तिंलाबासीले फेरि गरे, मतदान बहिष्कार

तिंलाबासीले फेरि गरे, मतदान बहिष्कार

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु, १० मंसिर । सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भए पनि साबिक तिंला गाविसवासी यस पटकको निर्वाचनमा समेत यतिबेलासम्म मतदानका लागि गएका छैनन् । यसअघि स्थानीय निकाय पुनः संरचनामा चित्त नबुझेर आन्दोलनस्वरुप स्थानीय तह निर्वाचनमा मतदान नगरेका सोलुखुम्बु तिंलाका पाँचवटै मतदान केन्द्रमा बिहान ९ बजेर ३० मिनेटसम्म मतदानका लागि कोही पनि नपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्मचारी मतपेटिका राखेर पूरा तयारीका साथ बसेका भए पनि अहिलेसम्म कोही पनि मतदाता मतदानका लागि केन्द्रमा नपुगेका हुन् । जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए पनि तिंलावासीको असहभागिताले भने खल्लो बनाएको छ ।
जिल्लाको सदरमुकामलगायत माथिल्लो क्षेत्रमा भने चिसोका कारण बिहानीपख मतदाताको उपस्थिति न्यून देखिएको छ । चिसो धेरै भएका कारण मतदाताको उपस्थिति कम रहे पनि क्रमशः बाक्लिँदै गएको र दिउँसो चाप बढ्ने खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए । तल्लो क्षेत्रमा भने बिहानैबाट मतदाताहरुको लाइन लागेको छ ।

यसबेलासम्म सुरक्षित रुपमा मतदान कार्य भइरहेको र सुरक्षा अवस्था मजबुत रहेको प्रहरी नायब उपरीक्षक रेशम पराजुलीले जानकारी दिए ।
स्रोत – रासस

Logo