झापा २ को चुनाबी रणसंग्राममा पल्ला कसको भारी ?

झापा २ को चुनाबी रणसंग्राममा पल्ला कसको भारी ?

केन्द्रबिन्दु
0
Shares

बिर्तामोड, १८ मंसिर । झापा क्षेत्र नं. २ मा १ लाख १८ हजार १ सय ९६ मतदाता छन् । यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यद्यपि, नेपाली कांग्रेसका उद्धव थापा र बाम गठबन्धनकी उम्मेदवार पवित्रा निरौला (खरेल) बीच तिब्र प्रतिस्पर्धा हुँदैछ ।

संविधानसभा निर्वाचनमा थापा झापा क्षेत्र नं ४ बाट तथा खरेल क्षेत्र नं २ बाट चुनाव लडेका थिए । जतिबेला यी दुवै उम्मेदवार पराजित बनेका थिए । काँग्रेस झापाका सभापतिसमेत रहेका थापा झापा क्षेत्र नं ४ मा एमालेका प्रेम गिरीसँग दोस्रो संविधानसभाको निर्वाचनमा झिनो मत अन्तरले पराजित भएका थिए भने खरेल झापा क्षेत्र नं २ मा काँग्रेसका उम्मेदवार सुधीर शिवाकोटीसँग पराजित भएकी हुन् ।

निर्वाचन क्षेत्र समायोजनपछि थापा र खरेल अहिले एउटै कित्तामा उभिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसअघि पराजित उम्मेदवार भएकाले यस पटक दुवैजना जित्ने दावी गर्दै आखिरी मत माग्न व्यस्त छन् । काँग्रेस उम्मेदवार थापाले कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास, १५ हजार मेगावाट विद्युत उत्पादन, स्मार्ट सिटी बनाउनेलगायत एजेण्डा अघि सारेका छन् भने वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी खरेलले दिगो शान्ति, समृद्धि, संविधान कार्यान्वयन, स्थायी सरकारसँगै रोजगारीको विषयलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा छिन् ।

काँग्रेस जिल्ला सभापति थापाका अनुसार अघिल्लो पटक पराजित भएकाले यो पटक उक्त क्षेत्रका जनताले आफुलाई साथ दिने बताउँछन् । थापा भन्छन्–‘यसपटक जनताले मलाई जिताएर संसदमा प्रतिनिधित्व गराउने बाचा गर्नुभएको छ । भारी मतले विजय हुनेमा म विश्वस्त छु ।’

यो क्षेत्रमा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको वडा नंं १ देखि ९ सम्म, बुद्धशान्ति गाउँपालिकाको १, २, ३ र कन्काई नगरपालिकाको वडा नं. ८ र ९ पर्छ । यी स्थानमा स्थानीय निर्वाचनमा बाम गठबन्धनले ल्याएको मत ४० हजार ४ सय २० छ भने कांग्रेसले २२ हजार ८ सय ९० छ ।

स्थानीय चुनावको अंकगणितमा बाम गठबन्धन अगाडि रहे पनि काँग्रेस उम्मेदवार थापा पार्टीका जिल्ला सभापति भएकाले कांग्रेसले थापाको जितलाई प्रतिष्ठाको विषय बनाएको छ । ०७० सालको निर्वाचनमा झापा २ बाट काँग्रेस उम्मेदवार सुधीरकुमार शिवाकोटीसँग पराजित भएपनि एमाले प्रदेश नं. १ को सदस्य समेत रहेकी खरेलको मजबुत गठबन्धनका कारण जितको संभावना बलियो रहेको एमाले नेताहरुको भनाइछ । उनी प्रतिनिधिसभा सदस्यका लागि मेची अञ्चलकै एक्ली महिला उम्मेदवार हुन् ।

को हुन् उद्धव थापा

उद्धब थापाको जन्म अर्जुनधारा ४ झापामा २०१४ सालको मंसिर १५ गते भएको हो । उनले व्यवस्थापन संकायमा स्नातक गरेका छन् । २०३२ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थापा ०४७ सालमा अर्जुनधारा गाउँ कमिटीको सचिव भए । २०४८ सालको आठौं महाधिशेनबाट नेपाली कांग्रेस २ नम्बर क्षेत्रको क्षेत्रीय सभापति भएका थापा अर्काे कार्यकाल पनि त्यही क्षेत्रको क्षेत्रीय सभापति बनेका हुन् । दशौं महाधिवेशनबाट जिल्ला कार्यसमिति झापाको सचिव भएका थापा ११ औं महाधिवेशनबाट पार्टीको जिल्ला उपसभापति र १२ औं महाधिवशेनपछि जिल्ला सभापति भए । थापाले जिल्ला विकास समिति झापाको संयन्त्र सदस्य भएर ३ वर्ष काम गरे । त्यस्तै स्थानीय शान्ति समिति झापाको संयोजक, बिर्तामोड बसपार्क समितिको अध्यक्ष तथा ४ वर्षसम्म अर्जुनधारा संस्कृत माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर पनि उनले काम गरेका छन् ।

उद्धव थापाका एजेण्डा

झापा २ मा प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसबाट उम्मेदवार बनेका उद्धव थापाले दीगो शान्ति, संविधानको कार्यान्वयन, मुलुकलाई समृद्ध बनाउने कार्यका लागि आफ्नो उम्मेदवारी रहेको बताए । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी आफ्नो प्रमुख प्राथमिकता रहेको थापाले बताए । उनले कृषि क्षेत्रको क्रान्ति, पर्यटनको प्रचुर विकास र पाँच वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने पार्टीको संघीय एजेन्डा समेत प्रस्तुत गरे । बिर्तामोड र अर्जुनधारा २ नं. क्षेत्रको गहना भएको बताउँदै उनले ती क्षेत्रलाई हरियालीयुक्त स्मार्ट सिटी बनाउने उद्घोषसमेत गरेका छन् । रोजगारीको सिर्जना, सामाजिक सुरक्षा भत्ता वृद्धि, नदी नियन्त्रण, सबै धार्मिक समुदायबीच एकता आफ्नो एजेण्डा रहेको बताउँदै आफु निर्वाचित भए सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने प्रतिवद्धता पनि जनाएका छन् ।

