मुख्यमन्त्रीको दौडमा दुई महिला (भिडियो रिपोर्ट)

मुख्यमन्त्रीको दौडमा दुई महिला (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

राजनीतिमा सामान्य चासो राख्नेहरुलाई जानकारी भइसकेको कुरा के हो भने अव चाँडै नै ७ प्रदेशमा ७ सरकार बन्दैछन् । सँगसँगै ७ प्रदेशमा ७ मूख्यमन्त्री पनि बन्दैछन् । तर प्रदेश नं २ मा भने मूख्यमन्त्रीको हकमा नयाँ इतिहास रचिने भएको छ । किनभने त्यहाँ मूख्यमन्त्रीको दौडमा दुई महिला मैदानमा देखिएका छन् ।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी वीचको मधेस गठबन्धनले प्रदेश २ मा प्रत्यक्षतर्फ बहुमत ल्याएको छ । ६४ सिटमध्ये यो गठबन्धनले ३५ सिट जितेको छ । संघीय समाजवादी फोरमले २० र राजपाले १५ सीट प्रत्यक्षमा जितेका छन् ।

प्रदेश २ मा ७३ समानुपातिक सिट छ । प्रत्यक्ष तर्फ ६४ र समानुपातिक ७३ गरी जम्मा १०७ सदस्यीय प्रदेशसभा हुनेछ, प्रदेश नं २ मा । यस हिसावले बहुमतका लागि ५४ सांसद चाहिन्छ ।

प्रत्यक्षमा प्राप्त मत हेर्ने हो भने समानुपातिकमा मधेसी गठबन्धनले नै सवैलाई पछार्ने ज्ञारेन्टी गर्न सकिन्छ । यस्तो ज्ञारेण्टीसँगै मधेस प्रदेशमा को हुँदैछ मूख्यमन्त्री भनेर चर्चा सुरु भएको छ । र, प्रदेशसभामा विजेता नेताहरुका वारेमा जोड घटाउ समेत हुन सुरु भएको छ ।

मधेसी गठबन्धनले चुनावकावेला कस्लाई मूख्यमन्त्री बनाउने भनेर तोकेनन् । शीर्ष नेताहरु प्रतिनिधिसभातिरै आकर्षित हुँदा दोस्रो तहका नेता मात्र प्रदेश सभामा उम्मेदवार बने र जित हासिल गरे । मधेसी गठबन्धनका यिनै ३५ विजेताहरु मध्येवाट एक जना मूख्यमन्त्री बन्ने भएकाले हामीले यी ३५ भित्रवाटै मूख्यमन्त्रीको अनुहार खोज्यौं ।

मूख्यमन्त्रीका रुपमा अहिले ३ जनाको चर्चा सुरु भएको छ । जस्तो लालबाबु राउत । मूख्यमन्त्रीको दौडमा रहेका लालबाबु पर्सा १ को ख बाट प्रदेशसभा सदस्य चुनिएका छन् । दोस्रो संविधानसभामा सभासद रहेका उनी पार्टीका उपाध्यक्ष हुन् । त्यसैगरी अर्का चर्चित ब्यक्ति हुन् जितेन्द्र सोनल । राजपाका सोनल बारा ४ ख बाट प्रदेशसभा सदस्य चुनिएका छन् । पूर्व सभासद रहेका उनीप्रति पार्टी नेतृत्व पनि यसमा सकारात्मक रहेको बताइन्छ ।

त्यसैगरी राजपाका महामन्त्री मनिष सुमन पनि सप्तरी २ को ख बाट प्रदेशसभा सदस्य चुनिएर प्रतिस्पर्धी भएका छन् । तर, पार्टीको माथिल्लो तहमा रहेर काम गरेका लालबाबु र जितेन्द्रलाई मुख्य दावेदारका रुपमा हेरिएको छ ।
माथि उल्लेख गरिएका तीन नेताहरुको तुलनामा भने दुई महिला सांसदको पल्लाभारी हुँदै गएको एकथरी विश्लेषकहरुको मत रहेको छ । यी सांसद हुन् – महोत्तरी क्षेत्र नं. ३ ‘ख’ वाट निर्वाचित रानी कुमारी तिवारी र महोत्तरी क्षेत्र नं.२ ‘ख’ वाट निर्वाचित सुरिता कुमारी साही रहेका छन् । यी दुवै सांसद राजपावाट निर्वाचित भएका हुन् ।

राष्ट्रिय जनता पार्टी नेपालकी वरिष्ठ उपाध्यक्ष रानी कुमारी तिवारी महोत्तरीको क्षेत्र नं. ३ ‘ख’ वाट करिब २ हजार मतान्तरले विजयी भएकी हुन् । त्यसैगरी सुरिता कुमारी साही झण्डै ९ हजार मतान्तरले विजयी सांसद हुन् । उनी डा. बाबुराम भटट्राईको प्रधानमन्त्रित्वमा सुचना तथा संचार राज्यमन्त्री समेत भइसकेकी नेतृ हुन् ।

प्रदेश सभाको निर्वाचनमा ठूला नेताहरुले आँखा लगाएनन् र प्रतिनिधिसभा नै ताके । त्यसकारण सवैजसो प्रदेशमा चुनिने सांसदहरु ‘वी’ ग्रेडका नै छन् । तर मधेसका हकमा ‘वी’ ग्रेड भएपनि पार्टीमा हस्तक्षेपकारी भूमीका निर्वाह गर्न सक्ने नेताहरुले नै प्रदेशसभामा प्रतिनिधित्व गर्ने देखिएको छ ।

मूख्यमन्त्रीको दौडमा देखिएका यी दुई महिला नेतृहरु भने अनुभवी, पढेलेखेका र खुवी भएका हुनाले मधेसले पहिलो मूख्यमन्त्री पाउने संभावना धेरै देखिन्छ । फोरम र राजपाको भागबण्डामा बन्ने सरकारमा ठूलो दल फोरमले यी दुई नेतृलाई राजपाका हुन् भनेर पाखा लगाएन भने मूख्यमन्त्रीमा मधेसले नयाँ इतिहास रच्ने छ । बाँकी भविश्यको गर्भमा ।

Logo