देउवाको ‘रिजाइन मूड’ भित्रको रहस्य

देउवाको ‘रिजाइन मूड’ भित्रको रहस्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गरेका छन् ।

राष्ट्रिय सभाको मत परिणाम सार्वजनिक भएपछि वा समानुपातिकसहितको सबै मतपरिणाम सार्वजनिक भएपछि राजीनामा दिने द्विविधा भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केही दिनमै सरकार छाड्ने बताए । ‘प्रधानमन्त्रीज्यूले अब सत्ता हस्तान्तरण गर्नुहुन्छ,’ शर्माले भने, ‘अबका केही दिनमै कुन विधिबाट सत्ता हस्तान्तरण गर्ने निक्र्यौल हुन्छ ।’

चुनावमा पराजित भएपछि नैतिक जिम्मेवारी नलिएको, राजीनामा नदिएको र आफूखुसी निर्णय गरेको भन्दै देउवाको पार्टीभित्रैबाट आलोचना हुदै आएको छ । चन्द्र भण्डारी, गगन थापालगायतका युवा नेताहरुले देउवालाई भेटेरै राजीनामा दिए थोरै भए पनि साख जोगिने भन्दै दबाब दिइसकेका छन् । शुक्रबारको केन्द्रीय समितिको बैठकमा राजीनामालाई एजेन्डाको विषय बनाउनु पर्ने राय केन्द्रीय सदस्य धनराज गुरुङले दिएका छन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुन ७ गते नयाँ सरकार बन्ने वातावरण तयार गर्दै आफूहरु बिदा हुने जानकारी दिए । ‘फागुन ७ गतेको प्रजातन्त्र दिवस मनाएर हामी बिदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ,’ उनले भने ।

मन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको भन्दै अब सरकार छाड्ने वातावरण बनेको बताए । उनले एक दुई दिनभित्रै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा आउने पनि जनाए ।

तर देउवाको ध्यान अर्को पनि

देउवाले राजीनामाको तयारी गरे पनि राष्ट्रिय सभामा सिफारिस गर्ने तीन जनाको नाम आफूले नै छान्ने पाउनुपर्ने जिकिर कायमै छ । सरकारले आगामी मन्त्रिपरिषदको बैठकबाट राष्ट्रिय सभा सदस्यको लागि तीन जनाको नाम सिफारिस गर्नेबारे छलफलको तयारी गरेको छ । ‘अब बस्ने क्याबिनेट बैठकमा यो बारेमा हामी छलफल गर्छौं,’ कानुन मन्त्री थापा भन्छन्, ‘तीन जनाको नाम सिफारिस गर्दा साझा व्यक्तित्व चयन गर्छौ, योग्यता पुगेकाहरुलाई नै हामी सिफारिस गर्छौं, सभाको वजन र गरिमालाई धान्न सक्ने व्यक्तित्वहरु चयन गर्छौ ं।’

एमालेले भने राष्ट्रिय सभामा तीन जनाको सिफारिस नया“ सरकाले गर्न पाउनुपर्ने तर्क राख्दै आएको छ । राष्ट्रिय सभामा देउवा सरकारले नै नाम पठाए राष्ट्रपतिले ‘होल्ड’ गर्ने निश्चितप्रायः छ ।

फेरि देउवा–ओली टकराव हुने

प्रतिनिधिसभाको निर्वाचनपछि देउवा र ओलीबीच टकरावको अवस्था लगातार सिर्जना भयो । ओली चाहन्थे– प्रतिनिधिसभाको निर्वाचनपछि देउवाले सरकार छाडून् । तर देउवा टसको मस भएनन् । बरु, नियुक्ति र केही लोकप्रिय निर्णयहरु गर्नतिर लागे ।

चुनावपछि देउवाले दीर्घरोगीलाई मासिक भत्तादेखि बृद्धभत्ता पाउने उमेर नै झारिदिए । दीर्घरोगीलाई मासिक भत्ताको निर्णयमा स्वागत भएपछि उमेर घटाएकोमा ब्यापक आलोचना भयो ।

प्रदेश प्रमुखको नियुक्तिदेखि राष्ट्रिय सभा निर्वाचन ऐनसम्म देउवाले पेलेरै छाडे । ती सबै निर्णय रोक्दा सत्तारोहण ढिला हुने भयले ओलीले ‘मौन सहमति’ दिएका थिए । निर्वाचन आयोग पनि देउवाका लागि दाहिना भएपछि ओली ब्याक हट्नु परेको थियो ।

राष्ट्रिय सभामा बा“की तीन सिट मनोनयनमा फेरि देउवा र ओलीबीच टकराव हुने निश्चित छ । त्यस विवादले फेरि सत्तारोहण ढिला गर्छ या सहज बनाउँछ भन्ने चाँही हेर्न बाँकी छ ।

Logo