हेभीवेटहरुलाई सिँचाइ मन्त्री गौतमको दनक !

हेभीवेटहरुलाई सिँचाइ मन्त्री गौतमको दनक !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ७ पुस । सिँचाइ मन्त्री सञ्जय गौतमले निर्वाचनमा आफ्नो क्षेत्रका जनताले कामको हेभीवेटलाई विश्वास गरेको बताएका छन् । “मलाई बर्दियाको माटोले पत्याउँछ भन्नेमा शुरुदेखि नै विश्वास थियो, नामको हेभीवेटले हुँदैन, म त कामको हेभीवेट हुँ, मलाई पनि पार्टीले उचित मूल्यांकन गर्छ ।” मन्त्री गौतमले भने ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै संघीय संसद्ले पूर्णता पाउने भएकाले यसलाई राष्ट्रपतिले तत्काल स्वीकृत गर्नुपर्नेमा जोड दिए । मन्त्री गौतमले समानुपातिक–समावेशी सिद्धान्तका आधारमा एकल संक्रमणीय व्यवस्थाअनुसार अध्यादेश ल्याइएको बताउँदै राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउने भएकाले उनको भूमिकामा टिप्पणी गर्नु अमर्यादित हुने विचार व्यक्त गरे ।

काँग्रेस र एमालेबीच राजनीतिक दूरी बढिरहेको अहिलेको अवस्थामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी भूमिका खेल्नुपर्छ, उनले भने, विशेषगरी सरकार र दलबीच संवाद सञ्चालन गर्न उनको भूमिका यतिबेला खाँचो छ ।” 

मन्त्री गौतमले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकाले उनीहरुले सरकार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै “अहिलेको जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको छ, हामीले अब त्यहीअनुसारको तयारी गर्नुपर्छ” भने । 

संस्थागतरुपमा काँग्रेस सञ्चालन हुन नसक्दा पराजय भोग्नु परेको छ, उनले भने, अहिलेको परिणामले हामीलाई स्तब्ध बनाएको छ, यसको समीक्षा गर्न तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्छ ।” रासस

Logo