विप्लव अब प्रहरी पक्राउको हिट लिस्टमा

विप्लव अब प्रहरी पक्राउको हिट लिस्टमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० मंसिर ।

प्रहरी प्रधान कार्यालय नक्सालले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न हिट लिष्टमा राखेको बताएको छ ।

नेकपाका कार्यकर्ताहरुले ठाउँठाउँमा बम विस्फोट गराएका कारणले नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न हिट लिष्टमा राखेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एंव डिआईजी मनोज न्यौपानेले बताए ।

निर्वाचन गतिविधि शुरु भएदेखि हालसम्म देश भरिको विभिन्न ५० भन्दा बढी स्थानमा बिस्फोट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिस्फोटनमा परी सुरक्षाको लागि खटिएका एक म्यादी प्रहरीको मृत्यु भएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा विप्लव नेकपाका कार्यकर्ता चुनाव विरोधी गतिविधिमा संलग्न रहेको प्रवक्ता न्यौपानेले बताए । भोलि हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काम गरी हिड्दै गरेको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले बताए ।

यसैबीच प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्ता लाई लक्षित गरी बम प्रहार गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९ सय ५७ जनालाई पक्राउ गरेको छ प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा विप्लव समुहका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३ सय ४४ जना रहेका छन् ।

Logo