नयाँ सरकार चैतको पहिलो साता मात्र (यस्तो छ प्रकृया )

नयाँ सरकार चैतको पहिलो साता मात्र (यस्तो छ प्रकृया )

केन्द्रबिन्दु
0
Shares

– प्रेम कुमार श्रेष्ठ 

प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सकिएको एक महिना हुँदै गर्दा अझ नयाँ सरकार बन्ने छाटकाट देखिएको छैन ।

निर्वाचन आयोगले समानुपातिकमा निर्वाचित भएका संसादहरुको नामावली प्रकाशित गरेको छैन । आयोगले समानुपातिकतर्फका उम्मेदवारको सूची सच्याउन राजनीतिक दललाई गत मंगलबार पत्राचार गरेको थियो ।

संविधानको धारा ८४ उपधारा ८ बमोजिम सबै दलबाट प्रतिनिधित्व हुने गरी ३३ प्रतिशत महिला मनोनित हुनुपर्ने व्यवस्था रहेको छ । राजनीतिक दलहरुले समावेशी सिद्धान्तअनुसार दलित, आदिवासी, खस, मुस्लिम, मधेसी, थारुलगायबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गराउनु पर्दछ ।

तर, कुनै पनि दलबाट ३३ प्रतिशत महिला मनोनित नपुगेको र दलहरुले समावेशी सिद्धान्तअनुसार उम्मेदवार दर्ताको क्रम मिचेको भन्दै निर्वाचन आयोग समानुपातिक सूची सच्याउन राजनीतिक दललाई प्रत्राचार गरेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले राजनीतिक दलहरुलाई मंगलबार समानुपातिक उम्मेदवारको सूची सच्याउने म्याद पुस २० गतेसम्म तोकेको थियो । आयुक्त दिनेश कुमार घिमिरेले भने, ‘हामीले दलहरुलाई समानुपातिक उम्मेदवारको समावेशी प्रतिनिधि सच्याउन दिएका छौँ, दलहरुले आजसम्म सच्याएर निर्वाचन आयोगमा बुझाउने म्याद रहेको छ ।’

राष्ट्रिय सभा निर्वाचन माघमा
नेपालको संविधान धारा ९२ मा राष्ट्रिय सभा निर्वाचनका बारेमा व्याख्या गरिएको छ । स्थानीय तथा प्रदेश सभामा जितेका प्रतिनिधिहरुले मतदान गर्न पाउने चुनावी ब्यावस्था छ । यसका बारेमा निर्वाचन आयोगले माघ २५ गतेलाई निर्वाचन मिति राख्ने बारेमा सरकारसँग छलफल गर्ने आयोगले जानकारी दिएको छ । संविधानमा नयाँ सरकार गठन गर्नुपूर्व राष्ट्रिय सभा सदस्य निर्वाचन हुनुपर्ने उल्लेख गरेको छ ।

संविधानको धारा ८६ उपधारा २ बमोजिम राष्ट्रिय सभामा ५९ सदस्य चयन हुनुपर्ने छ । जसमा प्रत्येक प्रदेशबाट ८ जना चुनिनु पर्नेछ । चुनिएका मध्ये तीन जना महिला, एक जना दलित र एक जना अपाङ् वा अल्पसंख्या हुनुपर्ने छ । यसरी चुनिएको ५६ जनासहित ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गरी राष्ट्रिय सभामा ५९ जना सदस्य रहनेछन् ।

कहिले हुन्छ राष्ट्रिय सभाको मत सार्वजनिक ?
राष्ट्रिय सभाको चुनाव निर्वाचन आयोग र सरकारको छलफलमा सहमति भए माघ २५ गते हुनेछ । राष्ट्रिय सभाको निर्वाचनमा थोरै मत खस्ने भएकाले २५ गते बेलुकासम्ममा मत परिणाम आउने आयुक्त दिनेश कुमार घिमिरेले बताए । उनले भने, ‘गत चुनावमा जस्तो सर्वसाधारणले मतदान गर्न नपर्ने हुनाले राष्ट्रिय सभाको परिणाम छिटो सार्वजनिक हुनेछ ।’

आयुक्त घिमिरेले भनेको जस्तै २५ गते बेलुकै मत परिणाम आउने भनिए पनि राष्ट्रिय सभाको चुनाव भएको दुई तीन दिनभित्र मात्र मत परिणाम सार्वजनिक हुनेछ । यसो हुँदा राष्ट्रिय सभाको परिणाम माघ महिनाको अन्तिममा मात्र बाहिर आउनेछ ।