निर्वाचनमा धेरै पार्टीबीच गठबन्धन हुँदैमा निर्वाचन नजितिने उनको तर्क छ । आफूले राजनीतिक विचारभन्दा माथि उठेर क्षेत्रको विकास र यहाँको जनताको सेवामा लामो समयदेखि समर्पित भएकोले यसपटकको निर्वाचनमा विजयी हुने उनको विश्वास छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा झापा ४ बाट २० हजार बढी मत ल्याए पनि उनी उपविजेता बनेका थिए । त्यसबेलाको ४ र २ नं. क्षेत्र मिलेर अहिलेको २ नं. क्षेत्र बनेको बताउँदै थापाले यसमा ४ नं. को हिस्सा बढि रहेकाले आफूले पहिले प्राप्त गरेको मतका आधारमा निर्वाचन जित्ने जिकिर गर्छन् । त्यसताका उपविजेता बने लगत्तै आफू निरन्तर जनताको सेवा र विकासमा लागेको तथा आफ्नो पहलमा विभिन्न ठाउँमा सडक, पुल र नदी नियन्त्रणको काम भएकाले त्यसबाट आफूप्रति स्थानीय जनताको विश्वास बढेको भन्दै जीतको आधार भएको बताउँछन् । थापा नेपाली कांग्रेस झापाका सभापति समेत हुन् ।

को हुन् पवित्रा खरेल

विसं २०२० माघ २० गते दमक नगरपालिका– ३ मा जन्मिएकी पवित्राले १४ वर्षको उमेरदेखि नै राजनीतिमा लागेकी हुन् । २०३५/०३६ सालदेखि अनेरास्ववियुबाट राजनीति शुरु गरेकी उनी दमक बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएकी थिइन् । सामान्य परिवारमा जन्मिएकी पवित्रालाई अन्याय, असमानता र लैंगिक विभेदले राजनीतिमा ल्यायो । अखिल नेपाल महिला संघ गाउँ कमिटीमा आवद्ध हुँदै पवित्रा २०३७ सालमा अनेमसंघ पुनर्गठन भएपछि २०४४ सालमा उक्त संघको झापा संयोजक भइन् । २०४६ सालमा काठमाडौंमा भएको अनेमसंघको पहिलो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भएकी पवित्रा भूमिगत हुँदा २०४० सालमा झापामा पक्राउ परी २६ दिन हिरासतमा रहिन् यो वाहेक उनी पटक पटक गरेर दुई वर्ष जेल बसिन् । जेलबाट छुटेपछि भने २०४४ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेकी उनले भूमिक्षेत्र परिवर्तन गरी इलाम जिल्ला गएर पार्टी जिल्ला सदस्यको भूमिकामा काम गरेकी थिइन् । २०४६ सालपछि इलाम छाडेर झापा आएकी पवित्राले लामो समय मेची अञ्चल सदस्यको भूमिका निर्वाह गरिन् । हाल नेकपा एमाले प्रदेश नम्बर– १ को सदस्य रहेकी पवित्रा अनेमसंघको केन्द्रीय सदस्यसमेत हुन् ।

पवित्राका अबका एजेण्डा

बाम गठबन्धनबाट उम्मेदवार बनेकी झापा– २ की पवित्राले झापा उर्वर भूमि भएको र प्राकृतिक हिसाबले समेत सुन्दर रहेका कारण कृषि र पर्यटनलाई मुख्य एजेण्डा बनाएको बताउँछिन् । झापा उर्भर भूमि रहेको भन्दै पवित्रा यहाँ जे रोप्यो त्यही फल्ने बताउँछिन् । यस्तै चिया र सुपारीले अन्तराष्ट्रिय सम्बन्ध जोड्ने मात्र नभइ व्यापारको अपार सम्भावना रहेको बताउँदै कृषि र पर्यटनमा टेवा पग्ने बताउँछिन् । यस्तै किसान आन्दोलनको उद्गम स्थल झापा रहेको र त्यसको साक्षि सुखानी रहेको भन्दै विकासका सम्भावना प्रवल रहेको बताउँछिन् ।

महिला उम्मेदवार भएका कारण महिलाहरूको अधिकारको कुरा केन्द्रमा गएर व्यवहारमा लागू गराउन लाग्ने पनि उनको प्रतिवद्धता छ । महिलाले गर्दै आएको घरायसी कामको मूल्यांकन नभएको भन्दै अब महिलाको घरभित्रको कामको पनि मूल्यांकन यथोचित रुपमा हुनुपर्नेमा उनको जोड रहने बताउँछिन् । महिला आर्थिक रूपमा अझै सबल नहुँदा बिभिन्न समस्या र पिडामा रहेको उनको अनुभव छ । यस कारण महिलाका लागि सिपमुलक तालिम प्रदान गर्नुका साथै राजनीति, कृषि, पर्यटनलगायतका क्षेत्रमा समान सहभागिता जनाउन आवश्यक रहेको बताउँछिन् ।
संविधानमा उल्लेख भएको ३३ प्रतिशत लागू गर्न अझै चुनौती रहेको भन्दै सबै महिला जागरुक र सक्षम बनाउन पनि आफ्नो भूमिका विशेष रहने उनको उनको भनाइ छ ।

Logo