काँग्रेस अधिनायकवादविरुद्ध लड्न तयार

काँग्रेस अधिनायकवादविरुद्ध लड्न तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १० मंसिर ।

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस पार्टीले पुनःएकपटक कम्युनिष्ट अधिनायकवाद विरुद्ध लड्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाली काँग्रेस निर्वाचन परिचालन समितिअन्तर्गत प्रचारप्रसार उपसमितिद्वारा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा समितिका संयोजक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले अहिलेको निर्वाचन लोकतन्त्रवादी र वामपन्थीबीचको जनमत संग्रह भएको सो धारणा व्यक्त गर्दै वामपन्थी शक्तिबाट लोकतन्त्र खोसिनसक्ने र पुनःप्राप्तिका लागि काँग्रेसले संघर्ष गर्नुपर्ने बताए ।

नेता खाँणले खोसिएको लोकतन्त्र जनताको हातमा फर्काउन पुनः काँग्रेसले केही समय संघर्ष गर्नुपर्ने भएकाले विभिन्न पेशा र व्यवसायमा आबद्ध अर्थशास्त्री, विश्वविद्यालयका पूर्वउपकूलपति, पूर्वप्रशासक, गभर्नर एवं पत्रकारलाई सजग र सतर्क रहन आग्रह गरे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले लोकतन्त्रमा मात्र विधिको शासन हुने बताए ।

उनले अधिनायकवादी चरित्र भएका व्यक्तिले प्रजातन्त्र फस्टाउन नदिने बताउँदै अधिनायकवाद लागू भएमा मुलुक उत्तरकोरीया र क्युवामा रुपान्तरण हुने संकेत पनि गरे ।

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकालले अधिनायकवादी शासन व्यवस्था लागू भए मुलुकमा स्थापित उद्योग राज्यले निजीकरण गर्ने र व्यक्तिको आफ्नो निजी सम्पत्ति नहुने बताए ।

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्माले लोकतान्त्रिक शासन व्यवस्थामा मात्र जनताका अधिकार सुनिश्चित हुने बताए ।

पूर्व मुख्य सचिव विमल कोइरालाले काँग्रेस लोकतन्त्रको पर्यावाची भएको बताए । पूर्वराजदूत डा दुर्गेसमान सिंह, कानून व्यवसायी प्रेमबहादुर खड्कालगायतले लोकतन्त्रको अपरिहार्यता बारे चर्चा गरेका थिए ।

Logo