समानुपातिकतर्फ ६० जिल्लाको मत गनिसक्दा एमालेलाई एकलाखको अग्रता

समानुपातिकतर्फ ६० जिल्लाको मत गनिसक्दा एमालेलाई एकलाखको अग्रता

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २८ मंसिर । 

गत मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी समानुपातिकतर्फको मतगणना हालसम्म दुई तिहाइ भन्दा बढी भैसकेको छ । यो मतगणना क्रमशः समाप्तितिर अगाडि बढिरहेको बेलासम्म पनि एमालेले आफ्नो अग्रता कायमै राखेको छ । 

यो परिणाम ६० जिल्लाको मतगणना गरिसकेपछिको स्थिति हो ।

समानुपातिकतर्फ खसेको १ करोड ५ लाख ८७ हजार ५२१ मतमध्ये बिहीबार मध्यान्हसम्म ७९ लाख ४९ हजार २ सय ५१ मत गनिसकिएको आयोगले जनाएको छ । यति मत गन्दा एमालेले २७ लाख ९ हजार ९ सय ३३ मत ल्याउँदै अग्रता कायम गरेको हो ।

एमालेपछि दोस्रोमा कांग्रेसको मत छ । उसले २६ लाख २० हजार ६४९ मत पाएको छ । यो परिणाममा एमाले भन्दा कांग्रेस झण्डै एकलाखको अन्तरले पछि छ ।

माओवादी केन्द्र तेस्रोमा छ । उसले हालसम्म १० लाख ८६ हजार ४२५ मत ल्याएको छ । यो मत कांग्रेसको भन्दा झण्डै १६ लाखले कमी हुन आउँछ ।

त्यसैगरी संघीय समाजवादी फोरम नेपालले ३ लाख ८० हजार ७२६ मत ल्याउँदै चौथो स्थान बनाएको छ भने राजपा नेपालले ३ लाख १६ हजार ६६४ मत पाएको छ । अहिलेसम्म विवेकशील र राप्रपाले समानुपातिकमा २ लाख मत कटाउन सकेका छैनन् । विवेकशीलले १ लाख ७८ हजार ७३८ मत ल्याउँदा राप्रपाले १ लाख ७८ हजार ३०८ मत पाएको छ ।

राप्रपा प्रजातान्त्रिकले भने ६४ हजार ८१८ मत मात्रै पाएको छ । नेमकिपाले ५० हजार ५०० र अन्य दलले जम्मा २,९१,६०९ मत ल्याएका छन् ।

आयोगका अनुसार अहिलेसम्म ६० वटा जिल्लाको मत गणना भैसकेको छ । बाँकी १७ वटा जिल्लाको समानुपातिकतर्फको मतगणना जारी रहेको छ ।

Logo