‘अस्थिरताको दुश्चक्रबाट देशलाई मुक्त बनाउन वाम गठबन्धन’ : प्रचण्ड

‘अस्थिरताको दुश्चक्रबाट देशलाई मुक्त बनाउन वाम गठबन्धन’ : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

चितवन, ११ मंसिर ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अस्थिरताको दुश्चक्रबाट मुक्त बनाउन वामगठबन्धन गरिएको बताएका छन् ।

माडीको वसन्तपुरमा आज आयोजित चुनावी सभामा राजनीतिक अस्थिरताका कारण देशको विकास हुननसकेको बताउँदै उनले वाम गठबन्धले नै अस्थिरता अन्त्य गर्ने बताएका हुन् ।

सिंगो राष्ट्रको आर्थिक तथा सामाजिक विकासका लागि आफूले निर्वाचनमा भाग लिएको र माडी क्षेत्रबाटै विकासको शुरुवात हुने भन्दै अध्यक्ष प्रचण्डले ठोरी–केरुङ राजमार्ग, जंगली जनाबर र मानवबस्ती बीचको द्वन्द्व अन्त्य गर्ने, माडी क्षेत्रमा चक्रपथ तथा कृषि सडक निर्माण गर्ने, कृषिको आधुनिकिकरण गर्ने, खोलाको तटबन्ध निर्माणलगायतका काम तत्काल शुरु गर्ने प्रितिबद्धतासमेत व्यक्त गरे ।

‘समृद्धि र राजनीतिक स्थायित्व कायम गर्न वाम गठबन्धन’

यसैगरी तुलसीपुर, दाङबाट प्राप्त समाचारअनुसार, माओवादी केन्द्रका नेता तथा बिनाविभागीय मन्त्री जनार्दन शर्माले संविधान कार्यान्वयन गर्न र नयाँ अभ्यास कायम गर्नका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् ।

प्रेस सेन्टर र प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

नेपाली जनताको समृद्धि र राजनीतिक स्थायित्व कायम गर्न वाम गठबन्धन गरेको बताउँदै नेता शर्माले वाम गठबन्धनबाट आत्तिएर काँग्रेसले अधिनायकवाद आउँछ भन्नु हाँस्यास्पद भएको बताए । “वामपन्थीहरु जनताको बहुमत लिएर सरकार चलाउँछन्”, उनले भने ।

“विगतमा पनि काँग्रेसले बहुमतको सरकार चलाएको थियो, के त्यतिबेला अधिनायकवाद आएको थियो र ?” भन्दै शर्माले प्रतिप्रश्नसमेत गरे ।

पहिलो चरणको निर्वाचनमा विभिन्न अवरोधका बाबजुद शान्तिपूर्ण रुपले सम्पन्न भएको बताउँदै प्रभाकरले नेपाली काँग्रेस निकै आत्तिएको धारणा व्यक्त गरे । “प्रधानमन्त्रीज्यूले वामपन्थीहरुको सरकार आएपछि रुन पनि पाइँदैन भन्नुभएको छ, उहाँले ठीक भन्नुभयो, हामी जनतालाई रुन नपर्ने गरी काम गर्छौं”, नेता शर्माले भने ।

प्रतिनिधिसभाको निर्वाचनमा रुकुममा आफूलाई मतदान गरेर दाङ झर्नुभएका शर्माले दाङलाई पश्चिम दीपायल र उत्तरमा डोल्पा हुँदै चीन जोड्ने योजना आफूसँग रहेको समेत बताए ।

उनले दाङ राजधानी बनाउने कुरालाई सुनिश्चित गर्न दाङमा सबै सिट वाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने आवश्यकता रहेको समेत औँल्याए । रासस

Logo