पाल्पा, ४ मंसिर ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक दलबाट महिलाको उम्मेदवारी शून्य रहेको छ ।
जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको संख्या शून्य छ । गएको स्थानिय तहको निर्वाचनमा महिलालाई गाउँपालिका र नगरपालिकामा प्रमुख वा उपप्रमुख पदमा अनिवार्य स्थान दिएका राजनीतिक दलले अहिले महिला उम्मेदवारलाई प्रत्यक्षतर्फको निर्वाचनमा नेतृत्वका लागि वञ्चित गराएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाले नेतृत्व गर्ने चाहना गरे पनि ठूला दलले नै उम्मेदवारीका लागि टिकट नदिएको महिलाको गुनासो छ । नेतृत्व तहमा पुग्नका लागि ठूला राजनीतिक दलले महिलालाई स्थान नदिँदा सधैँ पछाडी परेको उनीहरुको गुनासो छ ।
पुरुषले महिलालाई अगाडि बढ्न नदिने र नेतृत्व आफ्नै हातमा लिने प्रवृत्तिले गर्दा अझै पनि महिलाले अवसर पाउन नसकिरहेको क्षेत्र नं १ पाल्पाकी नेपाल महिला संघ क्षेत्रीय सभापति विष्णुमाया ढकालले बताइन् । निर्वाचनमा नेतृत्व गर्नका लागि योग्य र सक्षम हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर महिलाको उम्मेदवारीलाई खारेज गरी टिकट लिने गरेका उनले आरोप लगाइन् ।
प्रदेशसभा सदस्यका लागि साना दलका तर्फबाट क्षेत्र नं १ (क) बाट संघीय समाजवादी फोरमका उम्मेदवार उषा परियार र ‘ख’बाट संघीय समाजवादी फोरमकै मनिसरा आले उम्मेदवार छन् । क्षेत्र नं २ को प्रदेश (क) बाट नेपाल मजदुर किसान पार्टीका कमला विक र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबाट सावित्री कुमारी राना चुनावी मैदानमा छन् ।
जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेश सभामध्ये क्षेत्र नं १ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११ जना र प्रदेशसभा (क) तर्फ ७ र प्रदेश (ख) तर्फ सातजना, क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ १० र प्रदेशसभा (क)तर्फ १२ तथा प्रदेश (ख) तर्फ ६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
जिल्लामा काँग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
जिल्लामा एक लाख ८१ हजार २४६ मतदाता रहेका छन् । महिला मतदाता ९४ हजार ८२९ महिला, पुरुष मतदाता ८६ हजार ४१६ पुरुष र एकजना तेस्रो लिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी थमनबहादुर सारुले बताए । रासस
प्रतिक्रिया