प्रतिनिधि सभाको मत सार्वजनिक प्रकृया
राष्ट्रिय सभा गठन भएपछि मात्र प्रतिनिधि सभाको समानुपातिकतर्फ कुन दलले कति सिट पाए भन्ने बारेमा आयोगले मत परिणाम सार्वजनिक गर्ने ढोका खुल्ने छ । त्यसमा राजनीतिक दलले संविधानको धारा ८४ उपधारा २ बमोजिम समानुपातिक सदस्य चयन भए नभएको जाँच गर्दछ । यदि मिलेको छैन भने राजनीतिक दललाई कम्तिमा ६ र ७ दिनको समय दिइनेछ । त्यसपछि दलहरुले बुझाएको सूची आयोगले हेरेर प्रतिनिधि सभाको पूर्ण परिणाम सार्वजनिक गर्नेछ ।

यसरी, प्रतिनिधि सभाको मत परिणाम सार्वजनिक गर्ने मिति फागुनको दोस्रो हप्तासम्म पुग्ने निश्चित भएको छ । राजनीतिक दलहरुले पठाएको समानुपातिक सदस्यको नामावली संविधानमा ब्यवस्था भएको अनुरुप सच्याएर सार्वजनिक गर्दा फागुनको दोस्रो हप्तामा पुग्ने भएको हो ।

प्रतिनिधि सभाको नतिजा सार्वजनिक
राष्ट्रिय सभाको मत परिणामपछि मात्र प्रतिनिधि सभाको नजिता सार्वजनिक हुने भएको छ । प्रदेश सभाको चुनावपछि राष्ट्रिय सभाको चुनाव हुनुपर्ने भए पनि प्रदेश तथा प्रतिनिधिको चुनावसँगै भए थियो । तर, संविधानमा व्याख्या भएअनुसार नै प्रतिनिधि सभाको नतिजा भने राष्ट्रिय सभाको मतपरिणामपछि सार्वजनिक गर्ने भएको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसके पनि समानुपातिकतर्फको मत परिणाम सार्वजनिक भएको छैन । राष्ट्रिय सभाको चुनाव माघ २५ गते हुने सम्भावना छ । सोही दिन चुनाव भएको खण्डमा मत परिणाम तीन दिन पछि अर्थात माघ २८ मा आउँछ । राष्ट्रिय सभाको मत परिणामसँगै राष्ट्रिय सभाको गठनपछि मात्र प्रतिनिधि सभाको मत परिणाम सार्वजनिक हुने बाटो खुल्छ । यसरी प्रतिनिधि सभाको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भए पनि समानुपातिकको मत सार्वजनिक फागुनको दास्रो हप्तामा पुग्ने भएको हो ।

सरकार गठन प्रक्रिया
संविधानको धारा ७६ उपधारा १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । प्रधानमन्त्रीकै अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ । तर, कुनै पनि दलको बहुमत नआएमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुइभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

यसरी नियुक्त भएको प्रधानमन्त्रीले सदनमा ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ । विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिबाट पुनः नयाँ प्रक्रिया सुरु गर्न सक्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ७६ उपधारा ५ अनुसार गठित प्रधानमन्त्रीले पनि विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेसम्मको अधिकार राष्ट्रपतिलाई रहेको छ ।

नयाँ सरकार कहिले ?
संविधानको धारा ७६ उपधारा १ बमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने छ । तर, निर्वाचन आयोगले माघ २५ गते राष्ट्रिय सभाको निर्वाचनसँगै राष्ट्रिय सभाको गठन भएपछि मात्र प्रतिनिधि सभाको समानुपातिकको मत मरिणाम सार्वजनिक हुने बाटो खुल्ने छ ।

राष्ट्रिय सभाको गठनपछि प्रतिनिधि सभाको मत परिणाम सार्वजनिक फागुनको दोस्रो सातामा हुने देखिन्छ । सरकारमा जाने प्रधानमन्त्री पनि प्रतिनिधि सभाको बहुमत प्राप्त सदस्य हुने हुनाले प्रतिनिधि सभाको परिणाम सार्वजनिकपछि मात्र सरकार गठन हुने ढोका खुल्दछ ।
संविधानको धारा ७६ उपधारा ३ बमोजिम प्रतिनिधि सभा सदस्यको मत परिणाम सार्वजनिक भएको मितिले तीस दिनभित्र प्रधानमन्त्री चयन प्रकृय हुने छ । प्रधानमन्त्री हुने प्रतिनिधि सभा सदस्यको बहुमत पुगेपछि राष्ट्रिय सभामार्फत राष्ट्रपति समक्ष पेस गरेसँगै नयाँ सरकार बन्ने आधार हुन पुग्दछ ।

यसरी निर्वाचन, राष्ट्रिय सभाको गठन, प्रतिनिधि सभाको मत परिणाम सार्वजनिक, प्रधानमन्त्री बन्ने प्रतिनिधि सभा सदस्यको बहुमत र राष्ट्रपति समक्ष पेस गरी नयाँ सरकार बन्ने प्रक्रिया रहेको छ । यी सबै प्रक्रिया पूरा गर्दा अबको नयाँ सरकार चैत्र महिनाको पहिलो हप्ताभन्दा अगाडि बन्ने आधार देखिदैन ।

 

Logo