पुत्र वियोगमा रहेका प्रचण्डलाई माधव नेपालको मल्हम

पुत्र वियोगमा रहेका प्रचण्डलाई माधव नेपालको मल्हम

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ मंसिर ।

पुत्र वियोगपछि ठुलो पीडामा डुवेका प्रचण्ड परिवार विस्तारै असहजबाट सहज अवस्थातिर फर्किने प्रयासमा लागेका छन् । आफ्नो एक मात्र छोरा प्रकाश दाहालको ३७ वर्षको अल्पायुमै आइतबार असामयिक निधन भएपछि पीडामा डुबेका बुबा प्रचण्ड र आमा सीता दाहाल मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नाति–नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा भेटिए ।

प्रकाशको निधनपछि पहिलोपटक औपचारिक कार्यक्रममा सहभागी हुन आफ्नो निर्वाचन क्षेत्र चितवन जाने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । प्रचण्डसँगै पत्नी सीता, छोरीहरु रेणु, गंगा, बुहारी बीना र प्रकाश–पुत्र प्रलव पनि साथमै थिए ।

बिहान १०:४५ को यति एयरलाइन्सबाट चितवन जाने क्रममा परिवारसहित विमानस्थल पुगेका प्रचण्ड र उनको परिवारलाई सहज बनाउने सहजीकरणको भूमिका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाह गरेका थिए ।

प्रचण्डभन्दा करिब १० मिनेटअघि नै विमानस्थल पुगेका नेपालले प्रचण्ड परिवारलाई त्यहाँ स्वागत मात्र गरेनन्, केही सहज वातावरण पनि निर्माण गरिदिए ।

प्रचण्डकी कान्छी छोरी गंगाकी पुत्री र प्रकाश–बीनाका पुत्रलाई घरी प्रचण्डको काखमा राखिदिने त घरी आफैँले काखमा राखेर प्रचण्डको मुहारमा मुस्कान ल्याउने प्रयास उनले निरन्तर गरिरहे ।

करिब आधा घण्टा प्रचण्ड र नेपालसँगै रहेका माओवादी नेताहरु रामबहादुर थापा ‘बादल’ र मातृका यादवले पनि वातावरणलाई सहज बनाउने प्रयास गरिरहे ।
त्यसको केही बेरपछि एउटै विमानमा चढेर प्रचण्डसँगै नेपाल पनि चितवन प्रस्थान गरे ।

चितवनमा हुने विशाल चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, नेता नेपाललगायतले सम्वोधन गर्ने कार्यक्रम छ ।

सभामा प्रचण्ड उपस्थित भए पनि सम्बोधन भने नगर्ने समाचार स्रोतले जनाएको छ ।

Logo