प्रधानमन्त्री ओलीका पार्टीकै ५ प्रतिपक्षी

प्रधानमन्त्री ओलीका पार्टीकै ५ प्रतिपक्षी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली सरकार प्रमुख मात्रै होइनन्, सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष पनि हुन् । पार्टीभित्र र सरकारमा ओली प्रभाव बलियो छ । सरकार, पार्टी जताततै ओलीको बहुमत छ ।

ओलीले पार्टीइतरको साथ, समर्थन पाउँदा पनि एमालेभित्र एउटा ठूलो समूह छ, जसले आफ्ना पार्टी अध्यक्षलाई मान्दैन । त्यो समूहमा युवा जमात बढी छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेलसम्म ओलीलाई ‘क्रस’ गर्न नसकिरहेका बेला एमालेका केही युवा नेताहरु विपक्षमा छन् । विपक्षमा मात्रै छैनन्, उनीहरुले ओलीको नीति, नेतृत्व र दृष्टिकोणलाई स्वीकार गदैनन् । को हुन् त ओलीविरोधी कित्तामा रहेका एमाले युवा नेताहरु ?

१. घनश्याम भूसाल

घनश्याम भूसाल एमाले उपमहासचिव हुन् । चार वर्षअघि भएको महाधिवेशनमा ओली निकट शंकर पोखरेललाई हराएर उपमहासचिव भएका भूसालसँग ओलीको सम्बन्ध कहिल्यै सुमधुर भएन । ’सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ गरेर ओली अध्यक्ष भएको भूसालको भनाई अहिले पनि यथावत् छ । फलानो कमरेड अस्वस्थ्य हुनुहुन्छ, आजसम्म अध्यक्ष पनि हुनुभएको छैन भनेर केही साथीहरु ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ गरेर अध्यक्ष बनाएको भूसालको भनाइ छ । भूसालले ओलीविरुद्ध विभिन्न बैठकमा फरक मत ल्याए । त्यतिमात्रै होइन, ओलीका हरेक निर्णयमा भूसालको ‘अब्जेक्सन’ छ ।

२. योगेश भट्टराई

एमाले सचिव योगेश भट्टराईको ओलीसँगको सम्बन्ध भने उतारचढावपूर्ण छ । कहिले योगेशलाई असाध्यै माया गर्ने ओली कहिले भने सार्वजनिकरुपमै आलोचना गर्छन् । बाबुले जत्तिकै माया गरेर जेलमा तेल लगाइदिएको घटना सम्झाएपछि ओली योगेशसँग भावुक भएका थिए । बीचका केही महिना सम्बन्ध सुमधुर रहे पनि चुनावपछि ओली–योगेश सम्बन्धमा चिसोपन आयो । चुनाव जितेर काठमाडौं आएका योगेशले ओलीलाई ‘नेल्सन मण्डेला’ बन्न सुझाव दिएपछि पाउनै लागेको मन्त्री पद पनि खोसिएको थियो ।

३. ठाकुर गैरे

कोमल वलीसम्म सांसद बन्दा अनेरास्ववियूका पूर्वअध्यक्ष ठाकुर गैरेको नाम भने स्थायी कमिटीमा पेससम्म भएन । प्रतिनिधिसभामा पाल्पा २ बाट प्रत्यक्ष टिकटका दाबेदार गैरेको नाम ०७० र ०७४ दुवै चुनावमा अन्तिम समयमा काटिएको थियो । ठाकुर गैरे कार्यकर्ताबीच लोकप्रिय भए पनि शीर्ष नेताहरुको रुचिमा छैनन् । आठौं महाधिवेशनमा झलनाथ खनाल र केपी ओली कुनै पनि प्यानलमा नपरेपछि प्यानल बाहिरबाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए । गएको चुनावमा गैरेकै क्षेत्रबाट माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेको नाम सिफारिस भएपछि गैरेको नाम काटियो ।

४. निरज आचार्य

युवा संघ नेपालका पूर्वमहासचिव निरज आचार्य कहिल्यै ओलीको रोजाइमा परेनन् । जाजरकोटदेखि राजनीतिक संघर्ष गरेर युवा संघ महासचिवसम्म भएका आचार्य एमालेका राजनीतिक पीडित हुन् । महेश बस्नेतले युवा संघको नेतृत्व दोहो¥याउँदा निरज लटि दिनुपर्ने अवस्था रह्यो । जाजरकोटको प्रदेश सभा ‘क’ बाट नेकपा एमालेका उम्मेदवार बनेका निरज आचार्यको अन्तिम समयमा उम्मेदवारी खोसियो । त्यसपछि उनले प्रतिक्रिया दिएका थिए, ‘अध्यक्षले निरंकुश शैलीमा मेरै टिकट खोस्नुभयो, त्यसैले ओलीको टिकट ओलीलाई नै फिर्ता भयो ।’

५. रामकुमारी झाँक्री

२०६२/०६३ को आन्दोलनकी एक नेतृत्वकर्ता एमाले नेतृ रामकुमारी झाँक्रीसँग ओली कहिल्यै नरम रहेनन् । झाँक्रीलाई ओली खासै जिम्मेवारी दिन चाहँदैनन् । चार वर्षअघिको महाधिवेशनमा माधव नेपाल समूहबाट केन्द्रीय सदस्य भएकी झाँक्री एमालेमा पछि परेकी नेतृ हुन् । २०६२÷०६३ को आन्दोलनका सहयात्री गगन थापा तीन पटक सांसद र मन्त्री बन्दा झाँक्रीले बल्लबल्ल समानुपातिक सांसद बन्ने अवसर पाइन् ।

Logo