सरकारले नै आचारसंहिता उलघंन गरेको छ : झलनाथ खनाल

सरकारले नै आचारसंहिता उलघंन गरेको छ : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १ मंसिर ।

नेकपा (एमाले) का बरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलघंन गरिरहेको आरोप लगाएका छन् ।

एमाले केन्द्रीय कार्यालय, धुम्बाराहीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले विभिन्न स्थानमा उम्मेदवारहरुमाथि हमला गर्नेलाई कारबाही नभएको, एक रंगमा मात्र निर्वाचन घोषणपत्र जारी गर्नुपर्र्ने नेपाली काँग्रेसले र सरकारले चार पाँच सय प्रहरी अधिकृतको सरुवा गरिनुले गम्भीर आचारसंहिताको उलघंन भएको बताएका हुन् ।

नेता खनालले भने, “सरकारबाटै निर्वाचन प्रभावित पार्ने काम भइरहेको छ, यसको परिणाम नराम्रो हुन सक्नेछ । निर्वाचन आयोगले यस्ता काम तत्काल रोक्ने काम गरोस् ।”
उनले वाम गठबन्धनले जितेमा मुलुकमा तानाशाही आउँछ भनिनु गलत भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल नै सुरुमा काँग्रेसमा आबद्ध भए पनि त्यो पार्टीमा अलोकतान्त्रिक व्यवहार देखेर कम्युनिष्ट पार्टी खोलेको स्मरण गराए ।

उनले आफूहरु पुँजीवादी लोकतन्त्र नभई समाजवादी लोकतन्त्रका पक्षमा रहेको जनाउँदै कम्युनिष्टहरु अधिनायकवादी हुन्छन् भन्ने कुरामा कुनै सत्यता नभएको जिकिर गरे । “वास्तवमा काँग्रेसले बहुमत ल्याएमा मुलुकमा तानाशाही आउँछ भन्ने कुनै सम्भावनै छैन, बरु वाम गठबन्धनले जितेमा मुलुकको राष्ट्रियता, लोकतन्त्र र समृद्धिको यात्रामा तीव्रता आउनेछ,” नेता खनालले भने ।

उनले एमाले र नेकपा (माओवादी केन्द्र) का बीचमा निर्वाचनपछि पार्टी एकता हुनेमा कुनै प्रश्न नरहेको अहिले नै एकै निर्वाचन चिन्ह हुन सकेको भएमा राम्रो हुन्थ्यो भन्ने आवाज जनस्तरबाट आएको पनि औंल्याए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय निर्वाचन परिचलन कमिटीका प्रवक्ता विष्णु रिमाललगायत उपस्थित थिए । रासस

Logo