चाँडै पक्राउ पर्दै यी नवधनाढ्य (भिडियो समेत)

चाँडै पक्राउ पर्दै यी नवधनाढ्य (भिडियो समेत)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १० मंसिर ।

स्रोत नखुलेको ठूलो रकमको चलखेल र अपारदर्शी ऋण प्रकृयाका कारण लामो समयदेखि विवादमा आइरहेका व्यवसायी तथा मुक्तिश्री ग्रुपका अध्यक्ष अजेयराज सुमार्गी (पराजुली)माथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को निगरानी सुरु भएको छ ।

संचालनमा आउनै नसकेका टेलिकम कम्पनी (नेपाल स्याटेलाइट), सिमेन्ट उद्योग (मुक्तिश्री) आदिका नाममा करोडौं ‘स्रोत नखुलेको’ रुपैंया भित्र्याउन खोजेपछि सुमार्गीको सम्पूर्ण कारोवार राष्ट्र बैंकमा अड्किएको बर्षौ भएको छ । लगानी प्रवाह गर्ने मामलामा ‘ट्याक्स हेभन’ मानिने ब्रिटिश भर्जिन आइल्याण्ड र साइप्रसबाट नेपाल भित्र्याउन खोजिएको ३ अर्व रुपैंया झण्डै ५ बर्षदेखि थन्किएको छ । ब्रिटिश भर्जिन आइल्याण्डको जोदार इन्भेष्टमेन्ट र साइप्रसको एयरबेल सर्भिसेजबाट अवैध ऋण लिन खोजिएको विवरण राष्ट्र बैंकमा छ । राष्ट्र बैंकको प्रावधानमा १० लाख रुपैंयाभन्दा माथिको कुनै पनि कारोबारका लागि अनिवार्य रुपमा स्रोत खुलाउनैपर्ने हुन्छ ।

सुमार्गीका हकमा, २०७० जेठसम्ममा विदेशी कम्पनीमार्फत ‘स्रोत नखुलेको’ झण्डै ११ अर्व रुपैंया नेपाल भित्रिएको छ । यसमध्ये ८ अर्व रुपैंया बैंकबाट झिकिसकिएको र बाँकी रकमको हकमा मात्रै अन्तिम घडीमा बैंकको छानवीनमा परेर रकम रोक्का भएको थियो । यही अपारदर्शी र अपुष्ट रकमसहितका आधारमा शंकाश्पद आधारहरु भेटिएपछि केन्द्रिय अनुसन्धान ब्युरोले २ महिनायता सक्रियतापूर्वक अनुसन्धान गरिरहेको थियो । ‘आवश्यक बयान र सोधपुछका लागि’ अनुसन्धान ब्युरोले सुमार्गीलाई पक्राउ गर्न सक्ने गृहका एक अधिकारीले बताएका छन् । अझ, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सुमार्गीको २० अर्व रुपैंया बराबरको सम्पत्तिको बैधतामाथि प्रश्न उठाइरहेको छ ।
सुमार्गीको गतिलो राजनीतिक ‘कनेक्सन’का आधारमा पनि उनलाई नियम–कानूनको कठघरामा ल्याउन मुश्किल रहेको राष्ट्र बैंकका एक अधिकारीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई जानकारी दिएका छन् ।

सुमार्गीको सम्पत्ति
धनाड्यहरुको पंक्तिमा केही वर्षयता सुमार्गीको नाम पनि राख्न थालिएको छ । आखिर के–के सम्पत्ति भएर उनलाई धनाड्यहरुको सूचीमा अगाडि राख्न थालिएको हो त ? हामी यसको बेलिबिस्तार लगाउने कोशिस गर्ने छौं । सर्वप्रथम कुरा गरौं उनले खरिद गरेको बिशालनगरस्थित सुमार्गी निवासको । जो १९ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

३४ वर्षदेखि फ्रान्सेली राजदूतको निजी निवास रहेको विशालनगरको यो घर उनले रु.६३ करोडमा खरीद गरेका हुन् । यो घर खरिद गरेर उनी बानेश्वरबाट सपरिवार त्यही घरमा सरेका हुन् । सुमार्गीले पछिल्ला सात वर्षमा काठमाडौंका करीब एक दर्जन ‘प्राइम लोकेसन’ मा अर्बौंको स्थिर सम्पत्ति जोडेका छन् । हेटौंडा, दाङ, चितवन लगायतका ठाउँमा पनि उनले उत्ति नै सम्पत्ति जोडेका छन् । उनको बढी जसो सम्पत्ति श्रीमती सम्झ्ना अर्याल र जेठीसासू शिशु अर्यालको नाममा छ । यी सम्पत्ति २०६४ पछि खरीद गरिएको सम्बन्धित जिल्लाका मालपोत कार्यालयहरूको अभिलेखमा भेटिन्छ ।

