कुन कुन नेता परे बम विस्फोटनमा ? जनार्दनदेखि गगनसम्म (भिडियोसहित)

कुन कुन नेता परे बम विस्फोटनमा ? जनार्दनदेखि गगनसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १८ मंसिर ।

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन प्रचार–प्रसारका लागि आज मंसिर १८ गते अन्तिम दिन भए पनि बम विस्फोटको घटना रोकिएको छैन । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई लक्षित गर्दै बुढानीलकण्ठको नारायण स्थानस्थित चपली हाइटमा आज बम विस्फोट भयो । भंगालको महादेव कोलोनीको चोकमै मध्यान्ह १२ बजेको समयमा विस्फोट भएको हो ।

घरदैलो कार्यक्रममा रहेका थापाको टाउको तथा कानमा चोट लागेको छ भने कार्यक्रममा रहेका ८ कार्यकर्ता समेत घाइते भएका छन् । तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । विस्फोटमा बाटोमा हिँडिरहेका कांग्रेस नेता, कार्यकर्ता तथा बटुवाहरु परेको स्थानीयले बताएका छन् । विस्फोट भएको स्थलमा भुइँभरी रगत छरिएको र आसपासका घरका सिसा फुटेको स्थानीयले बताएका छन् । घाइतेलाई उपचारका लागि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको छ ।

कार्तिक महिनाको चौथो सातादेखि हालसम्म करिब डेढ दर्जनभन्दा बढी स्थानमा बम विस्फोटनका घटनाहरू भैसकेका छन् । उम्मेदवारलाई लक्षित गरेर बम बिस्फोटन गराउने कार्यमा ‘विप्लव’ समूहकै हात रहेको प्रहरीको दाबी छ । प्रहरीले बम विस्फोट गर्दै हिड्ने सबै जनालार्ई भने पक्राउ गर्न सकिरहेको छैन । तर उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

कहाँ कहिले ?

कात्तिक २४
विनाविभागीय मन्त्री जनार्दन शर्मालाई लक्षित गर्दै रुकुमको चौरजहारीमा कात्तिक २४ गतेदेखि शुरू भएको बम विस्फोटनको घटना क्रमशः हिंसात्मक बन्दै गएको छ ।

कात्तिक २५ र २६
माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनलाई लक्षित गर्दै उनी चढेको गाडीमा कात्तिक २५ गते शनिबार माडी गाउँपालिकामा एम्बुस अर्थात्, विद्युतीय धराप विस्फोट गराइएको थियो । एम्बुुसमा परेर पुन चढेको गाडीमा क्षति पुगेको थियो । भोलिपल्ट कात्तिक २६ गते आइतवार पुनलाई लक्षित गर्दै रोल्पामा गोली प्रहार भएको थियो । दुई खोली गाउँपालिकाको बाघमारामा आयोजित चुनावी सभामा भाग लिन जाने क्रममा केवरी खोलाको जंगलमा दिउँसो अपरिचित व्यक्तिको समूहले गोली हानेको प्रहरीले बताएको थियो ।

कात्तिक २८
एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य शेरधन राई चढेको गाडीमा पनि कात्तिक २८ गते बम प्रहार भएको थियो । भोजपुरको पिखुवाखोलामा भएको आक्रमणमा राई सकुशल रहे पनि उनका अंगरक्षक असई डिल्ली देवकोटा घाइते भएका थिए ।

कात्तिक ३०
गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी कात्तिक ३० गते बम विस्फोट भएको थियो । अपराह्न गोरखा नगरपालिका–१० स्थित सिर्दी खोलानजिक श्रेष्ठलाई तर्साउने गरी बम विस्फोट गराइएको थियो ।

कात्तिक ३०
रोल्पाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा सिंचाइ राज्यमन्त्री अमरसिंह पुनलाई पनि लक्षित गरी कात्तिक ३० गते मध्याह्न रोल्पाको देउरीपोखरीमा बम प्रहार भएको थियो । पुनसहितको टिममाथि जंगलबाट बम प्रहार भएको थियो ।

मंसिर १
नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतको गाडीमाथि मंसिर १ गते एम्बुसमा पारी प्रहार भएको थियो । प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसबाट नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार महत चुनाव प्रचारका लागि ककनी गाउँपालिका जाने क्रममा बम आक्रमण भएको थियोे । एम्बुस आक्रमणमा परी महतको चुनावी प्रचारमा सक्रिय नेपाली कांग्रेसका ५ कार्यकर्ता घाइते भएका थिए । जमिनमुनि प्रेसर कुकर बिच्छ्यार महतमाथि आक्रमण गरिएको थियो ।

