महत दाजुभाइको ङार्र–ङुर्र (भिडियोसहित)

महत दाजुभाइको ङार्र–ङुर्र (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राजनीतिमा थोरै मात्र चासो राख्नेहरुले समेत नेपाली कांग्रेसका नेता रामशरण र प्रकाशशरण महत दाजुभाइ हुन् भनेर जानकारी राख्छन् । तर, एउटै पार्टीमा पनि यी दुई नेता दाजुभाइ भिन्न किनारामा उभिन रुचाउँछन् भन्ने चाँही कतिले बुझेका होलान् ? पछिल्लो पटक प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा यी दुई दाजुभाइको विचार ‘एक्सपोज’ भएको छ । दाजु रामशरणले खुलेर भ्रमणको प्रसंसा गरे भने भाइ प्रकाशशरणले नकारात्मक पक्षभन्दा अर्थोक देखेनन् ।

काँग्रेस नेता तथा अर्थविद्ध डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमण फलदायी र उपलब्धिमूलक भएको सार्वजनिक मन्तब्य दिए । उनले प्रधानमन्त्री ओलीको भ्रमण पनि सद्भावपूर्ण भएको र दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको समेत बताए ।

रामशरणले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा बरिष्ठ मन्त्रीले स्वागत गर्नु, पन्तनगरमा विद्यावारिधिको उपाधि दिनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान–टु–वान’ भेटवार्ता हुनु नै राम्रो कुरा भएको टिप्पणी समेत गरे ।

त्यसैगरी प्रधानमन्त्री केपी ओलीको भ्रमण व्यक्तिगत सम्वन्ध सुधारमा सीमित भएको कांग्रेस नेता प्रकाशशरण महतको विश्लेषण सार्वजनिक भयो । ‘नेपाल भारत सम्बन्ध प्रचण्ड र देउवा सरकारकै पालामा ट्रयाकमा आइसकेको थियो’ भन्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले भने, ‘दुई देशको सम्वन्ध पहिल्यै राम्रो भइसकेको थियो । ओलीजीले आफ्नो व्यक्तिगत कुराहरुलाई अहिले सल्टाउनु भयो होला ।’
जनमासनले ओली भ्रमणको तारिफ गरिरहेको छ । सामाजिक सञ्जालमा ब्यक्त विचार नियाल्दा यस्तो निश्कर्ष निकाल्न सकिन्छ । तर यस्तो वहावको बिरुद्ध किन गए प्रकाशशरण ? र, विपक्षी नेताको लोकप्रियतामा किन प्रसंसा थपे रामशरणले ? यी दुवै प्रश्न कांग्रेस बृत्तमा ताजा छन् ।

दाजु भाइको समान पक्ष
नुवाकोटलाई जग वनाएर राजनीति गर्ने रामशरण र प्रकाशशरण दुवै पिएचडी होल्डर हुन् । यी दुवै नेता कांग्रेसको रााष्ट्रिय राजनीतिमा निकै समयदेखि पहुच राखिराख्न सफल छन् । दुवैजना पटक–पटक मन्त्री भएका छन् । कोइराला सभापतिहरुका प्रिय थिए रामशरण भने प्रकाशशरण वर्तमान सभापति शेरबहादुर देउवाका प्रिय पात्र हुन् ।

अमिल्दो पक्ष
पार्टीमा जहिल्यै पनि यी दुई दाजुभाइ भिन्न किनारामा उभिदै आएका छन् । जस्तो–एउटा संस्थापन पक्षमा हुँदा अर्को विपक्षमा । रामशरण गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालाका प्रिय भएर पार्टी र सरकारमा सक्रिय भइरहँदा प्रकाशशरण भने देउवा क्याम्पमा बसेर संस्थापनसँग भिड्दै रहे । उनीहरुको गुट र सोच सधैं फरक रहेको छ । पार्टी भित्रको आन्तरिक चुनावमा समेत उनीहरु पक्ष र विपक्ष हुने गरेका छन् ।

रामशरण अर्थ विज्ञ हुन् । उनलाई सफल अर्थमन्त्रीको पगरी झुन्ड्याई दिनेहरु पनि छन् । उनले अन्तर्राष्ट्रिय अवार्ड समेत सफल अर्थमन्त्री भए वापत नै पाएका छन् । उनले पछिल्लो पटक प्रधानमन्त्रीले गरेको भारत भ्रमणका सम्बन्धमा दिएको अभिब्यक्तिलाई परिपक्व मानिएको छ । तर, प्रकाशशरणको भने विज्ञता देखिन्न । उनी परराष्ट्रमन्त्री हुँदा विवादीत बने । चाइनालाई इग्नोर गरेको आरोप खेपे । उनमा आफूले सम्हालेको मन्त्रालयको विज्ञता देखिएन । प्रधानमन्त्री ओली भ्रमणका सम्बन्धमा पनि उनले गरेको समीक्षालाई पूर्वाग्रही र हलुका भएको टिप्पणी गर्नेहरु धेरै छन् ।

Logo