एमाओवादी अध्यक्ष बसेको लाजिम्पाटस्थित कम्पाउण्ड सहितको भवन, फ्रान्सेली दूतावासले बेचेको विशालनगरको घरजग्गा, बबरमहलको सुमार्गी बी कम्प्लेक्स, बानेश्वरको कृष्णटावर अघिल्तिरको घरजग्गा (जसमा केही महीना अघिसम्म उनी बसेका थिए), बानेश्वर चोकको मुक्तिश्री टावर, मीनभवनको नेपाल इन्फ्राको सुपरस्टोर, तीनकुनेस्थित खाली जग्गा सुमार्गीका ’प्राइम लोकेसन’ का स्थिर पूँजी हुन् । जसको चलनचल्तीको मूल्य प्रति आना रु.१ करोडसम्म छ । तीनकुनेको ८ रोपनी जग्गा उनले रु.७० करोडमा ८ वर्षअघि कान्तिपुर पब्लिकेसनका प्रकाशक कैलाश सिरोहियासँग किनेका हुन् ।

एमाओवादी अध्यक्ष प्रचण्ड मासिक रु.१ लाख भाडामा बसेको लाजिम्पाटको घरजग्गा १३ साउन २०६८ मा नवलकिशोर अग्रवालबाट शिशु अर्याल भण्डारीले लिएको देखिन्छ । यो जग्गाको कित्ता नं ३४, ११९ र १२० हो । काठमाडौं मीनभवनको कित्तानम्बर ६३ र ८४ को क्रमश ः ५ रोपनी २ आना ३ दाम र १ आना २ दाम जग्गा पनि शिशु अर्याल भण्डारीकै नाममा छ, जहाँ अहिले ‘नेपाल इन्फ्रा’को नाममा सुपरस्टोर बन्दैछ । रजिष्ट्रेसन नम्बर ८९४१ को यो जग्गा २८ वैशाख २०६६ मा शिशुको नाममा पास भएको देखिन्छ ।

सुमार्गीकी जेठीसासू शिशुको नाममा यतिधेरै सम्पत्ति रहनुलाई परिवार भित्रका सदस्यहरु नै आश्चर्यको रुपमा हेरिरहेको वताउँछन् । कित्ता नम्बर ९२ को पहिला सुमार्गी परिवार बसेको बानेश्वरको ३ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा पत्नी सम्झ्ना अर्यालको नाममा छ । यो घरजग्गा २३ भदौ २०६४ मा सम्झ्नाको नाममा पास भएको देखिन्छ । सुमार्गी स्वयंको नाममा भने कित्ता नम्बर १९० को बानेश्वरमा ३ आना १ पैसा जमीनमा बनेको घर छ । २८१३ ’क’ रजिष्टे्रसन नम्बरको यो जग्गा उनले २६ कात्तिक २०६५ मा साहिल अग्रवालबाट किनेका हुन् ।

सुमार्गीले २६ कात्तिक २०६५ मा बानेश्वरकै कित्ता नम्बर २६९, १९२ र २१४ का क्रमशः १ रोपनी २ पैसा ३ दाम, ८ आना र १ दाम जग्गा खरीद गरेको मालपोतको अभिलेखबाट खुल्छ । यो जग्गामा बनेको मुक्तिश्री टावरमा सुमार्गीको निजी र कर्पोरेट कार्यालयका साथै हेलो मोबाइलको अफिस छ । सुमार्गीले ५ माघ २०६८ मा पनि रमादेवी रेग्मी भट्टराईबाट बानेश्वरकै कित्ता नम्बर १७ को ६ आना ३ पैसा १ दाम र २ आना १ दाम किनेको देखिन्छ । उनले २० वैशाख २०६४ मा ४९२९ को रजिष्टे्रसन पास मार्फत कित्ता नम्बर १७६२, १७५८ र १७६० को क्रमशः ३ आना १ दाम, ३ आना २ दाम र १ आना २ पैसा २ दाम जमीन जोडेको देखिन्छ ।

