निर्वाचनमा काँग्रेसको स्पष्ट बहुमत आउँछ : संयोजक खाँण

निर्वाचनमा काँग्रेसको स्पष्ट बहुमत आउँछ : संयोजक खाँण

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । १७ मंसिर, काठमाडौ ।

नेपाली काँग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत आउने र दोस्रो चरणमा मात्रै ७० सिट जित्ने दाबी गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा लोकतन्त्रलाई सुदृढ बनाई मुलुकमा आर्थिक विकास गर्नका लागि जनताले काँग्रेसलाई बहुमत दिलाउने बताएको हो ।

सम्मेलनमा समितिका संयोजक बालकृष्ण खाँणले पार्टी एकढिक्का भएको, लोकतन्त्रप्रति मतदाताको ध्यानाकर्षण भएको र वाम गठबन्धनप्रति जनतामा निराशा छाएकाले काँग्रेसको स्पष्ट बहुमत आउने बताएका हुन्। “दोस्रो चरणमा हुन लागेको १२८ प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस ७० स्थानमा अगाडि छ,” उनले भने ।

उनले शान्ति, स्थिरता र लोकतान्त्रिक शासन व्यवस्था काँग्रेसको प्रमुख लक्ष्य भएकाले यसलाई बलियो बनाउनका लागि पनि जनताले काँग्रेसलाई विश्वास गर्ने बताए ।

संविधानमा भएका मूलभूत कुरालाई उल्टाउने तथा एकदलीय शासन व्यवस्था लागू गर्ने मनसायका साथ वाम गठबन्धन भएको भन्दै संयोजक खाँणले बहुदलीय व्यवस्थाको रक्षा र राष्ट्रियताको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताए ।

संयोजक खाँणले २१ गते निर्वाचन हुन लागेका सबै जिल्लाका सबै मतदानस्थलमा पार्टीले स्वयंसेवक खटाइसकेको जानकारी दिनु हुँदै निर्वाचनमा खटिएका प्रतिनिधि, स्वयंसेवक, कर्मचारीको सुरक्षाका लागि सरकारसँग माग गरे ।

नेपाली कांग्रेसले दोस्रो चरणमा मात्रै ७० सिट जित्ने दाबी गरेको छ । दोस्रो चरण अन्तर्गत २१ गते हुने ४५ जिल्लाका १२८ सिट मध्ये ७० सिटमा कांग्रेस अग्रस्थानमा रहेको निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक बालकृष्ण खाँणले यो दावी गरेका हुन् ।

दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १२८ सिटमध्ये कांग्रेसले ११८ सिटमा उम्मेदवारी दिएको छ । बाँकी १० सिटमा लोकतान्त्रिक गठबन्धनमा आवद्ध अन्य दलहरुलाई सहयोग गरेको छ ।

कांग्रेसले सहयोग गरेका गठबन्धनका अन्य १० जना उम्मेदवारहरु पनि अग्रस्थानमा रहेको भन्दै संयोजक खाँडले सहजै बहुमत ल्याउने दाबी गरे । ‘१२८ क्षेत्रमा हामीले उम्मेदवारी दिएका ११८ मध्ये ७० स्थानमा हामी अग्रस्थानमा छौं,’ खाँणले भने, ‘बाँकी हामीले सहयोग गरेका लोकतान्त्रिक गठबन्धनका १० जना उम्मेदवार पनि अग्रस्थानमा हुनुहुन्छ, हामी सहजै बहुमत ल्याउछौं ।’

पहिलो चरण अन्तर्गत गत १० गते सम्पन्न भएको चुनावमा पनि कांग्रेस अग्रस्थानमा रहेको खाँणको दाबी छ ।

पत्रकार सम्मेलनमा बोल्दै खाँणले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसप्रति जनलहर चलेकाले बहुमत आउने निश्चित भएको बताए ।

कांग्रेसभित्र एकता हुनु, वाम गठबन्धनमा नेता मिले पनि कार्यकर्तामा फुट आउनु, सबै क्षेत्रमा वामका उम्मेदवार नै नहुनु, सही ढंगले निर्वाचन परिचालन गर्न नसक्नुले कांग्रेसलाई सहज भएको संयोजक खाँणको भनाइ छ ।

Logo