मंसिर २
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गर्दै मंसिर २ गते बम बिस्फोट भएको थियो । नेता पौडेल गोरखा र लमजुङको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा तनहुँको भानु १० नेपालडाँडामा प्रेसर कुकर बम प्रहार भएको थियोे । त्यसै गरी सोही दिन रौतहटको चन्द्रपुरमा वाम गठबन्धनले गरेको चुनावी सभा नजिकै बम विस्फोट हुँदा ८ जना घाइते भएका थिए । वाम गठबन्धनको चन्द्रपुर–५ को वडास्तरीय भेला सकिएपछि खाजा खाने क्रममा कार्यक्रम स्थलकै आँगनमा विस्फोट भएको थियो ।

मंसिर ३
विनाविभागीय मन्त्री एवं प्रतिनिधि सभाका उम्मेदवार टेकबहादुर बस्नेतलाई लक्षित गर्दै मंसिर ३ गते बम प्रहार भएको थियो । चुनावको प्रचारका लागि दार्माको फारुलाचौरमा बस्नेत पुग्ने बित्तिकै उनीमाथि बम भएको थियो ।

मंसीर ७
एमाले नेता एवम बाम गठबन्धनका साझा उमेदवार जय कुमार राईको घरमा मंसिर ७ गते बम बिस्फोट भएको थियो । धरान–१५ स्थित पिण्डेस्वरी चोकभन्दा केही अगाडि रहेको राईको निवासमा अज्ञात समूहद्वारा बम बिस्फोट गरिएको थियो । स्थानीयका अनुसार स्कुटीमा आएका अज्ञात व्यक्तिले पर्खाल छेउबाट बम फालेर भागे लगत्तै उक्त बम बिस्फोट भएको थियो ।

मंसिर ८
झापा क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेपाली कांग्रेसका सभापति उद्वव थापाको घरमा मंसिर ८ गते राती बम बिस्फोट भएको थियो । बिस्फोटबाट थापाको निर्वाचन प्रचार प्रसारको लागि प्रयोग गर्दै आएको बा ७ च ६८९५ नम्बरको बोलेरो जिपमा क्षति पुगेको थियो । त्यसै गरी सोही दिन चुनावको प्रचार प्रसारमा निस्केका डा. शशांक कोइराला र सिरहा मिर्चैयाका अजयशंकर नायकलाई पनि लक्षित गर्दै विप्लव समूहका कार्यकर्ताहरुले बम प्रहार गरेका थिए ।

मंसिर ९
नेपाली कांग्रेस नवलपरासी जिल्ला सभापति एवम क्षेत्र नम्बर २ (१) का नवलपुरका प्रदेश सभा उम्मेदवार बिष्णु लामिछाने र नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार बिष्णु कुमार कार्की चढेको गाडी लक्षित गरी मंसिर ९ गते बम प्रहार भएको थियो । चुनावी अभियानमा हुप्सेकोट गाउँपालिका अन्तर्गत धौवादी र बौदिकाली गाउँपालिकाको लागि जाँदै गरेको गाडीमा हुप्सेकोट ५ बाँझा पोखरीमा अज्ञात समूहले बम प्रहार गरेको थियो ।

मंसिर १२
नेपाली काँग्रेस उदयपुरका पूर्वसभापति तथा उदयपुर क्षेत्र नं १ को (ख) का उम्मेदवार हिमाल कार्कीको त्रियुगा नगरपालिका–७ भण्टाबारीस्थित घरमा नै मंसीर १२ गते बम प्रहार भएको थियो । त्यसै गरी सोही दिन नै काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वशहरी विकासमन्त्री एवं क्षेत्र नं १ का उम्मेदवार डा नारायण खड्कालाई लक्षित गरेर त्रियुगा नगरपालिका–१० बाबरीमा बम प्रहार भएको थियो ।

मंसिर १२ गते भएको बम बिस्फोटबाट घाइते भएका म्यादी प्रहरी तुलसीपुर–१२ उरहरीका २३ वर्षीय विनोद चौधरीको सोही दिन राति उपचारको क्रममा मृत्यु भएको थियो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कांग्रेसको चुनावी सभालाई लक्षित गरी बम विस्फोट हुँदा चौधरी घाइते भएपछि उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।

मंसिर १३
उदयपुरको गढी गाउँपालिका वडा नम्बरमा ६ मंसिर १२ गते बम विस्फोट हँुदा नेपाली काँग्रेसका उम्मेदवारसहित चारजना घाइते भएका थिए । विस्फोटमा परी नेपाली काँग्रेसबाट उदयपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा उम्मेदवार नारायण बहादुर कार्कीसहित ४ जना घाइते भएको प्रहरीले बताएको छ ।