यसबाहेक रविभवनमा पनि जग्गा किनेका सुमार्गीले केही साताअघि सीतापाइलामा बिजनेस कम्प्लेक्स सहितको जग्गा किनेको स्रोत बताउँछ । स्रोतका अनुसार, ललितपुरको ठेचोमा पनि उनले ठूलो परिमाणमा जमीन किनेका छन् । बानेश्वर, विशालनगर र लाजिम्पाटका मुख्य सडक जोडिएका स्थानमा उनको करीब ४० रोपनी जग्गा रहेको मालपोत कार्यालयका अभिलेखहरूले देखाउँछन् ।

दाङ र हेटौंडामा त उनका बिजनेस कम्प्लेक्स नै छन् । हेटौंडा– ११ नवलपुरको करीब तीन बिघा जग्गामा रहेको हेटौंडा एकेडेमी आवासीय स्कूल सुमार्गीकै हो ।

को हुन् सुमार्गी ?
हालका नवधनाढ्य अजेयराज सुमार्गी पराजुली एक दशकअघिसम्म हेटौंडाको पुष्पलालपार्क सँगैको पुरानो घरमा बस्थे । उनले मकवानपुरको भैंसेमा घरेलु चून उद्योगका लागि लिएको ऋण तिर्न नसकेको अवस्था झेलेका थिए । कम्युनिष्ट राजनीति गर्ने बाबु माधवराज पराजुली जसले सुमार्गी लेख्न थाले का छोरा अजेयको २०६० को शुरुआतसम्म उद्योगका नाममा त्यही चून र काष्ठ मील मात्र थियो । उनी काठ तस्करीको अभियोगमा थुनामा समेत परेका थिए ।

एक दशकअघिसम्म हेटौंडामा सीमित सुमार्गीले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की, कांग्रेस नेतृ सुजाता कोइराला, स्वामी कमलनयनाचार्यसँग पनि घनिष्ट सम्बन्ध बनाएका थिए । उनी कमलनयनाचार्य ट्रष्टका अध्यक्ष नै समेत भए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कमलनयनाचार्यसँग भेट गराउने सुमार्गी नै भएको स्रोत बताउँछ । सुशील कोइराला प्रधानमन्त्री बनेपछि उनलाई भेट्न बालुवाटार पुगेका सुमार्गीलाई ‘ब्याकडोर’ बाट भित्र लगिएको समाचार समेत चर्चामा आएको थियो । जतिवेला नवनिर्वाचित कोइराला कसैलाई पनि नभेट्ने भनेर बसेका थिए । स्रोतका अनुसार, भारत हैदरावादकी युवतीसँग विवाह गरेका सुमार्गीका भाइ अरुणले गोवा र चेन्नईको क्यासिनो र होटलमा ठूलो लगानी गरेका छन् ।

बेलारुसमा गैर–आवासीय नेपाली व्यवसायी उपेन्द्र महतोका व्यापारिक साझेदार निरजगोविन्द श्रेष्ठसँग राम्रो सम्बन्ध भएका सुमार्गीले नेपालका लागि बेलारुसको महावाणिज्यदूत पद पाएका थिए । ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहदेखि प्रचण्ड समेतलाई प्रभावमा राख्न सफल सुमार्गीले चल्तीका सवैजसो नेताको आर्शिबाद पाइरहेको उच्च स्रोतको बिश्लेषण रहेको छ ।

सुमार्गी नामका चर्चित श्रीसम्पत्ति
—बिशालनगरस्थित सुमार्गी निवास(१९ रोपनी जग्गा क्षेत्रफल)
—लाजिम्पाटस्थित निवास (जहाँ एमाओवादी अध्यक्ष प्रचण्ड बस्छन्)
—नयाँ बानेश्वरस्थित मुक्तिश्री टावर
—नयाँ बानेश्वरस्थित सुमार्गी निवास
—मीनभवनस्थित नेपाल इन्फ्रा सुपरस्टोर
—बबरमहलस्थित सुमार्गी बी कम्प्लेक्स
—सुर्खेतमा १३ सय रोपनी जग्गा(प्रस्तावित सिमेन्ट उद्योग)
—हेटौंडा एकेडेमी आवासीय स्कुल(३ बिगाहा क्षेत्र)
—तीनकुनेमा ८ रोपनी जग्गा आदि

Logo