नेपालमा ‘र’को साँठगाँठ बढ्यो, के होला वाम गठबन्धनको भविष्य ?

नेपालमा ‘र’को साँठगाँठ बढ्यो, के होला वाम गठबन्धनको भविष्य ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि २ कित्तामा विभाजन भएका नेपालको राजनीतिमा प्रत्यक्ष भारतको प्रभाव नदेखिए पनि ‘र’ले भने आफ्नो सक्रियता बढाएको छ ।

नेपालको राजनीतिक भविष्य र नेतृत्व परिवर्तनमा प्रत्यक्ष प्रभाव जमाउने भारतले फेरि चुनवापछिको वाम गठबन्धन र अब बन्ने सरकारतिर निशाना तेर्साएको छ ।

प्राप्त सूचनाअनुसार एक साताअघि नेपाल आएका ‘र’ प्रमुख अनिल धसमानाले राष्ट्रिय मान्यता पाएका पाँच दलका शीर्ष नेताहरुसँग गोप्य भेट गरेका थिए ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव पुरी दिल्ली पुगेकै दिन अनिल नेपाल छिरेका थिए । उनले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारी निवास बालुवाटारमा तीन पटक भेट गरिसकेका छन् । गत बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवासमा भेट गरेका छन् ।

ओलीपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेको स्रोतले बतायो ।

गठबन्धनको भविष्य ?

पार्टी एकता गर्ने कसम खाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रभित्र सरकार गठन र पार्टीको नेतृत्वका विषयमा फरक  आवाजहरु उठ्न थालेकाे छ। विशेष गरी दुवै पार्टीका दोस्रो तहका शीर्ष नेताहरुले यस्ता विवादास्पद अभिव्यक्ति दिइरहेका छन् ।

यसरी दोस्रो र तेस्रो तहका नेताहरुले पार्टीभित्र आफ्नो प्रभाव जमाउन खोज्नु र छिमेकी देशका गुप्तचरहरुको लगातारको भेटघाटले एमाले र माओवादीको एकतामा प्रश्च चिह्न देखिएको छ ।

केही दिनअघि मात्र शीर्ष दलका नेतालाई भेटिसकेपछि ‘र’ प्रमुखले एमाले र मधेस केन्द्रीत दलका नेताहरुसँग सामुहिक र छुट्टाछुट्टै भेट गरिरहेका छन् । स्रोतका अनुसार उनले एमाले र माओवादी केन्द्रका दोस्रो र तेस्रो तहका नेताहरुसँग पनि एक्ला एक्लै भेटघाँट गरेका थिए ।

भेटको उदेश्य एमाले र माओवादीबीच एकता हुन नदिने नै रहेको केही नेताहरु बताउन थालेका छन् ।

एमालेले मधेसी दललाई साथमा लिन सक्छ ?

‘र’को नेपाल प्रवेश र एमाले नेताहरुको सरकार गठनको अड्डी तथा प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै व्यक्ति हुनुपर्छ भन्ने आशयले पनि एमाले र माओवादी एकतामा शंका उब्जिएको छ ।

एमालेभित्रैका केही नेताले सरकारमा माओवादीलाई नभई मधेस केन्द्रीत दललाई सहभागी गराउन ‘र’ले भूमिका खेलिरहेको छ । तीन दिनअघि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष ओलीबीच भेटघाट भएको थियो । भेटको साइत पनि ‘र’ प्रमुखसँग रहेका एमालेका नेताहरुले  बताएको छ ।

मधेस केन्द्रीत दललाई सरकारमा ल्याउने र माओवादीलाई सरकार बाहिर राखे गठबन्धन पूर्ण रुपमा टुट्ने उनीहरुको विश्वास छ । रअ प्रमुखको सल्लाहमै एमालेका केही नेताले फोरमलाई सरकारमा ल्याउने कोशिस गरिरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थाहा नै नदिन केही नेताले फोरमलाई सरकारमा आउन आग्रह गरेका थिए । फोरमलाई सरकारमा ल्याउन र माओवादीलाई बाहिर राख्न एमाले केही नेताले चाल चालेको आशय माओवादी केन्द्रका अध्यक्ष दाहालले आइतवार चितवनमा सार्वजनिक गरेका थिए ।

प्रचण्डलाई प्रधानमन्त्रीको अफर

केही दिनअघि काँग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँच वर्षसम्म प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो ।

काँग्रेस निकट स्रोत भन्छ, ‘र’ प्रमुखको सल्लाहमा काँग्रेस सभापति देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको हो ।

‘र’का प्रमुख अनिलसँग प्रचण्डले पाँच वर्ष प्रधानमन्त्री बन्ने अवसर आएको बताए । तर प्रचण्डले देउवा र रअका प्रमुखकाे प्रस्तावलाई अस्वीकार गरिसकेका छन् ।

एमाले र माओवादीबीचको एकता टुटाउन काँग्रेस र भारतीय ‘र’ प्रमुख लागे पनि दुई अध्यक्ष भने पार्टी एकताका पक्षमा दृढ छन् । तर बेलाबेला नेताहरुले दिने अभिव्यक्तिहरु एमाले माओवादीको एकतामा शंका देखिएको छ । 

Logo