सात बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय महिला सम्मेलन सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय महिला सम्मेलन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौंं, १७ मंसिर ।

अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्था, एक्सनएड नेपाल तथा राष्ट्रिय महिला अधिकार मञ्चको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित ‘महिलाको पारिश्रमिक बिनाको सेवामूलक कार्यको पहिचान, न्यूनीकरण र पुनःवितरणका माध्यमबाट उनीहरूको आर्थिक सशक्तीकरणको सुनिश्चितताका लागि राष्ट्रिय महिला सम्मेलन’ सात बुँदे घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ ।

घोषणापत्रमा पारिश्रमिक विनाको सेवामूलक कार्यमा महिलाको योगदानको मूल्यांकन गर्दै त्यसलाई राष्ट्रिय योजनामा समावेश गर्न माग गरिएको छ । यसैगरी राष्ट्रिय जनगणनामा महिलाले गर्ने पारिश्रमिक विनाको सेवामूलक कार्यसँग सम्बन्धित सूचकहरूको समावेशिता सुनिश्चित गर्न र पारिश्रमिक बिनाको सेवामूलक कार्यमा संलग्न महिलाहरूको कामलाई पहिचान गर्दै सामाजिक सुरक्षा (स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक सेवा केन्द्र, बेरोजगार भत्ता आदि) सुनिश्चितताका लागि सामाजिक सुरक्षा ऐनमार्फत संबोधन गर्न घोषणापत्रले माग गरेको छ ।

घोषणापत्रले अन्यायपूर्ण लैङ्गिक कार्यविभाजनको कारणले बालबालिकाको हेरचाहमा महिलाहरूको बढी समय खर्च भई उनीहरू विभिन्न अधिकारहरू वञ्चित हुनुपरेकोले औपचारिक क्षेत्रमा जस्तै पारिश्रमिक विनाको सेवामूलक कार्यमा संलग्न महिला अधिकार सुनिश्चित गर्नका लागि राज्यद्वारा सामुदायिक शिशु स्याहार केन्द्रको राष्ट्रव्यापी रुपमा व्यवस्था गर्न माग गरेको छ ।

महिलाहरू संलग्न हुने पारिश्रमिक विनाको सेवामूलक कार्यको पहिचान गर्दै उक्त कार्यबोझ न्यूनीकरण गर्न राज्यद्वारा सार्वजनिक सेवा, पूर्वाधार र प्रविधिमा पर्याप्त लगानीको सुनिश्चित गर्न तथा महिलाको अगुवाइमा नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्न केन्द्रीय, प्रान्तीय र स्थानीय सरकारका साथै सम्बन्धित सरोकारवालाहरूसँग सम्मेलनले माग गरेको छ ।

यसैगरी सम्मेलनले उत्पादनशील क्षेत्रमा महिलाहरूको संलग्नता अभिवृद्धि गर्न समतामूलक ढंगबाट न्यायोचित ज्याला स्थापित गर्दै रोजगारीका अवसरहरू सुनिश्चित गर्न पनि सम्मेलनले माग गरेको छ ।

२०७४ मंसिर १५ र १६ गते आयोजित यस सम्मेलनमा पारिश्रमिक बिनाको सेवामूलक काम र महिलाबीचको अन्तरसम्बन्ध, महिलाको पारिश्रमिक बिनाको सेवामूलक काम र कुल गार्हस्थ्य उत्पादन, पारिश्रमिक बिनाको सेवामूलक काम; नेपालमा महिला आन्दोलनका निम्ति चुनौती र सम्भावना, एकल महिला र पारिश्रमिक बिनाको सेवामूलक काम, पारिश्रमिक बिनाको सेवामूलक काममा सीमित महिलाहरूको आर्थिक, समाजिक सुरक्षा कसरी, किन र कसले गर्ने भन्ने विषयमा विभिन्न ६ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्थाकी कोषाध्यक्ष रेनु अधिकारीको अध्यक्षतामा सम्पन्न सम्मेलनको समापन समारोहमा राष्ट्रिय महिला आयोगका सचिव तुलसीराम सेढाई, वरिष्ठ अर्थशास्त्री डा. बीना प्रधान, एक्सनएड नेपालका दिनेश गुरुङ, राष्ट्रिय महिला अधिकार मञ्चकी रेणुका मल्ल ठकुरी र सहभागीहरूका तर्फबाट राष्ट्रिय महिला अधिकार मञ्च सिन्धुलीकी सचिव प्रमिला वाइवासमेतले संबोधन गरेका थिए ।

सम्मेलनमा विभिन्न ३५ जिल्लाका महिलाहरू, पारिश्रमिक बिनाको सेवामूलक कार्यको सवालमा कार्यरत समेत गरी दुई सय पचासभन्दा बढी विज्ञ तथा अभियन्ताहरूको सहभागिता रहेको थियो ।

त्यसअघि वरिष्ठ नारीवादी अर्थशास्त्री डा.मीना आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहको पहिलो दिन शुक्रबार राष्ट्रिय महिला अधिकार मञ्चकी अध्यक्ष विमला घिमिरेले पानसमा बत्ती बालेर उद्घाटन गरेकी थिइन् ।

Logo