निर्वाचन सम्पन्न भएकामा राष्ट्रपति भण्डारीद्वारा बधाई

निर्वाचन सम्पन्न भएकामा राष्ट्रपति भण्डारीद्वारा बधाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ५ पुस ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनको कोशेढुङ्गाका रुपमा रहेको प्रतिनिधिसभा /प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा सरकार, राजनीतिक दल एवं संवैधानिक निकायलाई बधाई दिएकी छन् ।

वामगठबन्धनमा आवद्ध दुई दल नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) का शीर्ष नेतृत्वसित आज राष्ट्रपति कार्यालय शीतलनिवासमा सम्पन्न भेटमा उनले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकासमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई दिएको जानकारीअनुसार सो अवसरमा राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले जनताको आर्थिक एवं सामाजिक उन्नतिका लागि सहमतिका साथ काम गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

“लोकतन्त्रको मूल्य, मान्यता र परम्परालाई राजनीतिक दलहरुले राम्रोसित बुझ्नु भएको छ । सहमति, सहकार्य र एकताका आधारमा देशमा आर्थिक समृद्धि हासिल हुनेछ” राष्ट्रपति भण्डारीले भनिन् ।

राष्ट्रपति भण्डारीसँगको भेटमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा नेता सुवास नेम्वाङ तथा नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

राष्ट्रपति भण्डारी र उनीहरुका वीचमा राष्ट्रियसभाको निर्वाचनसम्बन्धी आवश्यक ऐनका विषयमा समेत कुराकानी भएको बताइएको छ ।

भेटपछि नेकपा (माओवादी केन्द्र) का नेता श्रेष्ठले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा बधाई दिएको राससलाई जानकारी दिए ।

उनले अगामी दिनमा राजनीतिक दलहरुले सहमति, सहकार्य र एकता गरी अगाडि बढ्ने विश्वास व्यक्त गरे । रासस

Logo