देउवाको मनोनयन अस्वीकार गर्दै राष्ट्रपति

देउवाको मनोनयन अस्वीकार गर्दै राष्ट्रपति

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा मनोनयनका लागि पठाएका तीनै जनाको नाम राष्ट्रपतिले अस्वीकार गर्ने भएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाले मनोनयनका लागि सिफारिस गरेका गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको नाम अस्वीकार गर्ने भएकी हुन् । ‘नयाँ जनादेश आइसकेकाले पुरानो सरकारले गरेको सिफारिस स्वीकार नगर्ने मुडमा राष्ट्रपति हुनुहुन्छ,’ शीतल निवास स्रोतले भन्यो ।

राष्ट्रिय सभामा मनोनयनका लागि तीनजनाको नाम सरकारले टुंग्याएको भोलिपल्ट गत शनिबार राष्ट्रपति कार्यालयमा त्यसको सूची बुझाइएको थियो । शनिबार सरकारी छुट्टी भएकाले सुरक्षाकर्मीले बुझेको पत्र आइतबारमात्रै दर्ता भएको थियो । सरकारी सिफारिस अनुसारको मनोनयन छिट्टै अनुमोदन नहुने छनक पनि राष्ट्रपति विद्यादेवी भण्डारीका निकटवर्तीहरूले दिएका छन् ।

एमाले सचिव प्रदीप ज्ञवालीले देउवाले पटक पटक नयाँ जनादेशको अपमान गरेको बताउँदै तीन जनाको सिफारिस कार्यान्वयन हुन नसक्ने बताए ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने राष्ट्रिय सभाको लागि सरकारले मनोनित गरेका तीन जनाको नाम राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्ने विश्वास व्यक्त गरे । उनले वर्तमान सरकार हिजो गठन हुँदा जुन अवस्थामा थियो अहिले पनि त्यही हैसियतमा रहेको जिकिर गरे । उनले भने, ‘राजीनामा नदिएसम्म कामचलाउ हुँदैन, प्रधानमन्त्रीले राजिनामा दिएपछिमात्रै कामचलाउ हुन्छ।’

बस्नेतले प्रधानमन्त्रीले गरेका सिफारिसहरुलाई राष्ट्रपतिले अस्विकार गर्नै नमिल्ने जिकिर गरे । उनले भने, ‘यदि प्रधानमन्त्रीले संविधानसम्म्त रुपमा गरेका सिफारिसहरुलाई राष्ट्रपतिले अस्वीकार गर्नुभयो भने यो त क्याबिनेट प्रणालीमाथिको प्रश्न हो नि, मलाई विश्वास छ, राष्ट्रपतिले नाम अनुमोदन गर्नुहुन्छ।’
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले भने सिफारिस तत्काल कार्यान्वयन नहुने बताए । उनले भने, ‘कानुनी परामर्शपछि राष्ट्रपतिले कदम चाल्नुहुन्छ ।’

को हुन् सिफारिस भएकाहरु ?
गोपाल बस्नेत झापाका पुारना कांग्रेस नेता हुन्। उनी कांग्रेस झापाका पूर्वसचिव हुन्। कांग्रेस विभाजित हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका झापा जिल्ला सभापति बनेका थिए।
चाँदनी जोशी महिला विकासका लागि संयुक्त राष्ट्र संघीय कोष (युएनआइएफइएम) को दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन्। ७२ वर्षीया जोशीले पद्यकन्या क्याम्पसमा पनि प्राध्यापन गरेकी थिइन्। जोशी देउवा पत्नी आरजुकी सहयात्री पनि हुन् ।

कृष्णप्रसाद पौडल कांग्रेस केन्ऽीय कार्यालयका सचिव हुन्। स्याङ्जाका पौडेल यसअघि नेपाल शिक्षक संघ काठमाडौंका अध्यक्ष हुन् । उनी २ वर्षअघि केन्द्रीय कार्यालयका मुख्य सचिवमा नियुक्त भएका थिए ।

देउवाले एकलौटी मनोनयन सिफारिस गरेको भन्दै कांग्रेसभित्रै असन्तुष्टि चुलिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा सल्लाह नभई आफूखुसी सिफारिस गरेको भन्दै देउवाको आलोचना गरे ।

Logo