प्रचण्डको दाबी- ‘सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ’

प्रचण्डको दाबी- ‘सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ’

केन्द्रबिन्दु
0
Shares

ललितपुर, १६ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने महान् अभियानलाई निर्वाचनपछि बन्ने वाम गठबन्धनको सरकारले आफ्नो पहिलो कार्यसूचीमा राख्ने विश्वास व्यक्त गरेका छन् ।

वाम गठबन्धनले आज ललितपुरको सुनाकोठीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले ललितपुरको सांस्कृतिक पहिचान र महत्वलाई स्थापित गर्ने लक्ष्यका साथ अगाडि सारिएको सांस्कृतिक नगरको अभियान विशेष महत्वको रहेको बताए । विगत ७० वर्षदेखि नेपाली जनताको चाहनाअनुसार नै स्थिर राजनीतिक सरकार गठन हुने संघारमा आफूहरु पुगेको भन्दै उहाँले पूर्वाधार निर्माण, विदेशमा रहेका युवालाई स्वदेशमा नै रोजगारी दिएर फर्काउने, पर्यटन क्षेत्रको विकास र विस्तारमा ध्यान दिने तथा जनताको मुहारमा खुशी ल्याउने कार्यक्रम अगाडि आउने धारणा राखे । 

ललितपुर वामपन्थीको किल्लाका रुपमा विगतदेखि नै परिचित हुँदै आएको तथ्य पेश गर्दै उहाँले कहिलेकाहीँ भएको भूलचूकबाट पाठ सिकेर यसपटकको निर्वाचनमा सबै वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन स्थानीय मतदातालाई आग्रह गरे । 

नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको कार्यसूचीसहित तालमेल भएको स्पष्ट पार्दै उनलेभने – यो सामान्य प्रकारको तालमेलका लागि मात्रै तालमेल भएको विषय होइन, एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित एकता प्रक्रिया अगाडि बढेको छ । एकता संयोजन समिति गठन भएको छ । पहिला पार्टी एकता संयोजन समिति बनेर मात्रै तालमेलको कुरा अगाडि बढेको हो । चुनाव आएकै कारणले मात्रै तत्काल एकता हुन नसकेको हो ।” 

नेपाली जनताको इच्छा र चाहनाअनुसार नै कम्युनिष्ट पार्टी एकै ठाउँमा आउँदा नेपाली काँग्रेसले अनावश्यक प्रचार गरेकोमा उहाँले आक्रोश व्यक्त गरे । अहिलेको निर्वाचन विगतका निर्वाचनको पुनरावृत्ति नभएकोमा जोड दिँदै उहाँले हजारौँको बलिदान, त्याग तपस्याबाट प्राप्त भएको संविधान कार्यान्वयन गराउने महत्वपूर्ण कार्यभारसहितको ऐतिहासिक प्रक्रिया भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ललितपुर प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले नेपालको राजनीतिक इतिहासलाई नयाँ लक्ष्यमा पु¥याउने कार्यसूचीका साथ वाम गठबन्धन बनेकाले ललितपुरका जनताले विजयी गराउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा एमालेका नेत्री सुशीला नेपालले नेपालको राजनीतिक स्थिरतासहितको विकासका लागि वाम गठबन्धन भएको विचार व्यक्त गरे । कार्यक्रममा प्रदेशसभाका उम्मेदवारद्वय राजकाजी महर्जन र जीवन खड्काले ललितपुरको समुन्नतिका लागि वाम एकताको आवश्यकतामा जोड दिए । रासस

Logo