उम्मेदवारजस्तै व्यस्त छन् चुनावी अभियानमा कलाकार

उम्मेदवारजस्तै व्यस्त छन् चुनावी अभियानमा कलाकार

केन्द्रबिन्दु
0
Shares

रमेश लम्साल । काठमाडौँ, १२ मंसिर ।

राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले व्यस्त बनाएजस्तै कलाकारलाई पनि चुनावी अभियानमा खट्न भ्याइनभ्याइ छ ।

मुलुकका विभिन्न निर्वाचन क्षेत्रमा चुनावी माहौल बनाउन कलाकार लागेपछि मतदाताले राजनीतिक भाषण र आश्वासनसहित गीत संगीतको समेत मज्जा लिन पाएका छन् ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आबद्ध उम्मेदवारलाई मत माग्दै कलाकार नै निर्वाचन अभियानमा केन्द्रित भएपछि राजनीतिक सरगर्मीसमेत बढेको हो ।

लोक दोहोरी गायक बद्री पंगेनी हालसम्म १०० भन्दा बढी चुनावी अभियानमा सहभागी भइसकेका छन् । गायक तथा संगीतकार चेतन सापकोटाको व्यवस्तता पनि पंगेनीको भन्दा कम्ता छैन ।

हाँस्य कलाकार मनोज गजुरेललाई पनि आजकल फुर्सद छैन । देशव्यापी रुपमा चुनावी अभियानमा संलग्न छन् । यस्तै गायक नवीन खड्का र गायिका टीका पुन पनि चुनावी अभियानमा छन् । गायक झंकार बुढामगर पनि निरन्तर चुनावी अभियानमा छन् । अझै २० भन्दा बढी चुनावी अभियानको निम्तो आएको उनको भनाइ छ ।

लोकदोहोरी गायिका राधिका हमाल गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार नै थिइन् । उनको व्यस्तता पनि लोभलाग्दो नै छ । लोकगायक विमलराज क्षेत्री लोकतान्त्रिक गठबन्धनलाई मत माग्दै चुनावी अभियानमा छन् ।

लोकगायक विष्णु क्षेत्री पहिलो चरणको निर्वाचनमा बाग्लुङमा मतदान सकेपछि दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा व्यस्त हुनु भएका छन् । संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको निर्वाचनमा हामी कलाकार हौँ भनेर बस्ने अवस्था भएन, त्यही भएर वाम गठबन्धनका लागि मतदान गर्न आग्रह गर्दै चुनावी अभियानमा लागेको बताउने लोकगायक पंगेनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेको चितवन क्षेत्र नं ३ मा मत माग्न व्यस्त हुनुहुन्छ ।

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली सहभागी दुई दर्जनभन्दा बढी चुनावी सभामा गीत गाइसकेका पंगेनीले एमाले महासचिव ईश्वर पोखरेल, स्वतन्त्र उम्मेदवारी दिएका हृदयेश त्रिपाठीदेखि माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महराको निर्वाचन क्षेत्रमा समेत आफ्नो प्रस्तुति दिएका छ ।

पंगेनी भन्छन्, “राजनीतिक स्थिरता मुलुकका लागि आवश्यक छ, हामी कलाकारलाई पनि त्यसले फाइदा गर्छ भन्ने लक्ष्यका साथ म चुनावी अभियानमा छु ।”

हाँस्य कलाकार गजुरेल पनि निरन्तर चुनावी अभियानमा छन् । चितवनमा रहेका गजुरेलले टेलिफोनमा भने, “म त गजुरियल अभियानमा छु, जनतामाझ वाम गठबन्धनलाई साथ दिन आग्रह गरिरहेको छु ।” यस्तै गायक तथा संगीतकार सापकोटाले पनि हालसम्म १०० भन्दा बढी चुनावी अभियानमा सहभागी भएको बताए ।

‘उठ युवा हो, जाग युवा हो भन्ने गीत बढी मतदाताले मन पराएका छन्’ संगीतकार सापकोटाले भने । गायिका हमालले रोल्पाको चुनावी अभियानपछि दाङ, नेपालगञ्ज, पाल्पा, बुटवललगायतका स्थानका चुनावी अभियानमा सहभागी हुुने कार्यक्रम तय भएको जानकारी दिइन् । लोकतान्त्रिक गठबन्धन विशेष गरी काँग्रेसलाई मत माग्दै हिँडेको उनको भनाइ छ ।

गायक खड्का पनि १०० भन्दा बढी चुनावी अभियानमा निरन्तर सहभागी छन् । खड्काले गाएका मध्यपश्चिमको लोकलयमा आधारित ‘सिंगारु टप्पा’ नै गाउँदै हिँड्रिहेको अवस्था छ । “हामी कलाकार मात्रै होइनौँ, राजनीति पनि राम्ररी बुझ्छौँ । त्यही भएर निरन्तर चुनावी अभियानमा लागेका हौँ” उनको भनाइ छ ।

लोक गायक प्रकाश कटुवाललाई पनि चुनावी अभियानले राम्रैसँग तानेको छ । ‘काँग्रेसलाई विजयी गराऔँ’ भन्दै दर्जनौँ स्थानमा मत माग्दै हिँडेका छन् । यस्तै लोकगायक राजु ढकालले पनि काँग्रेसलाई मत दिन आग्रह गरेका चुनावी गीत गाएका छन् ।

अर्का लोकगायक विमलराज क्षेत्रीलाई पनि आजकल चुनावले राम्रैसँग तानेको छ । क्षेत्री पनि काँग्रेसका दर्जनौँ चुनावी अभियानमा सहभागी भइसकेका छन् । उनले ‘भोट हालौ रुखमा’ भन्ने गीत तयार पारेका हुन् ।

यस्तै लोकगायक पुरुषोत्तम न्यौपानेले पनि चुनावी गीतमार्फत वाम गठबन्धनलाई मत मागिरहेका छन् । उनको ‘भोट के मा सूर्यमा’ भन्ने चुनावी गीत चर्चामा छ ।

यस्तै जनसांस्कृतिक महासंघ कास्की शाखाले पनि चुनावी गीत तयार पारेको छ । मौलिक लोकलयमा तयार पारिएका चुनावी गीत नै बढ्ता चर्चित देखिएको स्वयं कलाकारकै भनाइ छ । रासस

Logo