हारेर पनि जीतको अभिव्यक्ति दिनेहरु

हारेर पनि जीतको अभिव्यक्ति दिनेहरु

केन्द्रबिन्दु
0
Shares

– रमेश लम्साल र हरि लामिछाने 

काठमाडौँ, २४ मंसिर (रासस) ः सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरुले भन्ने गर्छन्, “जालझेल गरेर हराइयो । ” नेपालमा राजनीतिक संस्कार र संस्कृतिको विकास हुन सकेको छैन । 

धाँधली, जालझेल तथा अनियमितताका आधारमा निर्वाचन जितेको जनाउँदै हार्नेले जित्नेलाई सत्तोसराप गर्ने संस्कृति हट्न सकेको छैन, जबकि संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिका उम्मेदवारले हार्ने निश्चित भएपछि तुरुन्तै विजयीलाई बधाई दिने चलन छ । 
नेपालमा पनि केही नेता यस्ता देखिएका छन्, जसले राजनीतिक संस्कार मात्रै होइन, आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई आधिकारिक रुपमा विजयी हुनुभन्दा पहिल्यै गएर खादा ओढाई बधाईसमेत दिएको पाइएको छ । झापा क्षेत्र नं १ बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार विश्वप्रकाश शर्माले त्यस्तो राम्रो संस्कार देखाए । 

शर्माले आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका वाम गठबन्धनका उम्मेदवार सुरेन्दकुमार कार्कीलाई विजयी भएकामा बधाई मात्रै दिनुभएन, कार्कीको जित आफ्नो पनि जीत भएकामा खुशी व्यक्त गर्नुभयो । 

मतगणना हुँदै गर्दा धाँधली भएको भन्दै राजधानीमा नै केही उम्मेदवार बहिष्कार गरेर हिँडिरहेका बेला झापामा काँग्रेस उम्मेदवार शर्माले देखाएको राजनीतिक संस्कार तथा सौहार्द अरुका लागि समेत अनुकरणीय बन्न पुगेको छ । शर्माले आफ्ना प्रतिस्पर्धीलाई खादा ओढाउनुभयो, माला लगाइदिनुभयो र सेल्फी पनि खिंच्नुभयो । 

सामाजिक सञ्जालहरुमा भाइरल भएको शर्मा र कार्कीको सेल्फीभित्र उच्च राजनीतिक संस्कार देखिएको छ । निर्वाचन प्रचारप्रसारका समयमा समेत कार्की र शर्माले चर्का कुरा गर्नुभएन । स्वच्छ राजनीतिक प्रतिष्पर्धा गर्छौं भन्दै सार्वजनिक रुपमा नै प्रतिबद्धता जनाउनुभएका दुवै उम्मेदवारले झापामा देखाएको संस्कार अरु उम्मेदवारले पनि सिक्नु जरुरी छ । 

झापा–१ बाट नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएका कार्की ३६ हजार १७३ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार शर्माले ३३ हजार ३१० मत प्राप्त गर्नुभएको छ । 

“हामीले हार्दा पनि जित्दा पनि सहज रुपमा लिन सक्नुपर्छ । नेपाली जनताले फैसलालाई स्वीकार गर्नुपर्छ भन्ने संस्कार सिकाउन नै मैले राम दाइलाई बधाई दिएको हुँ”, शर्माले मतगणनास्थल बाहिर सञ्चारकर्मीलाई बताउनुभयो । 

शर्माको अनुहारमा हारको कुनै चिन्ता थिएन, उहाँ आफू पनि विजयी भएको भन्दै खुशी बाँडिरहनुभएको थियो । आफ्नै बारीको फूलको माला उनेर नवनिर्वाचित सांसद कार्कीलाई पहि¥याइदिनुभयो । 

आफूसँग पराजित काँग्रेस नेता शर्मा पनि विजयी भएको भन्दै माओवादी केन्द्रका नेता तथा नवनिर्वाचित सांसद कार्कीले ‘आजको समाजवाद’ नामक पुस्तक उपहार दिने बताउनुभयो । सांसद कार्कीले भन्नुभयो, “मेरो विजय विश्वप्रकाशको पनि हो, नेपाली जनताको हो ।” 

यस्तै ओखलढुंगामा वाम गठबन्धनका उम्मेदवार यज्ञराज सुनुवार विजयी भएपछि शुभकामना दिएर आफ्नो पनि जीत भएको बताउनेमा काँग्रेस उम्मेदवार रामहरि खतिवडा पनि देखिनुभयो । उहाँले नेकपा(एमाले)का सुनुवारको जित सबैको जित भएको, प्रजातान्त्रिक पद्धतिको जित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “समृद्ध ओखलढुंगा बनाउन यो जीत सार्थक होस् । मैले आफूले जितेको जस्तै महसुस गरिरहेको छु ।” 

असल राजनीतिक संस्कार देखाउनेमा अर्का काँग्रेस नेता चन्द्र भण्डारी पनि देखिनुभएको छ । भण्डारीले आफ्ना प्रतिष्पर्धी एमालेका सचिव प्रदीप ज्ञवालीलाई विजयप्रति शुभकामना दिँदै भन्नुभयो, “प्रजातान्त्रिक पद्धतिमा हारजीत स्वाभाविक हो । एक अर्काले कसैलाई पनि मन दुखाउने काम गर्नुहुँदैन । यसलाई मनन गर्नुहोला । गुल्मीको विकास र समृद्धिमा सहकार्य गरेर अगाडि बढौँ ।” 

भण्डारीले नवनिर्वाचित सांसद ज्ञवालीको जीतलाई आफ्नो पनि विजय भएको जनाउँदै खुशी बाँड्दै हिँड्नुभएको छ । यस्तै डडेल्धुराबाट काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले आफ्ना प्रतिष्पर्धीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । 

उहाँले आफूलाई मतदान गर्ने डडेल्धुरावासीप्रति सदैव कृतज्ञ रहने बताउँदै सुखदुःखमा सधैँ साथ दिने प्रतिज्ञा गर्नुभएको छ । यस्तै गोरखामा वाम गठन्धनका तर्फबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि आफ्ना प्रतिष्पर्धी डा बाबुराम भट्टराईलाई विजयको शुभकामना दिनुभयो । उहाँले सामाजिक सञ्जालमा समेत डा भट्टराईको जीतलाई स्वाभाविक रुपमा लिँदै गोरखालीको फैसलालाई आफूले सहज रुपमा लिएको बताउनुभएको छ । 

विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार रवीन्द्र मिश्रले समेत नवनिर्वाचित सांसद प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना दिएर राजनीतिक संस्कार देखाउनुभएको थियो । 

पाँच पटक अर्थमन्त्री हुनुभएका डा रामशरण महतले निर्वाचनमा पराजय भोगपछि आफ्ना प्रतिष्पर्धी वाम गठबन्धनका उम्मेदवार हितबहादुर तामाङलाई बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले २३ वर्षमा लगातार चार पटकको संसदीय निर्वाचनमा यस पराजयलाई परिवर्तनको जनचाहना भनी टिप्पणी गर्नुभएको छ । यसरी राजनीतिक संस्कार देखाउने उम्मेदवार थोरै मात्र देखिएका छन् जसले आफू हारेर पनि जीतेको महसुस गरेका छन् । 

Logo