प्रदेश नं ३ : मुख्य मन्त्रीमा केशब स्थापितदेखि राजेन्द्र पाण्डेसम्मको दाबी

प्रदेश नं ३ : मुख्य मन्त्रीमा केशब स्थापितदेखि राजेन्द्र पाण्डेसम्मको दाबी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ २९ मंसिर । वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् । 

प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको हो । मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडाँै महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिएको छ ।  मुख्यमन्त्रीको रुपमा आकांक्षीको रुपमा शाक्य, स्थापितसँगै एमाले पोलिटब्यूरो सदस्यद्वय राजेन्द्र पाण्डे र सानुकुमार श्रेष्ठ, पशुपति चौलागार्इं, अरुण नेपाललगायत देखिएका छन् ।

उपाध्यक्ष शाक्य प्रमुख दाबेदारका रुपमा रहेका छन् । एमाले उपाध्यक्ष शाक्यले पार्टीको प्रदेश प्रमुख भएको नाताले मुख्यमन्त्री आफू नै हुने दाबी गरिन् । ‘‘प्रतिनिधिसभामा नगई मैले मुख्यमन्त्रीको लागि नै प्रदेशसभामा प्रतिनिधित्व गरेको हुँ’ उनले भनिन् –‘‘सबै साथीले पनि मलाई अघि सार्नुभएको छ ।’’ 

प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा गठन हुने संवैधानिक व्यवस्था रहेको छ । पोलिटब्यूरो सदस्य श्रेष्ठ आफू ३ नं प्रदेशको बारेमा जानकार रहेकोले आफू नै मुख्यमन्त्री बन्ने बताए । ‘‘प्रदेश बनाउनका लागि सजिलो र चुनौती दुवै रहेको छ’’ उनले भने–‘‘तर म ती सबैलाई मिलाउँदै प्रदेशलाई नमूना बनाउन सक्दछु ।’’ 

प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटाँैडा तोकिएको छ । काठमाडौँ महानगरका पूर्व प्रमुख स्थापितले आफूले काठमाडौँको विकास गरेको आधारमा मुख्यमन्त्रीको दाबी गरेको बताए । 
‘ 
“मसँग विकास निर्माणको दृष्टिकोण रहेको छ । यदि मुख्यमन्त्री पाए प्रदेश नं ३ लाई चाडै नै विकास गर्ने थिए’’ उनले भने । पार्टीले जिम्मेवारी दिए सफलतापूर्वक मुख्यमन्त्रीको भूमिका निभाउने उनको भनाइ छ । प्रदेश नं ३ मा एमालेले ४२, माओवादी केन्द्रले १५, काँग्रेसले सात तथा नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति नेपालले एक/एक सिट जितेका छन् । 

प्रदेश नं ३ मा काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, दोलखा, रामेछाप, सिन्धुली, रसुवा र नुवाकोट जिल्ला रहेका छन् ।रासस

Logo