मंसिर १४
त्यस्तै सिरहाका पूर्वमन्त्रीमाथि गोली प्रहार भएको छ । संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्वमन्त्री राजलाल यादवलाई लक्षित गरी गोली प्रहार भएको थियो । लहानबाट घरदैलोे कार्यक्रम सकी राती ७ बजे भगवतीपुर गाडीमा चढेर आफ्नो गाउँ नहरा जाँदै गरेको आवस्थामा अज्ञात समूहले २ राउन्ड गोली हानेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट मन्त्री यादव भने बच्न सफल भएका थिए ।

देशका विभिन्न स्थानमा गोली प्रहार, बम विस्फोट जस्ता गतिविधिले अहिले मतदाताहरुमा त्रास फैलिएको छ । निर्वाचन आयोगबाट समेत भयरहित चुनावी माहोल बनाउन सुरक्षा निकायलाई आग्रह गरे पनि त्यो निकायले कुनै कडा कदम उठाउन सकेको छैन । हिंसात्मक घटनाले निरन्तरता पाउँदा निष्पक्ष चुनाव कुनैै हालतमा हुन नसक्ने विज्ञहरु बताउँछन् ।

सुरक्षा निकायले आगामी मंसिर २१ गते हुन लागेको निवार्चनलाई मधय नजर गर्दै पूर्वका खोटाङ र सुनसरी जिल्लालाई संवेदनशील जिल्लाको सूचीमा राखेको छ । ती जिल्लामा सुरक्षा निकायले निर्वाचन बिथोल्न खोज्नेहरूलाई गोलीसमेत हान्न सक्ने अधिकार प्रत्यायोजन गरिसकेको छ । ४ मंसिरमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न हिंसा मच्चाउनेलाई पक्राउ गरेर कडा कारबाही गर्न निर्देशन दिएका थिए ।

बम विस्फोट गर्दै हिड्नेमा विप्लव समूहका कार्यकर्ता
लगातार बम विस्फोट हुँदासमेत कसले विस्फोट गराएको भन्ने बारेमा अहिलेसम्म आधिकारिक धारणा सरकारले सार्वजनिक गर्न सकेको छैन । चुनावको मुखैमा उम्मेदवार लक्षित लगातार विस्फोट गराउने समूहको खोजीकार्य तीव्र बनाउँदै पक्राउ समेत गर्दै आएको छ । पक्राउ परेकामध्ये धेरैजसो विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता रहेका छन् ।

लगातार उम्मेदवारलाई नै लक्षित गरेपछि गृह मन्त्रालयले पनि सुरक्षा निकायलाई यसरी विस्फोट गराउने, जनताको जिउधनको क्षति पुर्याउने क्रियाकलाप गर्दै गरेको भेटिएमा गोली चलाउनसमेत आदेश दिएको छ । प्रहरीले अहिलेसम्म यसरी विस्फोट गराउने समूह विप्लव नेतृत्वको नेकपा माओवादी नै भएको आशंका गरेको छ । त्यसैले विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई निगरानीमा राखेको प्रहरीले जनाएको छ ।

आपराधिक घटनामा संलग्न ८ सय भन्दा बढी पक्राउ
निर्वाचन केन्द्रित सुरक्षा योजना लागू भएपछि गुण्डागर्दी र निर्वाचन विरोधी गतिविधि गर्ने ८ सय भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । आगामी मंसिर २१ गते हुन लागेको निर्वाचनलाई लक्षित गरी ४५ जिल्लामा ती जिल्लामा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण मंंसिर १८ गते बिहान ८ बजेसम्म गुण्डागर्दी र निर्वाचनविरोधी गतिविधि गर्ने ८ सय ७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डिआइजी मनोज न्यौैपानेले बताए । अहिले ४५ जिल्लामा शान्तिसुरक्षाको अवस्था मजबुत रहेको समेत डिआइजी न्यौैपानेले बताए ।

गत शुक्रबार मात्रै बसमा बम बोकेर ल्याइरहेका दुईजना भारतीय नागरिकलाई प्रहरीले धादिङको नौबिसेमा पक्राउ गरेको थियो । गत शुक्रबार विहान काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४९७६ नम्बरको बसमा एउटा प्रेसरकुकर बम र दुईवटा सकेट बमसहित भारत आसाम सिमलटापुका २३ वर्षका राजु विश्वास र भारतको पश्चिम बंगालका ३० वर्षका मोहम्मद फर्मान अलीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएका थियो ।

काकडभिट्टाबाट काठमाडौं लागि छुटेको ना ७ ख ४९७६ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका थिए । केन्द्रीय सुरक्षा योजनाको आधारमा निर्वाचन हुने जिल्लामा ती जिल्लाका सुरक्षा समितिले निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चातका फरक फरक सुरक्षा योजना बनाएका छन् ।

 

Logo