राजपाको घोषणापत्र : बहुराष्ट्रको विषयदेखि दुलहीलाई सुनको मंगलसूत्रसम्म

राजपाको घोषणापत्र : बहुराष्ट्रको विषयदेखि दुलहीलाई सुनको मंगलसूत्रसम्म

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ७ मंसिर ।

राष्ट्रिय जनता पार्टी (राजपा)ले प्लस टु पढेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने अनौठो घोषणा गरेको छ ।

महेत्तरीको जलेश्वरमा संयोजक महन्त ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलगायतका नेताहरुले आज घोषणापत्र सार्वजनिक गरेका हुन् ।

राजपाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

घोषणापत्रमा भनिएको छ, ‘कम्तीमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसूत्र वा सो बराबरको रकम प्रदान गरिनेछ ।’

राजपाले महिलाका लागि हरेक उच्च शिक्षा निःशुल्क गर्ने र नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविश्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा दीर्घकालीन मुद्दती खाता खोल्ने र १० हजार रुपैयाँ अनुदान दिने बताएको छ । यो रकम बालिका १८ वर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहित एकमुस्ट प्रयोग गर्न सकिनेछ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलनमा शहादत दिएका परिवारलाई ५०-५० लाख रुपैयाँ दिने बताए । उनलेप्रदेश २ मा राजपा-फोरम गठबन्धनको सरकार बन्ने पनि बताए । शहिद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने र बालबच्चालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने उनले बताए ।

स्मरणीय छ, मधेसी मोर्चाले मधेस आन्दोलनको आहृवान गर्दै त्यसक्रममा शहादत दिने लाई ५०-५० लाख रुपैयाँ दिने विवादास्पद निर्णय गर्दा यसअघि निकै आलोचना भएको थियो ।

यसैगरी राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरले अलग राष्ट्रको बारेमा दिँदै आएको विवादस्पद अभिव्यक्तिलाई राजपाले आफ्नो घोषणापत्र मार्फत पनि सार्वजनिक गरेको छ ।

घोषणापत्रमा नेपाल बहुराष्ट्रिय देश हुनुपर्ने धारणासहित राजपाले ‘एक राज्य एक राष्ट्र’ हुनैपर्छ भन्ने धारणा आदर्शवादी भए पनि सधै व्यावहारिक नहुने उल्लेख गरेको छ ।

नेपाल एक बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसँस्कृतिक र बहुराष्ट्रिय देश रहेको उल्लेख गर्दै राजपाले घोषणापत्रकै प्रस्तावनामा नेपालको उच्च हिमाली क्षेत्रमा बस्ने समुदाय र चीनको स्वशासित प्रदेश तिब्बतमा रहेका उस्तै सँस्कृति, भाषा र चालचलनमा सामीप्यता भएका समुदायहरुको राष्ट्र एकै भए पनि देश फरक रहेको उदाहरण प्रस्तुत गरेको छ ।

नेपालको दक्षिणतिरको समथरभूमिमा बस्ने मधेशी, थारु, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाल भए पनि ती सामूहिक रुपमा आफैमा एक राष्ट्रपनि भएको घोषणापत्र सार्वजनिक गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरले बताए । जसको निश्चित भूगोल, समान जीवन पद्धति, सँस्कृति सभ्यता एवं मनोविज्ञान रहेको उल्लेख गर्दैै यो भारत, मरसिस र अन्य देशका समुदायहरुसँग मेल खान सक्ने कुरा पनि घोषणापत्रमा उल्लेख छ ।

राजपा नेपालले आफ्नो घोषणापत्रको प्रस्तावनामै लेखेको छ–वास्तावमा एउटा राज्य–राष्ट्रको निर्माण तब मात्र प्रारम्भ हुन्छ जब मुलुकका सबै तह र तप्का, वर्ग, समुदाय र नागरिकले समानताको महसुस गर्छन् र राज्य निर्माणको अभिभारा समानरुपले ग्रहण गर्छन् ।’

Logo