काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । "/>

सांसद बुढालाई राजीनामा दिन लगाई वामदेवलाई डोल्पाबाट उठाउने नेकपाको तयारी !

सांसद बुढालाई राजीनामा दिन लगाई वामदेवलाई डोल्पाबाट उठाउने नेकपाको तयारी !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्री समेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ । सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउनेछ । पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले ‘संसदमा तपाईंको आवश्यकता परेको’ भन्दै गौतमलाई प्रतिनिधिसभामा ल्याउने आश्वासन पनि दिइसकेका छन् ।

नेता गौतमले पनि अध्यक्षद्वयले आश्वासन दिएको बताए । ‘दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्‍यो, ल्याउँछौँ भन्नु भएको छ । थप कुरा अहिल्यै नभनौँ’, उनले भने । स्रोतका अनुसार सांसद बुढाको राजीनामाबारे दुई अध्यक्षबीच छलफल भइसकेको छ । तर कहिले भन्ने टुंगो भने लागेको छैन । बुढाको राजीनामा स्वीकृत भएपछि सरकारले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि आग्रह गर्ने स्रोतले जनाएको छ ।

वामदेव गौतम गत निर्वाचनमा गृह जिल्ला बर्दियाबाटै हारेका थिए । बर्दिया १ बाट उम्मेदवार बनेका उनी कांग्रेसका सञ्जय गौतमसँग सात सय ५३ मतले पराजित भएका थिए । तर पार्टीमै अन्तरघात भएकाले वामदेव पराजित भएको भन्दै तत्कालीन एमालेले छानबिन समिति गठन गरेको थियो ।

यता डोल्पाका सांसद धनबहादुर बुढा भने राजीनामाबारे बोल्न चाहेनन् । ‘यसबार भेटेर कुरा गरौंला,’ उनले भने । ०७४ को निर्वाचनमा बुढा ११ हजार ७६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १६७ मत पाएका थिए ।
नयाँ पत्रिकाबाट

Logo