मोरङ क्षेत्र नं ५ को निर्वाचन बढी रोचक

मोरङ क्षेत्र नं ५ को निर्वाचन बढी रोचक

केन्द्रबिन्दु
0
Shares

प्रभाषचन्द्र झा । विराटनगर, २९ कात्तिक ।

निर्वाचनको तिथि नजिकिन थालेपछि मोरङमा चुनावी सरगर्मी बढेको छ ।

छ वटा संसदीय क्षेत्र भएको मोरङमा क्षेत्र नं ५ को चुनावी प्रचार–प्रसार विकास निर्माणका साथै संविधान संशोधनको विषयमा बढी केन्द्रित भएका छन् ।

यस क्षेत्रमा सबैभन्दा बढी मधेशी मतदाताको सङ्ख्या भएकाले प्राय सबै उम्मेदवारले संविधान संशोधनका विषयलाई प्रसार–प्रचारको मुख्य आधार बनाएर मतदातालाई आकर्षित पार्न तल्लीन देखिन्छन् । मोरङको राजनीतिमा राम्रो पकड राखेका युवा उम्मेदवारका साथै पञ्चायतको स्थापनाकालदेखि नै मोरङको राजनीतिमा सक्रिय रहेका वृद्ध उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा रहेकाले निर्वाचन बढी रोचक हुने देखिएको छ ।

विसं २०६४ को संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा उपेन्द्र यादव नेपाली काँग्रेसका उम्मेदवार अमृतकुमार अर्यालबाट पराजित भएका थिए । त्यसपछि यो क्षेत्रको चर्चा राष्ट्रव्यापी रुपमा भएको थियो ।

उपेन्द्र यादवले मोरङबाट उम्मेदवारी मनोनयन नगरेको विषय पनि सर्वसाधारण मतदाताको बीचमा चर्चा परिचर्चा भइरहेका छन् । २०७० सालको निर्वाचनमा मोरङमा नौवटा संसदीय क्षेत्र थिए तर २०७४ सालको निर्वाचनमा मोरङ अब ६ वटा संसदीय क्षेत्रमा मात्र सीमित भएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नं ४ बाट नेकपा (माओवादी केन्द्र) बाट शिवकुमार मण्डल विजयी भएका थिए । उनी पुनः मोरङबाट निर्वाचित हुनका लागि वाम गठबन्धनका तर्फबाट क्षेत्र नं ५ बाट उठेका छन् । यसका साथै संघीय समाजवादी फोरम नेपालबाट राजकुमार यादव पनि चुनावी मैदानमा छन् । उनी पार्टीको जिल्ला अध्यक्षसमेत हुन् ।

नेपाली काँग्रेसबाट अमृतकुमार अर्याल, वाम गठबन्धनबाट शिवकुमार मण्डल र संघीय समाजवादी फोरमबाट राजकुमार यादवबीच त्रिकोणात्मक संघर्ष हुने प्रबल सम्भावना देखिएको भए पनि मोरङको राजनीतिका पुराना खेलाडी ७४ वर्षीय बद्रीप्रसाद मण्डल राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवार भएकाले निर्वाचन झन् रोचक बनेको छ । यसका साथै सातजना उम्मेदवार रहेको सो क्षेत्रबाट देशभक्त जनगणतान्त्रिक मोर्चाबाट अमोद इमजन, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बाट कुर्वान मियाँ र स्वतन्त्र उम्मेदवारका रुपमा अनिताकुमारी ढकाल छन् । उनीहरू पनि चुनावी मैदानमा जोडतोडका साथ प्रचारप्रसारमा जुटेका देखिन्छन् ।

यस क्षेत्रमा कुल ८९ हजार २८७ मतदाता छन् । रासस

Logo