भिडन्तमा एमालेका दुई युवा नेता

भिडन्तमा एमालेका दुई युवा नेता

केन्द्रबिन्दु
0
Shares

चुनावमा पराजय भएको कांग्रेस नेतृत्व हस्तान्तरणको माग कम छ, जति एमालेमा छ । एमाले सचिव योगेश भट्टराईले एमाले र माओवादी केन्द्रका पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिश्राम लिंदा उचित हुने धारणा राखेसंगै विवादमा छन् ।

भट्टराईको भनाइ मुखबाट खस्न नपाउँदै अर्का नेता विष्णु रिमालले प्रतिवाद गरे । उनले भट्टराईले ओलीकै बिरासतमा जितेकोमात्र भनेनन्, ‘माकाफुईं’ अर्थात् बाँदरको फुर्तीसम्म भन्न भ्याए ।

आइतबार पेशागत विशेष जिल्ला कमिटीले गरेको कार्यक्रममा सचिव भट्टराईले पार्टी एकतापछि ओली र प्रचण्डलाई एकै पटक राजनीतिबाट सन्यास लिन सुझाव दिएका थिए ।

ओली र प्रचण्डले पार्टी एकता गरेपछि त्योभन्दा ठूलो काम गर्ने ठाउँ नभएकाले सन्यास लिएर सम्मानित भएर बस्नुपर्ने सचिव भट्टराईको विश्लेषण थियो ।

भट्टराईको धारणाप्रति रिमालले ट्वीटरमार्फत असहमति जनाए । सोमबार रिमालले ट्वीटमा ओलीकै सहयोगले चुनाव जित्नेले गुन बिर्सिएको भन्दै आपत्ति जनाएका थिए ।

रिमालको जवाफलाई भट्टराईले ट्वीटबाट प्रतिवाद गर्दै भने, ‘करिब ३५ वर्ष भयो बिष्णु रिमालसँग संगत भएको, उहाँ एक सालिन र मिलनसार लाग्छ । तर, मेरा बारेमा उहाँले प्रयोग गर्नुभएको टिप्पणीले कुन विष्णु रिमाल हो छुट्याउन गाहे भयो । मप्रति नकारात्मक टिप्पणी गरे पनि उहाँप्रति सधैं सदभाव रहिरहने छ ।’

भट्टराई, रिमालसँगै उपमहासचिव घनश्याम भूसाल पनि विवादमा तानिएपछि सबै विषय ओझेलमा परेको छ ।

अबको सरकारमा युवा नेताहरुबीच एकअर्कोलाई रोक्ने विवाद सतहमा आएको विश्लेषण छ । योगेशलाइ रोक्न ओली निकट केही युवा नेताहरु सक्रिय छन् । दुई वर्षअघिको ओली सरकारमा राजनीतिक सल्लाहकार रहेका रिमाल र उद्योगमन्त्री भएका महेश बस्नेतलगायतका नेताहरु योगेशलाई रोक्न चाहन्छन् तर, आरोप अस्वीकार गर्छन् ।

योगेश भट्टराईले भने ओलीसँग आफ्नो सम्बन्ध बिगार्ने तत्त्वहरु सक्रिय रहेको प्रतिक्रिया दिएका छन् । ‘अध्यक्षसँगको सम्बन्ध बिगारिदिने, उत्तेजित बनाउने प्रयत्न भएको छ,’ सञ्चारकर्मीसित भट्टराईले भने, ‘उहाँले बुझ्नुभएको छ, हामी दुवै एकअर्काप्रति विश्वासका साथ काम गरेका छौं ।’ नेताहरुसँगै ‘समाचारका दलालहरु’ पनि नेताबीच भिडाउन सक्रिय रहेको योगेशले आरोप लगाएका छन् ।

Logo