प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदहरुले जघन्य महिला हिंसामा संलग्नलाई सर्वस्वसहित जन्मकैद र मृत्युदण्डको माग गरेका छन् । "/>

करणी गर्नेलाई सर्वस्वसहित जन्मकैद, नाबालिग बलात्कार गर्नेलाई मृत्युदण्ड !

करणी गर्नेलाई सर्वस्वसहित जन्मकैद, नाबालिग बलात्कार गर्नेलाई मृत्युदण्ड !

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदहरुले जघन्य महिला हिंसामा संलग्नलाई सर्वस्वसहित जन्मकैद र मृत्युदण्डको माग गरेका छन् ।

महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत सङ्कल्प प्रस्तावमाथि उनेहरुले ‘समृद्धिको पहिलो आधार हिंसामुक्त समाज’भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै ‘महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरिएको र उपभोग्य साधनका रुपमा मात्रै लिइएका कारण’ हिंसा बढेकाले कानूनी एवं व्यावहारिक रुपमा नै समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

महिलामाथि हुने सबै प्रकारका विभेदविरुद्धको महासन्धिलगायत अन्तर्राष्ट्रिय अभिसन्धिको पक्ष राष्ट्र भए पनि नेपालमा महिला हिंसाको घटनामा कमी नआउनु दुःखद् रहेको उनीहरुको भनाइ थियो । सङ्कल्प प्रस्ताव प्रस्तुत गर्दै सांसद विन्दा पाण्डेले समृद्धिको पहिलो आधारका रुपमा हिंसामुक्त समाज निर्माण गर्न विद्यालय तहका पाठ्यक्रममा महिला हिंसाविरुद्धको विषय समावेश गर्न आवश्यक रहेको बताए । उनले महिला हिंसाविरुद्ध सरकारलाई गम्भीर बन्न आग्रह गर्दै जबर्जस्ती करणी गर्नेलाई सर्वस्वहरणसहितको कानून बनाउनुपर्नेमा जोड दिए ।

सांसद पुष्पा भुसालले महिला हिंसा एवं बालबालिकामाथिको अपराध पछिल्लो दिनमा बढ्दै गएकाले त्यसलाई अन्त्य गर्न सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको जानकारी दिए । सांसद यशोदा गुरुङले महिला हिंसाविरुद्ध पर्याप्त कानून भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा महिला, बालबालिका पीडित हुनुपरेको यथार्थ प्रस्तुत गरे । सांसद रेखा शर्माले महिला हिंसाविरुद्धको सामाजिक अभियानलाई गाउँस्तरसम्म सञ्चालन गर्नुपर्ने बताए ।

सांसद दुर्गा पौडेलले महिला हिंसा अन्त्य गर्न सबै क्षेत्रको साझा सङ्कल्प जरुरी रहेको बताए । सांसद लक्ष्मी परियारले सामाजिक चेतनाको अभावमा बालिकामाथि बलात्कार बढेको र दोषी समाजमा खुलमखुल्ला हिँडिरहे पनि कारबाही नभएकामा गुनासो गरे । सांसद राधाकुमारी ज्ञवालीले महिला हिंसाविरुद्ध कारवाही गर्र्ने पूर्ण अख्तियारीसहित चौबीसै घण्टा सञ्चालन हुने विशेष संयन्त्र बनाउन माग गर्दै नाबालिगमाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने माग गरे ।

सांसद खगराज अधिकारीले आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म महिला हिंसाविरुद्ध लाग्ने सङ्कल्प प्रस्तुत गर्दै पार्टीमा महिला निर्विरोध हुने अवस्था आए आफूले सो पद छाडिदिने स्पष्ट पारे । सांसद अमरेशकुमार सिंहले कानूनी, आर्थिक, सामाजिक समस्याका कारण महिला हिंसा बढेको उल्लेख गर्दै तिनलाई आर्थिक र सामाजिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिए ।

Logo