उनी निर्णयबाट पछि हट्ने अनुमान गौतमको छ ।

किन सांसद ?

गौतमले पटक–पटक आफू एकपटक प्रधानमन्त्री भएर देश चलाउने रहर भएको बताएका छन् । तीन–तीन पटक उपप्रधानमन्त्री भइसकेका गौतम नेकपामा प्रधानमन्त्री नहुने एकमात्रै सिनियर नेता हुन् । एमाले फुटाएर नेकपा मालेको कार्यकारी नेतृत्व गरेका गौतमले पुनः एमाले फर्केर दुई पटक उपाध्यक्ष जिते ।

प्रधानमन्त्री ओलीको विकल्पकोरुपमा दाहालले पनि गौतमलाई साथ दिएका हुन् । जनयुद्धदेखि नै निकट सम्बन्ध रहेका दाहाल गौतमलाई प्रधानमन्त्री बनाउन चाहन्छन् । संसदमा पूर्वएमालेबाट दाहाललाई साथ दिने वरिष्ठ नेताहरु छैनन् । माधवकुमार नेपाल पनि ओलीसँगै निकट रहेकाले गौतमलाई भित्र्याएर आफ्नो समूह संसदमा बलियो बनाउने नीतिमा दाहाल छन् । ‘यही प्रयोजन बुझेर प्रधानमन्त्री सकारात्मक नहुनुभएको हो,’ ओली निकट नेताको दाबी छ ।

Logo