माघ पहिलो साताभित्र नयाँ सरकार – सचिव ज्ञवाली

माघ पहिलो साताभित्र नयाँ सरकार – सचिव ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

नगरकोट, १३ पुस (रासस) एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । 

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सो अबधिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको हो । 

एमाले र माओवादीबीच बृहत् छलफल र बहस भइरहेका कारण सरकार गठनलगत्तै पार्टी एकीकरण हुने चर्चा गर्दै सचिव ज्ञवालीले पार्टी एकीकरणमा कुनै शंका नभएको र अब बन्ने सरकार पनि स्थायी सरकारका रुपमा रहने बताउनुभयो । 

अहिलेको कामचलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्तिहरु गैरकानूनी र नैतिकता विपरीत रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नयाँ सरकारलाई कामचलाउ सरकारले अहिले गरेका निर्णय मान्य हुँदैनन् ।” 

सचिव ज्ञवालीले अहिले सरकारमा जाने टोलीमा क्षमता र योग्यताका आधारमा राम्रा व्यक्ति जाँदैछन् तर तिनले जनचाहनाअनुसार काम गर्न नसके हेरफेर गर्न सकिने पनि बताउनुभयो । 
राष्ट्रियसभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणीकरण गर्नुपर्ने बाध्यता नरहेको र सरकार गठन तथा अध्यादेश फरक पाटो भएकाले अध्यादेश प्रमाणीकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने उहाँको भनाइ थियो । 

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिंदै सचिव ज्ञवालीले समग्र भूगोल, जनसंख्या र जनभावनाअनुसार प्रदेश राजधानी प्रदेशसभाले नै तोक्नुपर्ने बताउनुभयो । । 

Logo