आत्मनिर्भर बनाउन सघाउने उम्मेदवार अपांगता भएका व्यक्तिको रोजाइमा

आत्मनिर्भर बनाउन सघाउने उम्मेदवार अपांगता भएका व्यक्तिको रोजाइमा

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर, १८ मंसिर ।

पाँच वर्षको उमेरमै पक्षघात हुँदा अपांगता भएका कञ्चनपुरको लालझाडी गाउँपालिका–१ नौरंगाका ४२ वर्षीय दयाराम रानाले सीपमूलक कार्य गर्नका लागि अनुदान रकमको व्यवस्था गर्ने उम्मेदवारलाई भोट दिने सोच बनाएका छन् ।

फर्निचर निर्माण गर्ने परम्परागत सीप सिकेका राना आधुनिक किसिमका फर्निचर निर्माण गर्नका लागि सीप सिकेर आफ्नै फर्निचर उद्योग सञ्चालन गर्न चाहन्छन् । “परम्परागत सीपलाई आधुनिकिकरण गर्न नसक्दा थोरै आम्दानी हुन्छ”, उनले भने, “तीन छोरासहित पाँच जनाको परिवारको खर्च चलाउन परम्परागत सीपले धान्दैन ।”

अपांगता भएका व्यक्तिलाई सीपमूलक कार्य गर्नका लागि अनुदान रकम र तालीमका लागि सहयोग गर्ने उम्मेदवारलाई यस पटक मतदान गर्न आतुर भए पनि अहिलेसम्म कोही पनि मत माग्नै नआएको उनले बताए ।

अपांगता भएका व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदा उम्मेदवारले समेत भेटेनन् नौरंगामा आयोजना गरिएको २६औँ अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा भेटिएका रानाले गुनासो गर्दै बताए । राजनीतिक दलका कार्यकर्तालाई अपांगका आवाज उम्मेदवारसम्म पुर्याइदिन आग्रह गरिएको उनले बताए । अपांगता भएका व्यक्तिलाई सपांग जस्तै शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा अवसर दिई आत्मनिर्भर बनाइनुपर्ने जानमती रानाले बताइन् ।

“परिवार र समाजका लागि केही गर्न चाहन्छौँ”, उनले भनिन्, “हामीलाई अवसर दिनुपर्यो, त्यसका लागि सक्षम उम्मेदवारलाई यस पटक छनोट गरेर नै मतदान गर्छौं ।” अपांगता हुँदा विगतमा समाजमा घृणा गर्ने, होच्याउने, अपांगता भएका परिवारका लागि बोझ जस्ता शब्द सुनेर २७ वर्षीया सोमवती राना वाक्क र दिक्क मान्ने गरेको बताउँछिन् ।

हाल गैरसरकारी संस्थामा सानै पदमा भए पनि जागिर पाएपछि समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउँछिन् । सबैले सम्मान गर्छन्, आदर साथ बोलाउँछन्, यो सबै आफैँ कमाएर परिवारको खर्च धान्न थालेपछि भएको बताउँछिन् । सबै अपांगता भएका व्यक्तिलाई अवसर दिइए कार्य गर्न सक्छन् यसका लागि राज्यको नीतिमा परिवर्तन गरी अपांग समावेशी कानून बनाई कार्यान्वयन गर्ने दक्ष उम्मदेवारलाई भोट दिनुपर्ने उनको भनाइ छ ।

अपांगता भएका व्यक्तिले शिक्षा, स्वास्थ्य, रोजगार पाउनका लागि निर्णायक तहमा अपांगता भएका व्यक्तिको प्रतिनिधित्वको मागसमेत अघि सारेका छन् । सामाजिक सुरक्षाअन्तर्गत पाउँदै आएको भत्ताको रकम र छात्रवृत्तिको रकममा समेत जीवन धान्न सकिने गरी उपलब्ध गराइनुपर्ने अपांगता भएका व्यक्तिको भनाइ छ ।

विसं २०६८ को जनगणनाअनुसार कञ्चनपुरमा चार लाख ५१ हजार २४८ जनसङ्ख्यामध्ये नौ हजार ७० जना अपांगता भएका व्यक्ति रहेका छन् । जुन कुल जनसङ्ख्याको दुई प्रतिशत रहेको छ । प्रदेश नं ७ का नौ वटै जिल्लामा भने अपांगता भएका व्यक्तिको जनसङ्ख्या ६७ हजार ८३० रहेको छ । रासस

Logo