नेटुवा जातिको एउटा माग तीस बर्ष बित्यो तर पूरा भएन

नेटुवा जातिको एउटा माग तीस बर्ष बित्यो तर पूरा भएन

केन्द्रबिन्दु
0
Shares

जितपुर, १५ पुस । कपिलवस्तुका नेटुवा जातिले आफूहरुलाई अल्पसंख्यक जातिको सूचीमा राख्न सरकारसँग माग गरेका छन् ।

शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा बसोबास गर्दै आएका नेटुवा जातिले तीन दशकदेखि यस्तो माग राख्दै आएका हुन् । अहिलेसम्म बनेका सबै सरकारसँग माग राख्दै आएको तर सुनुवाइ नभएको उनीहरुले गुनासो गरेका छन् । 

प्रगतिनगर सुकुम्बासी बस्तीमा १४ घरमा करिब २०० बढी नटुवा जातिको बसोबास छ । सुकुम्बासी बस्तीमा बस्दै आएका उनीहरुको नागरिकताको प्रमाणपत्रबाहेक अहिलेसम्म केही पनि छैन । रात दिन गाँस, बाँस, कपासको चिन्ता छ । आफूहरुभन्दा माथिल्लो जातको रुपमा रहेको पथ्थरकट्टालाई सूचीकृतमा राखेर राज्यले सुविधा दिए पनि आफूहरु अभैm अल्पसंख्यक जातिको सूचीमा पर्न नसकेको उनीहरुले गुनासो गरेका छन् । 

शिक्षा, स्वास्थ्य, रोजगारबाट समेत वञ्चित भएका उनीहरुको दैनिकी कस्टकर छ । दिनभरि भिक्षा मागेर खाने दैनिकी बनेको छ । उनीहरु सर्प नचाएर पाएको पैसा तथा अन्नले गुजारा चलाउँदै आएका छन् । थर नटुवा भएको नागरिकता बनाए पनि आफूहरु पथ्थरकट्टाभन्दा तल्लो जाति भएको महेन्द्र नटुवाले बताए । वर्षौंदेखि यही माग राखेर आफूहरुले नेतालाई भोट दिएर जिताउँदै आए पनि मुखसम्म देखाउन नआएको अर्का स्थानीय मनोज नेटुवाले दुखेसो पोख्नुभयो । 
उनीहरुले प्रजिअमार्फत धेरै पटक ज्ञापनपत्रसमेत सरकारलाई बुझाइसकेका छन् । तर माग पूरा हुन् सकेको छैन । अहिले बन्न लागेको बामपन्थी सरकारले हाम्रो माग पूरा गर्छ की भन्ने आश छ महेन्द्रले भने । 

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कपिलवस्तुमा ३०० को हाराहारीमा नटुवा जातिको बसोबास रहेको छ । शुद्धोधन गाउँपालिकाको प्रगतिनगर, वसन्तपुर र मायादेवी गाउँपालिकाको अभिरावलगायतका स्थानमा नेटुवा जाति बस्ने गर्छन् । अल्पसंख्यक जातिमा सूचीकृत जातिका प्रत्येक व्यक्तिले मासिक रु दुई हजार सामाजिक सुरक्षा भत्ता बुझ्ने गर्छन् । रासस

Logo